|

विराटनगर : कोशी अस्पतालले जीवित नवजात शिशुलाई मृत घोषणा गरेपछि अस्पताल केही बेर तनावग्रस्त भएको थियो।

बिरामी भएर उपचारका लागि ल्याइएको शिशुलाई अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरेका थिए। जिउँदै नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि अस्पतालमा केही समय लफडा भएको थियो।

श्वासप्रश्वासको समस्याका कारण उपचारका लागि अस्पताल लगिएको १८ दिनको नवजात शिशुलाई उपचार नगरी मृत घोषणा गरेको परिवारको आरोप छ।

पुस १७ गते मोरङ जहदा गाउँपालिका–३ की भातिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा शिशु जन्माएकी थिइन्। जन्मदा शिशुको तौल १ किलो ४०० ग्राम रहेको थियो। कम तौल भएका कारण अस्पतालमा केही दिन उपचार गराएपछि उमा र उनका बच्चालाई डिस्चार्ज गरिएको थियो।

बुधबार छोरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले आठ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएको थियो।​

डाक्टरले छोरीको श्वास छैन भनेपछि........

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टीका भण्डारी ड्यूटीमा खटिएका थिए।

आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले छोरीको स्वास्थ्य जाँच गरेका थिए। त्यसपछि ती दम्पतीलाई डा. आकाश यादवले छोरीको सास गइसकेको बताउँदै घर लैजान भनेका थिए। डाक्टरले दिएको जानकारी सुनेपछि श्रीमती उमा र आफन्तहरू आकस्मिक कक्ष बाहिर रुन शुरु गरेको दिलीपले बताए।

उनले रुँदै गरेकी श्रीमतीलाई समाल्न थाले। उनले त्यसैबीचमा जेठानी दिदीले आकस्मिक कक्षको शय्याबाट छोरीलाई बाहिर लिएर आएको बताउँदै उनले भने, ‘छोरीले हातखुट्टा हल्लाइन्। त्यसपछि थाहा भयो। जिउँदी छोरीलाई डाक्टरको लापरवाहीले मृत भनेको रहेछ।’ उनले विरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कडा कारबाही गर्नुपर्ने माग समेत राखेका छन्।

अहिले गोल्डेन हस्पिटलमा राखेर छोरीको उपचार शुरु गरेको उनले जानकारी दिए। उनले छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको समेत उनले बताए।

चिकित्सकलाई कुटपिट

उपचारमा लापरवाही गरेको भन्दै शिशुको आफन्तले चिकित्सकलाई कुटपिट गरेका छन्। परिवारले नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवलाई कुटपिट गरेका हुन्। आफन्तको कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ।

कित्सकमाथि आक्रमण गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेका अर्का एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

 के भन्छ अस्पताल ?

अहिले नवजात शिशुका आफन्त र अस्पताल प्रशासनबीच छलफल चलिरहेको कोशी अस्पतालका मेडिकल सुपरीवेक्षक डा. लक्ष्मीनारायण यादवले जानकारी दिए। घटनाको विषयमा बुझ्ने काम भइरहेको उनले बताए।

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्न नभएको र सास पनि नचलेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। उनको भनाइअनुसार त्यस विषयमा बुझ्ने काम भइरहेको छ। उपचारमा लापरबाही भएको पाइए कारबाही गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.