यस्तो छ राष्ट्रपति चुनावका लागि दलहरुको मतभार

|

काठमाडौं : निर्वाचन आयोगले मिति नतोक्दै दलहरूले राष्ट्रपतिको निर्वाचनबारे सक्रियता बढाएका छन्।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। किनभने सत्ता साझेदार दलबीच राष्ट्रपति एमालेले पाउने सहमति भएको चर्चा छ र कांग्रेसले राष्ट्रपति आफूहरूले जित्ने दाबी गरिरहेको छ।  हालका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ मा कार्यकाल सकिनु एक महिना अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने प्रावधान छ। तर, आयोगले कार्यकाल सकिनु केही दिन अगाडि मात्रै निर्वाचन गर्ने तयारी गरेको छ। 

राष्ट्रपतिको कार्यकाल सकिने मिति नजिकिँदै गर्दा दलहरूबीच आफ्नो पक्षमा मत तान्ने प्रयास सुरू भएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको कांग्रेसले यसपटक राष्ट्रपति हात पार्ने प्रयास गरिरहेको छ।

सात दलीय गठबन्धन नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीको समर्थनमा प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

राष्ट्रपति र सभामुख पाउने भएपछि प्रचण्डलाई समर्थन गरेका नेकपा एमाले कांग्रेसको मिसन असफल पार्ने प्रयास गरिरहेको छ। 

पुरानो पाँच दलीय गठबन्धन भत्काउन सफल भएको एमालेले सभामुख पाए पनि राष्ट्रपतिमा भने अझै आशंका जन्माएको छ। प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई पनि साथमा लिएर जानुपर्ने बताउँदै आएका छन्। 

बिहीबार सभामुखको निर्वाचन सकेर निस्किएपछि संसद भवन परिसरमा संचारकर्मीसँग प्रचण्डले अझै समय बाँकी भएकाले राष्ट्रिय सहमति भए हुन्थ्यो भन्ने लागेको बताए। गत मंगलबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिसहितका संवैधानिक पदहरुमा सबै दलहरूबीच सहमति गरेर लैजाने प्रस्ताव गरेका थिए।

तर, नेकपा एमालेले प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि असहमति राखेको थियो। बिहीबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने ‘हामीले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ, राष्ट्रपतिमा हाम्रो सहमति त्यही हो।’

गठबन्धन भत्काउने कांग्रेसको प्रयास

नेपाली कांग्रेसले सात दलीय गठबन्धन भत्काउन अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने भएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति फुत्काउन गठबन्धन फुटाउने प्रयास गर्ने भएको हो। कांग्रेस सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताए।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादी सहितका आफूहरूको गठबन्धन टुटाएकाले अब आफूहरूले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वाभाविकै भएको तर्कसमेत गरे।

‘हामी चुनावमा गठबन्धनमा थियौँ। त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि! मिसन सभामुख थियो। त्यो भएन। अब मिसन राष्ट्रपति पनि हुन्छ। मिसन गठबन्धन टुटाउने हुन्छ। यसमा कुनै शंका नै भएन नि,’ उनले भने। 

कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताए। 

‘गठबन्धन रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन मुस्किल छ। त्यसकारण नयाँ सिराबाट जाने कुरा स्वाभाविक हो। उम्मेदवार खडा गरेपछि जिताउन मतदातासँग मत माग्नु स्वभाविक हो’, उनले भने, ’हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौँ। हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन। प्रधानमन्त्रीबाटै सहमतिमा अगाडि बढ्ने अभिव्यक्ति आएको छ। त्यही अनुसार कांग्रेसले विश्वासको मत दिएको अवस्था हो।’

उनले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए।

‘अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन। तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति दिएकाले कांग्रेसले विश्वासको मत दिएको हो।’​

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताए।

‘राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ,’ शर्माले भने, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईँहरूले देख्नुहुनेछ।’ 

महामन्त्री शर्माले भनेझैँ सत्ता बाहिरका दलहरूलाई लिएर मात्रै कांग्रेसको राष्ट्रपति बन्ने चाहना पूरा हुने छाँट देखिँदैन। 

उसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता घटक दल जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई साथमा लिनु पर्नेछ। तर, तत्काल त्यो सम्भावना देखिँदैन।

किनकी सत्तारूढ दलहरू सबैले बिहीबारको सभामुख निर्वाचनमा सत्तारूढ दलका उम्मेदवार देवराज घिमिरेलाई मत दिइसकेका छन्। 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा आफूहरूको स्वभाविक दाबी रहने बताए। उनले विगतमा राष्ट्रपतिले गरेका कदमबाट पनि यसको महत्व बढाएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक प्रतिनिधिसभा विघटन, नागरिकता विधेयक अड्काएको, विभिन्न अध्यादेशहरू जारी गरेको नजिर ताजै रहेकाले पनि दलहरूले राष्ट्रपतिले आँखा लगाएका हुन्। 

‘राष्ट्रपति र उपराष्ट्रपति महत्वपूर्ण संवैधानिक पद हो। राष्ट्रपति पदको सदुपयोग दुरूपयोग जे जस्तो भए पनि यसको महत्व बढाएको छ। कांग्रेसले यी पदहरुमा साझा दृष्टिकोण पार्टीहरूले राख्नुपर्छ भन्ने कांग्रेसको धारणा छ। निर्वाचित भएपछि पार्टीको सदस्य नभइ समग्र देशको प्रतिनिधित्व गर्नुपर्छ भन्ने मान्यता हो। त्यस हिसाबले पार्टीको पदाधिकारी बैठकले सबै दलहरूले सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीले सबै दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने बताउनुभएकोछ। हामी सबैभन्दा ठूलो पार्टी हो,’ प्रवक्ता महतले भने।  

राष्ट्रपति आफ्नो पक्षमा पार्न कांग्रेसले सत्ता बाहिर रहेका दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको छ।

कांग्रेसले जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरूसँग निरन्तर संवाद गरिरहेको छ। तर, कांग्रेसले संवाद गरेका दलले नै सभामुखमा भोट दिएनन्। 

 नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको बताए। 

उपमहासचिव रिमालले राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै नेपाली कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताए। 

‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्दाखेरी उसको चाहिँ अदृश्य स्वार्थ छ भन्ने अन्दाज हुन्थ्यो। राजनीतिलाई गिजोल्ने विधिबाट नेपाली कांग्रेस जुन ढंगले अहिले अगाडि बढ्न खोजेको देखिन्छ, यो दुर्भाग्यपूर्ण हो। कांग्रेसको भित्री मनमा चाहिँ मुलतः राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय हो कि भन्ने अन्दाज गर्न सकिन्छ,’ उनले भने।

कुन दलसँग कति मतभार?

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदहरूले राष्ट्रपति छनौट गर्न मतदान गर्न पाउने व्यवस्था छ।

संघीय संसदका ३३४ (प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९) जना र सातवटै प्रदेश सभामा ५५० सदस्यले राष्ट्रपति र उपराष्ट्रपतिलाई भोट हाल्न पाउँछन्। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। 

राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार ३ सय ९४ मतभार ल्याउनुपर्ने हुन्छ। १६ हजार १४२ मतभार रहेको कांग्रेसलाई राष्ट्रपतिमा विजयी हुन १० हजार २५२ मतभार आवश्यक पर्ने देखिन्छ। 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। २०६८ सालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ लाई आधार मानेर उक्त मतभार कायम गरिएको हो। 

संघीय र प्रदेशसभामा सबैभन्दा बढी सांसद रहेको नेपाली कांग्रेससँग मतभार रहेको छ। कांग्रेससँग प्रतिनिधिसभामा ८८, राष्ट्रियसभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेका छन्।

कांग्रेससँग २७३ जना सांसद रहेका छन्। कांग्रेससँग संघीय संसदमा सात हजार ७४२ मतभार छ भने प्रदेशसभामा ८ हजार चार सय मतभार रहेको छ। यसरी हेर्दा कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ।​ 

कांग्रेसलाई नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साथ हुनेछ। 

दोस्रो स्थानमा रहेको नेकपा एमालेसँग प्रतिनिधिसभामा ७९, राष्ट्रियसभामा १५ र प्रदेशसभामा १६० जना सांसद रहेका छन्। एमालेसँग संघ र प्रदेशसभामा गरी  १५ हजार १०६ मत रहेको छ। 

नेकपा माओवादी केन्द्रसँग संघीय संसदमा ४७ र प्रदेशसभामा ८२ जना सांसद रहेका छन्। माओवादीसँग सात हजार ६४९ मतभार रहेको छ। नेकपा एकीकृत समाजवादी पार्टीसँग संघीय संसदमा १८ र प्रदेशसभामा २४ जना सांसद रहेका छन्। नेकपा एससँग २५ सय ७४ मतभार रहेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग संघीय संसदमा १४ जना सांसद रहेका छन् भने प्रदेशसभामा २८ जना सांसद रहेका छन्। राप्रपासँग कूल मत २४ सय ५० मतभार रहेको छ। जनता समाजवादी पार्टी (जसपा)सँग संघीय संसदमा १५ र प्रदेशसभामा २० जना सांसद रहेका छन्। जसपासँग कूल मतभार २१ सय ४५ रहेको छ। 

प्रदेशसभामा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग प्रतिनिधिसभामा २० जना सांसद रहेका छन्। रास्वपासँग १५ सय ८० मतभार रहेको छ। जनमत पार्टीका प्रतिनिधिसभामा ६ जना सांसद रहेका छन् भने प्रदेशसभामा १६ सिट रहेका छन्। जनमत पार्टीसँग कूल १२ सय ४२ मतभार हुन्छ। 

लोकतान्त्रिक समाजवादी पार्टीसँग संघीय संसदमा पाँच सिट रहेको छ भने प्रदेशसभामा १२ जना सांसद रहेका छन्। यो आधारमा लोसपासँग ९७१ मतभार रहेको छ। नागरिक उन्मुक्ति पार्टीसँग संघीय संसदमा पाँच जना सांसद रहेका छन् भने प्रदेशसभामा १२ गरी ९७१ मत रहेको छ।

राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभा एक र प्रदेशसभामा एक सिट रहेको छ। जनमोर्चासँग १२७ मतभार रहेको छ। नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभामा एक र प्रदेशसभामा तीन सिट रहेको छ।

नेमकिपासँग जम्मा २२३ मतभार रहेको छ। साथै हाम्रो नेपाली पार्टीको ९६ र प्रतिनिधिसभामा स्वतन्त्रबाट दुई, राष्ट्रियसभामा एक र प्रदेशसभामा १२ जना सांसद रहेका छन्। राष्ट्रपतिबाट तीन जना मनोनीत सांसद रहेका छन्। उनीहरू सबैको मतभार एक हजार ५० रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.