अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका हुन्।
सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गरेका थिए। पछि उनीहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खाँण निर्विरोध निर्वाचित भएकी हुन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरू सहभागी थिए।
यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा-२ बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्। गुल्मीकी खाँण भने समानुपातिकबाट निर्वाचित भएकी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।