|

इलाम : इलामको उच्च पहाडी क्षेत्रको मुख्य नगदेबाली मटरखेती रोपणमा किसानको आकर्षण घट्दै गएको छ।

बढ्दो रोग र श्रमशक्तिको अभावमा किसानले मटर रोप्‍न छोडेका हुन्। २ हजार २ सय मिटर उचाइमाथिका लेकाली क्षेत्रमा साउनमा मटर रोपिँदै आएको थियो।

साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर अन्तिमसम्म बजारमा खरिद बिक्री हुन्छ। लेकाली क्षेत्रको मुख्य आयस्रोत बनेको मटरखेती अहिले भने खस्कँदै गएको छ। इलामका विभिन्नज क्षेत्रका किसानहरुले व्यवसायिक रूपमा गर्दै आएको मटर खेती अहिले छाड्दै गएका छन्।

रोपेको ९० दिनमैं लटरम्म फल्ने मटर कोसा घरमैं हारालुछ बिक्री हुने भए पनि जलवायु परिवर्तनले रोगको प्रकोप बढेसँगै खेती घट्दै गएको किसान बताउँछन्। मापदण्ड पुर्‍याई खेती गरेको खण्डमा एक किलो बिउ बराबर तीन मन (१२० केजी) सम्म मटर कोसा फल्ने गरेको छ।

५ वर्षअघि व्यावसायिक रुपमा मटरखेती नगर्ने किसानका घर हतपत्त भेटिदैनन् थिए। मुख्य सिजनका बेला प्रतिकिलो एकसय ५० रुपैयासम्ममा बिक्री हुने मटरको खेती अहिले घट्दै गएको सूर्योदय नगरपालिका ३ का किसान गित बहादूर साम्पाङ राईले बताए।

मटर वर्षमा २ सिजनमा उत्पादन हुन्छ। साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर मसान्तसम्म बजारमा पाइन्छ।

कात्तिक मंसिरमा रोपिएको मटर चैत्र बैशाखमा बजारमा निस्कन्छ। साउनमा रोपिएको मटरमा बढी मात्रामा रोग लाग्ने भएकाले कमै मात्र किसानले यो सिजनमा मटर खेती गर्दै आएका छन्। कात्तिकमा रोपिएको मटर खेतीबाट उत्पादन राम्रो हुने गरेपनि अहिले श्रम गर्ने शक्ति अभावले व्यवसायीक रोपण घट्दै गएको छ। तरकारी बालीमा पर्ने मटर इलामका देउमाई, सूर्योदय, इलाम नगरपालिका, माइजोगमाई, सन्दकपूर गाउँपालिकामा खेती हुने गरेको छ।

इलाममा उत्पादन हुने मटर कोसाको मुख्य बजार सीमावर्ती भारतीय शहर हुन्। इलाममा गत बर्ष साढे पाँचसय मेट्रिक टन मटर कोसा उत्पादन भएको तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.