अयोध्याको मन्दिरमा राखिने रामको मूर्ति बनाइने

|

म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।

हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप ३ वटा शालिग्राम हस्तान्तरण गरेका छन्।

क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खुमबहादुर गर्बुजा (खम्बिर), निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी र अगुवाहरूको उपस्थिति थियो।

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधीश रामतपश्वेर दासमार्फत् अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीक स्वरुप ३ वटा शालिग्राम हस्तान्तरण गरेका थिए।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका २ वटा शिलाको पहिचान, नापजाँचको काम सकिएपछि पठाउनुअघि क्षमापूजा गरिएको हो। 

जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दासले अयोध्यामा रामको मूर्ति बनाउन लगिने शिलासँगै जानकी मन्दिरमा सीताको मूर्ति बनाउन अर्को शिला पनि लगिने बताए।

‘हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ,’ उनले भने ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ।’

शालीग्राम पाइने कालीगण्डकी नदीले पवित्र बनेका शिला भगवानकै प्रतीक भएको राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए। ‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,’ उनले भने‚ ‘शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्।’

बेनी नगरपालिकाका नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन गरी टिपरमा राखेर बाजागाजा र पूजाआजा गरेर केही दिनमै जनकपुर पठाइने जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निधिले सरकारी तवरमा विभिन्न चरण र प्रक्रिया पूरा गरेर कालीगण्डकीको शिला उपलब्ध गराउन लागिएको बताए।

‘अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,’ उनले भने‚ ‘शिला उत्खनन भएको ठाउँ धार्मिक स्थलको रुपमा विकास हुने र कालीगण्डकीको महत्व झनै बढ्नेछ।’ 

बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने र जनकपुरबाट सरकारले भारत सरकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य निधिले बताए।

अयोध्याको इतिहास

सरयु नदीको तटमा अवस्थित अयोध्याधाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो। यो भारतको उत्तर प्रदेशको फैजाबाद जिल्लामा पर्छ।

मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ। सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए।

सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति गरेका थिए। त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा २ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए।

सोही समय हिन्दूहरूले बाबरी मस्जिदसमेत भत्काएका थिए। मस्जिद भत्काएपछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो। सोही फैसलापछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए।

अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ। मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ। ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रूपैयाँमा मन्दिर निर्माण भैरहेको छ।

सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बालवयको मूर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए। उनका अनुसार मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुषसमेत राखिनेछ।

जुन धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ। यसबाट नेपाल-भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ।

यतिमात्र होइन, राममन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको अयोध्यामा धनुष र कालिगण्डकीको शिलाबाट रामको मूर्ति  बनाउने अभियानमा संलग्न पत्रकार रामजी दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.