|

दोलखा : दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालले भीमेश्वर नगरपालिका-६ का बासिन्दालाई उपचारमा छुट दिने भएको छ।

अस्पताल र फूलबारी टोल सुधार समितिबीच स्वास्थ्य सेवामा ३० प्रतिशत छुट दिने सहमति भएको हो। सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालका मेडिकल डाइरेक्टर विनोद डंगोल र फूलबारी टोल सुधार समिति भीमेश्वर नगरपालिका-६ का अध्यक्ष गणेश शिवाकोटीबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सदरमुकाम चरिकोटमा विशेषज्ञ सेवासहित शुरु भएको अस्पतालले समुदायका कोही पनि स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्दै समिति र अस्पतालबीच सम्झौता भएको हो। यसबाट आर्थिक अवस्था कमजोर भएकाहरूलाई थप उपचारका लागि सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।

अस्पतालमा उपचार गराउने भीनपा-६ का बिरामीले औषधीबाहेक सम्पूर्ण सेवा निःशुल्क पाउने अस्पतालकी प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिइन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डंगोलले आर्थिक अभावमा कसैले पनि रोग लुकाएर बस्नुपर्ने बाध्यता नहोस् भनेर समितिसँग सम्झौता भएको बताए। अस्पताल निजी भए पनि अस्पतालले बिरामीको सेवाका लागि कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो।

अस्पतालमा शल्यक्रियासहित अत्याधुनसक मेसिनबाट इन्डोस्कोपी, भिडियो एक्सरे, इसिजी‚ प्रयोगशालालगायतका सेवा अस्पतालले दिँदै आएको छ।

डा डंगोलले जिल्लाका अस्पतालसम्म आउन नसक्ने आर्थिक अवस्था कमजोर भएका कुनै पनि बिरामीबारे अस्पतालमा खबर प्राप्त हुनासाथ डाक्टरसहितको टोली बिरामीको घरमा पुगि उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अस्पतालमा दिनहुँ ७० देखि ८० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.