|

विराटनगर : मंसिर ४ को चुनावी अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोजपुर पुगेर सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भोजपुरवासीलाई किरातीलाई जिताएर पठाउन आग्रह समेत गरेका थिए। सोहीअनुसार उनले प्रदेश १ का संस्थापक पूर्वमुख्यमन्त्री शेरधन राईलाई भारी मतान्तरले पराजित गरे।

यतिवेला प्रधामन्त्री प्रचण्डले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मा पाउने भएका छन्। उनको यो संसदीय यात्रा तेस्रोपटक रहेको छ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता एवम् भोजपुर जिल्ला इन्चार्ज समेत रहेका राईको जन्म बेलायती आर्मी परिवारमा भएको हो। उनको पुर्ख्यौली घर भोजपुर भए पनि बुवा बेलायती आर्मी भएकाले उनको जन्म हङकङमा भएको हो।

लाहुरे परिवारमा हुर्किए पनि गाउँमा भएको गरिब र धनीबीचको खाडल पुर्न र असमानतालाई समानतामा परिवर्तन गर्न जनयुद्धमा होमिएका उनी हङकङमा जन्मेको भए पनि भोजपुरप्रतिको माया कहिल्यै मार्न सकेनन्।

उनी आफ्नो गाउँमा भएका समस्यालाई नजिकैबाट नियाल्ने, समाधानको बाटो खोज्न गाउँमै पुग्ने  गर्छन्। मन्त्री भएपछि गाउँको समस्या बुझ्न भोजपुर पुग्छन् या अन्य मन्त्री झैँ गाउँ बिर्सिने पो हुन् कि भन्ने भोजपुरवासीको जिज्ञासा रहेको छ।

राजनीतिक यात्रा
२०५४ सालमा सुदनले कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएका हुन्। उनी २०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७० सालमा पराजित भए। पुनः २०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित उनी अहिले पुनः भोजपुरबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेर विजयी भएसँगै देशको नेतृत्व पंक्तिमा पुगेका छन्।

२०४६ सालको आन्दोलनसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध उनी स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष बनेका थिए। २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित हुँदै २०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश गरेका थिए।

२०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय ब्यूरो सदस्य समेत भएका उनी सेनाको ब्यारेक र विभिन्न जेलमा बसेका थिए। उनी शान्ति प्रक्रियापछि जेलमुक्त भएका थिए। उनी करिब २३ महिना जेल बसेका थिए।

उनी मेचीकोशी ब्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव, अध्यक्ष हुँदै भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै २०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्जको जिम्मेवारी सम्हालेका उनी २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुँदै हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.