|

म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्ने गरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, स्तरोन्नति र कालोपत्रे म्याद सकिएको २ वर्षपछि पनि सुस्त गतिमा छ।

उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरू त मारमा परेका छन् नै दुईदेशीय व्यापार र अनेकौं सम्भावना पनि थलिएका छन्।

पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै नसक्दा सडक जोखिमपूर्ण बनेको छ। मुस्ताङखण्डको तुलनामा म्याग्दीखण्डको प्रगति नगन्य छ।

भौतिक पूर्वाधार मन्त्रालयले बेनी–जोमसोम सडकको कालोपत्रे गरी काम सक्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समय दिएको छ।

गलेश्वरदेखि–नारच्याङ पुलसम्मको २० किलोमिटर सडक ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माणमा ढिलासुस्ती गरेको छ।

२०७४ जेठमा ६३ करोड ५२ लाखमा र २०७६ मंसिरमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको यस कम्पनीले पटक–पटक म्याद थपे पनि काम गरेको छैन।

दशैंयता यो सडकको काम हुन सकेको छैन। अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पूरै ठप्प छ। आयोजनाको शुरु विन्दु गलेश्वरदेखि मुस्ताङको सीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्पप्रायः छ। अहिले ८–१० जना मजदुरले रिटेनिङ वाल लगाउने कामबाहेक कुनै काम नगरेको पाइएको छ।

‘बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्डअर्न्तगत बेनी–जोमसोम ७६ किलोमिटरमध्ये मुस्ताङतर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ। म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा अति सुस्त काम भएको छ‚’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन्। हामीले व्यवसायीलाई प्रेसर गरिरहेका छौं।’

आयोजना प्रमुख प्रजापतिका अनुसार बेनी-घाँसा खण्डमा प्राविधिक कठिनाइ पनि छ। उनले भने, ‘फिल्डमा देखिने गरी काम नभए पनि बेनी–घाँसा खण्डमा सडक विस्तार गर्न टेक्निकल समस्या पनि छ। भीरकोटमा सुरुङ मार्ग बनाउन अध्ययन जारी छ भने रुप्से छहरामा अघिल्लो वर्ष बाढीले बगाएको मोटरेबल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ।’

आयोजनाका अनुसार गत वर्ष थपिएको पर्वतको मालढुङ्गा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा पनि काम भैरहेको छ। नालीको पानी पन्छ्याउने विषयमा स्थानीयले अवरोध गरेपछि काम प्रभावित हुँदा ठेक्का लगाएको २ वर्षमा ३५ प्रतिशत काम सकिएको दावी आयोजनाले गरेको छ।

आयोजना प्रमुख प्रजापतिले दिएको जानकारीअनुसार मालढुङ्गा–बेनी ३५ प्रतिशत, बेनी–गलेश्वर खण्डमा ठेक्का प्रकृयामा रहेको, गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज शतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको छ।

‘मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल, नालीको काम सकिएको छ। गर्मी मौसम शुरु भएर कालोपत्रे गर्न योग्य तापक्रम पुग्ने बित्तिकै कालोपत्रे गर्ने गरी ठेकदारलाई तयारी बस्न भनेका छौं‚’ आयोजना प्रमुख प्रजापतिले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठूलाठूला बाढी पहिरोले सडकमा धेरै क्षति गरेकोले व्यवसायीले प्रगति देखिने गरी काम गर्न सकेनन्। पहिरोमा अझै धेरै काम बाँकी छ। यो हिउँदमा व्यवसायी परिचालित हुन सके म्याग्दी खण्डमा पनि यो वर्ष धेरै भाग कालोपत्रे गर्छौं।’

बेनी–जोमसोम सडकखण्डमा भएको कामको ढिलाइले गर्दा राउण्ड अन्नपूर्ण भ्रमणमा आउने विदेशी पर्यटकले सास्ती खेप्न बाध्य हुनुपरेको छ। यसैगरी उत्तरी म्याग्दी र मुस्ताङका बासिन्दा मारमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.