४ सन्तानको गुजारा मागेरै चलाउँछिन् बबिता

|

रौतहट : कठ्याङग्रिने जाडोमा पातलो त्रिपालमुन‍ि आफ्ना ४ सन्तानसहित बस्छिन् ४० वर्षीया बबिता कापरी। ६ वर्षअघि पतिको मृत्यु भएपछि बबिता आफ्ना छोराछोरीको लालनपालन मागेर गरिरहेकीछन्।

चिसो बढ्न थालेपछि बबिता आफ्नो त्रिपालको अवस्था देखेर चिन्तित भएकी छन्। मागेर जीवन गुजार्दै आएकाले चिसो छेक्ने घरसमेत बनाउन सक्ने अवस्थामा छैनन् उनी।

उनी चन्द्रपुर नगरपालिका वडा नं ५ मा पर्ने बागमती सिँचाइ आयोजनाको नहरमा त्रिपालको छाप्रो बनाएर ४ छोराछोरीसहित बस्दै आएकी छन्। उनीसँग हावा, चिसो छेक्ने गतिलो घेराबेरा छैन, आफ्नो नाममा एक धुर जमिन पनि छैन।

१६ वर्ष पहिला सर्लाहीको झिम खोलामा आएको बाढीले आफ्नो भएभरको जग्गा जमिन बगाएपछि उनका पति मग्राती कापडी छिमेकीको साथ लागेर चन्द्रनिगाहपुर आएका थिए।

४० वर्षकै उमेरमा बुढी देखिन थालेकी बबिताका १६ वर्षकी छोरी तिलिप्टी बोल्न सक्दिनन्। १४ वर्षका छोरा खेसारीलाल सुस्त मनस्थितिका छन्। ८ वर्षका छोरा भबिचन स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छन्। कान्छा छोरा अमिताव पनि दाजुसँगै विद्यालय जाने गरेका छन्। उनी शिशु कक्षामा पढ्छन्।

मागेरै भए पनि आफ्ना दुई छोरालाई पढाउने धोको राखेकी बबिताको घरको अवस्था नाजुक रहेको छ। पतिले दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले परिवार पाल्दै आएकी बबिता उनको मृत्युपछि माग्नमै निर्भर हुन बाध्य भइन्।

गाउँघरमा डुलेर मागेर ल्याएको पैसाले ४ जना छोराछोरीको लालनपालन गर्ने गरेको बबिता बताउँछिन्। शारीरिक श्रम गर्न आफ्नो शरीर अत्यन्त कमजोर भएकाले छोराछोरी पाल्न आफू माग्न बाध्य भएको उनको भनाइ छ।

अहिले चिसो र शीतलहरबाट छोराछोरी बँचाउन हम्मे परेका वेला बिहान बेलुकी उनीहरूको पेट भर्न माग्नसमेत जानुपर्ने विवशता रहेको बबिताले सुनाइन्। ‘चिसोमा बालबच्चा कहाँ राख्ने समस्या भइसक्यो‚’ उनले भनिन्।

टाउको पनि उठाउन नसक्ने प्लाष्टिकको त्रिपालको भरमा गुजारा चलाउँदै आएकी बबिताका छोराछोरीले शरीर छोप्ने लुगा लगाउन र पेटभरि खानसमेत पाएका छैनन्।

‘बर्खामा त्रिपाल चुहिएर बसि नसक्नु हुन्छ‚ चिसोमा बालबालिकालाई जोगाउनै मुस्किल हुन्छ। चिसो छल्न रातभर आगो तापेर बस्नु पर्छ‚’ बबिताले भनिन्।

हरको सो बस्तीमा उनको समूदायका अन्यको समेत बसोबास रहेको छ। अरु काम गर्न सक्ने भएका कारण श्रम गरेर कमाएर ल्याउने गरेका भए पनि आफू शारीरिक श्रम गर्न नसक्ने भएकाले माग्नुबाहेक अरु कुनै उपाय नभएको उनी बताउँछिन्।

‘चिसो शुरु भयो। अब हाम्रो बिजोग हुन्छ। हामीजस्तै समुदायले सरकारी तथा गैरसरकारी संस्थाबाट सुविधा पाइरहेका छन् तर हामीलाई कसैले पनि हेरेको छैन’, सोही बस्तीका स्थानीय गगन कापडीको गुनासो छ‚ ‘हाम्रो पक्षमा बोलिदिने कोही नभएकाले सबैले बेवास्ता गर्छन्।’

सो बस्तीका समुदाय राजनीतिक, आर्थिक, सामाजिक र शिक्षालगायतका सबै क्षेत्रको पहुँचबाहिर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.