निजीलाई दिन यो चलखेल भएको केन्द्रको आरोप

|

काठमाडौं : विद्यार्थीहरूले समयमा नयाँ पाठ्य पुस्तक नपाइरहेको वेला यता पुस्तक छपाइमा चलखेल भइरहेको पाइएको छ। प्रहरीले बिहीबार ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिले ल्याएको कागज गुणस्तरहीन रहेको भन्दै ४ ट्रक कागज नियन्त्रण लिएको छ। प्रहरीले उक्त कागज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमै ताल्चा लगाएर राखेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले कागज नियन्त्रणमा लिएर त्यही राखिएको र अहिले यसबारे अन्य निकायले थप अनुसन्धान गरिरहेको जानकारी दिए। ‘हामीले नियन्त्रणमा लिएर त्यहीँ राखेका छौँ। यसबारे बुझ्ने काम हाम्रो होइन, सम्बन्धित निकायले बुझिरहेका छन,’ उनले भने। 

फिर्ता गरेको कागज नै फेरि ल्याएपछि नियन्त्रणमा 

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिक टन कागज ३० दिनभित्र ल्याउन सम्झौता गरेको थियो।

थप ५ मेट्रिक टन गरी कूल १ हजार ५ मेट्रिक टन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो। सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्यायो। 

तर ती ल्याएको कागज केन्द्रमा परीक्षण गर्दा गुणस्तरहीन प्रमाणित भएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। उनका अनुसार उक्त कागज केन्द्रले कात्तिक १७ गते नै फिर्ता गरेको थियो।

‘जनक शिक्षामा कक्षा ११ र १२ का पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भएको थियो तर असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएको १ सय ६४ टन कागज गुणस्तरहीन रहेको र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेका थियौँ,’ केन्द्रका निर्देशक झाले भने। त्यही फिर्ता गरेको कागज सप्लायर्सले फेरि जनक शिक्षामै ल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।

निजीलाई दिन यो चलखेल भएको हुनसक्छ : आचार्य

सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइ र पाठ्य पुस्तक छपाइको काम गर्दै आएको छ। तर समयमा नयाँ पाठ्यपुस्तक नछापेको आरोप पनि केन्द्रले खेप्दै आएको छ। केन्द्रका सूचना अधिकारी आचार्यले पुस्तक छपाइको काम निजीलाई दिन बाहिर चलखेल भएको पनि हुनसक्ने आशंका व्यक्त गरे।

‘हामीले यहाँ परीक्षण गर्दा गुणस्तरहीन रहेको प्रमाणित भयो, त्यसपछि हामीले फिर्ता गरेका थियौँ। जनक शिक्षाले केही गर्न सकेन‚ अब प्राइभेटलाई दिने भनेर माहोल बनाउन खोजिएको हुनसक्छ। यस्तो गराएपछि जनक शिक्षाबारे नराम्रो छाप बस्छ भन्ने पनि होला,’ उनले भने।

उनका अनुसार उक्त कागज केन्द्रको कार्यालयमै थन्क्याइएको छ। साँचो भने प्रहरीले लिएको छ। प्रहरीले कागज नियन्त्रणमा लिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मध्यपुर थिमि नगरपालिकाले चासो लिएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस बारेमा केन्द्रका निर्देशक झासँग जानकारी लिएका छन्। 

नयाँ शैक्षिक सत्रमा पनि पुस्तक समयमै नपुग्ने सम्भावना

सरकारले समयमै सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउने प्रतिबद्धता गरेको छ। तर कागज ल्याउँदा नै चलखेल भएसँगै अबको नयाँ शैक्षिक सत्रमा समेत पुस्तक अभाव हुने सम्भावना देखिएको छ। अब पुस्तक छाप्न ३ महिनामात्र समय बाँकी छ।

केन्द्रका सूचना अधिकारी आचार्यले भने, ‘यो समस्या निम्त्याउन कसैले डिजाइन गरेको पनि हुनसक्छ।’ उनका अनुसार नयाँ शैक्षिक सत्रका लागि २ करोड थान पुस्तक छाप्नुपर्नेछ तर छाप्न शुरु भएको छैन। समयमै छाप्न सकिने उनको दाबी छ। उनका अनुसार केन्द्रमा ३ वटा नयाँ रंगीन छपाइ गर्ने वेब मेसिन जडान गरिएकाे छ।  

गुणस्तरहीन कागज के हुन्छ? 

प्रहरीले कागज नियन्त्रणमा लिएपछि केन्द्रले एक सूचना जारी गरि यो नियमित प्रकृया नै रहेको जनाएको छ। बोलपत्रमार्फत प्राप्त हुने कागजको नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा परीक्षण गरिने‚ तोकिएको गुणस्तर अनुसारको कागज भएमात्र प्रयोग गर्ने र नभएमा उक्त कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने नियमित प्रकृया रहेको केन्द्रको तर्क छ।

‘पुस २७ गते बुधबार केन्द्रले फिर्ता गरेको कागज नै आपूर्तिकर्ताले फेरि ल्याएको भन्ने सम्बन्धमा छानबिन गरी दोषी ठहरिए सम्बन्धितलाई कारबाही गरिने छ,’ सूचनामा उल्लेख छ। केन्द्रका सूचना अधिकारी आचार्यले ती गुणस्तरहीन कागज नराखिने र फिर्ता गरेर राम्रो ल्याइने बताए। यसबारे थप अनुसन्धान भइरहेकाे जानकारी उनले दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.