|

पर्वत : कलाकार प्रकाश सपूत माघ २ गते म्याग्दी आउने तय भएको थियो। म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा २ गते उनले आफ्नो प्रस्तुति दिने तयारी थियो तर उनी आफ्ना प्रस्तुति दिन म्याग्दी पुगेनन्।

माघ १ गते पोखरामा यती एयरलाइन्सको एटीआर विमान सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधनले देश शोकमा डुबेका वेला उनले स्टेज नजाने निर्णय गरे। माघ २ गतेका लागि सरकारले राष्ट्रिय शोक मनाउने गरी देशभर बिदा दिएको थियो। म्याग्दी महोत्सव भने शोककै दिन पनि चलिरह्यो।

कलाकार प्रकाश सपूतका लागि माघ २ गते तय गरिए पनि उनले शोकमा रहेका कारण आफ्ना प्रस्तुति नदिएका हुन्। ‘पोखरा जहाज दुर्घटनापछि माघ २ गते त्यहीँ पुगेर गीत गाउन मानले मानेन’, सपूतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘व्यावसायिक मर्यादाबाट माथि उठेर मेरो भावनाको कदर गरिदिनु भएकोमा आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घलाई धन्यवाद! म्याग्दीका प्रिय दर्शकश्रोतामा क्षमा चाहन्छु। मलाई माया छ। अर्को पटक फेरि भेटौँला।’

अर्का कलाकार विष्णु खत्रीले पनि विमान दुर्घटनाको शोककै कारण आफू जाने भनी तय गरेको कार्यक्रम नै छोडेका छन्। माघ १ गतेदेखि बागलुङको भीमपोखरामा चलेको माघेसंक्रान्ति मेलाको चौथो दिन माघ ४ गते खत्रीका लागि तालिका तयार थियो। तर घटनाको शोककै कारण खत्रीले दर्शक र आयोजकसँग क्षमा माग्दै उक्त कार्यक्रममा उपस्थित हुन नसक्ने गरी आफ्नो तालिका रद्द गर्न लगाए।

दुर्घटनामा बागलुङकी गायिका नीरा छन्त्यालको मृत्युले मर्माहत बनाएकाले आफू गीत गाउन नगएको बताएका छन्। त्यसमा पनि माघ ४ गते नै विष्णु खत्रीसँगै नीराले पनि आफ्ना साङ्गीतिक प्रस्तुति राख्ने गरी आयोजकले नीरालाई निमन्त्रण गरेको थियो। एकै दिन एकै समयमा स्टेजमा रहेर गाउने कलाकारलाई गुमाउनुपर्दा आफूलाई एक्लै स्टेज जान मन नलागेको खत्रीले बताएका छन्।

‘पोखरा र म्याग्दीको कार्यक्रम सकाएर बागलुङ आउने जानकारी उनी(नीरा)ले मलाई फोनमै गराएकी थिइन्। उनको स्टेज प्रोग्राम अति आकर्षक थियो भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो’‚ कलाकार खत्रीले फेसबुकमा लेखेका छन्, ‘यति वेला म पनि मर्माहत छु। साङ्गीतिक क्षेत्रमा एउटा आशालाग्दी बागलुङकी चेली गुमाउनुपर्दा पीडा छ। तसर्थ नीरा बहिनी र म आउने भनिएको यस कार्यक्रममा म एक्लै पुगेर गीत गाउन असमर्थ छु। उक्त दिन उनकै सम्झनामा मैले माइक नसमाउने निधो गरेको छु। अर्थात् कार्यक्रम उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु।’

एउटा कलाकारको सम्मानका लागि अर्को कलाकारले निभाउनुपर्ने भूमिका आर्थिक सवालभन्दा माथिको हुने गायक खत्री बताउँछन्। स्टेजमा गाएर रकमभन्दा एक कलाकारको सम्मान र शोकका लागि अर्को कलाकारले निभाउने भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

कलाकारद्वय खत्री र सपूत दुवैजनाको घर बागलुङ हो। आफ्नै गृह जिल्लाकी गायिकालाई गुमाउनु परेका कारण उनीहरू बढी चिन्तामा देखिएका छन्। एकै जिल्लामा घर भएका र एकै पेसा भएका व्यक्ति गुमाएको पीडाले मर्माहत बनाएको उनीहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.