|

विराटनगर : निरन्तर राजनीति र व्यावसायिक यात्रामा लागेकी एमाले नेत्री भगवती चौधरी निर्वाचन जित्नेमा पक्का जस्तै थिइन्।

उनले हरेक चुनावी अभियानमा तीस वर्षसम्म नगरेको विकासको काम आफूले तीन वर्षमा गर्ने प्रतिबद्धता जनाउँदै आइरहेको भेटिन्थिन्। त्यसैअनुसार उनलाई सुनसरी क्षेत्र नम्बर ३ बाट भारी मतले विजयी गराए। अर्थात् सुनसरीका जनताले परिवर्तनको स्वाद चाख्न चाहे।

उनले  नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गर्दै संसदीय यात्रा तय गरिन्। उनका लागि गच्छदारलाई हराएर विजयी हासिल गर्न त्यति सहज थिएन। यद्यपि आत्मविश्वास र निर्वाचन क्षेत्रमा आफूले गरेका सामाजिक कामले पनि उनलाई सदैव हौसला बढाएको थियो।

राजनीति यात्राका क्रममा हार र संघर्षका जँघार तर्दै यतिवेला चौधरी मन्त्री बनेकी छिन्। उनी महिला तथा बालबालिका मन्त्रालयको भूमिका निर्वाह गर्दै छिन्।

एउटी महिलाका लागि पहाडझैँ बनेर आउने चुनौती पन्छाउँदै सफलता चुम्न त्यति सहज नहुँदो हो। तैपनि हारलाई जितको सूत्रको रूपमा लिएर अघि बढेकी उनी जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट राजनीतिमा आबद्ध  भएको बताउँछिन्।

उनी नेकपा एमालेको केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज समेत हुन्। २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी चौधरी  २०७४ मा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्।

२०४८ सालमा नेकपा एमाले पार्टीको सदस्यता लिएकी उनी २०५८ सालदेखि सक्रिय राजनीतिमा छिन्।

२०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी उनी २०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागकी उपप्रमुख भएकी थिइन्।

५१ वर्षीया चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्।

उनी फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाकी संस्थापक अध्यक्ष समेत हुन्। सुनसरीको दुहबी–२ स्थायी ठेगाना भएकी चौधरी साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) मा जन्मिएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.