हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका असर

|

म्याग्दी : ‘उत्तरतर्फ देखिने हिमालमा अहिले हिउँ घटेर सेता नदेखिएर घुर्मैलाजस्ता देखिन थालेका छन्। वनमा चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस र जंगली फलफूल माघ महिना नलाग्दै फुल्न र फल्न थालेका छन्‚’ बेनी नगरपालिका-२ का नारायण शर्माले भने‚ ‘पानी पर्दैन, हिउँ आउँदैन, के भएको हो यस्तो?’

शर्माको जस्तै धेरैको मनमा अहिले यस्तै कौतुहल हुने गरेको छ। हेर्दाहेर्दै सेता हिमालहरु अहिले काला पहाडमा परिणत हुन थालेका छन्। यसअघि चैत वैशाखमा फुल्ने लालीगुराँस माघमा नै फुल्न थालेको छ। दशैंयता पानी परेको छैन। हिउँ पर्ने समय नाघिसक्दा पनि कतै हिउँ परेको छैन।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ। धवलागिरि, निलगिरिलगायत हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमालहरू पहाडजस्ता देखिन थालेका छन् भने जंगली फलफूल बेमौसममा नै फल्न र फुल्न थालेका छन्।

हिमालमा मात्रै होइन जलवायु परिवर्तनको असर जंगलमासमेत देखिन थालेको छ। म्याग्दीका लेकाली क्षेत्रहरुमा चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमा फुल्न थालेका छन् भने चुत्रो, काफल, तिजुजस्ता फलफूल फल्न थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका जसविर विकले बताए।

पहिले पहिले फागुन महिनाको दोस्रो साताबाट लालीगुराँसको कोपिला लाग्न शुरु हुने तर अहिले फागुन महिनासम्ममा लालीगुराँस फुलेर सकिने संकेत देखिएको गाउँलेहरुले बताएका छन्।

पहाडमा पाइने काफल, ऐंसेलु, त्रिमुडा, मछाईदा, टिम्मुर, घँगरुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको र फल्ने समयमा फलेर सकिने गरेको उनीहरूले बताएका छन्।

‘लालीगुराँस फूल फागुन–चैतमा फूल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ‚’ मराङका देवबहादुर विकले भने‚ ‘गुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा समेत यसको प्रभाव देखिएको छ। पुस माघमा गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक होइन। विश्वमा बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।’

चैत वैशाखमा फुल्ने लालीगुराँस पुसमा नै फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुको कारण विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको असरले भएको वातावरण क्षेत्रका जानकारहरुले बताएका छन्।

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ। ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका टेकबहादुर तिलिजाले बताए।

‘पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, केही वर्षयता हिमालको तल्लो भाग कालो पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमाल नाङ्गै भएको देखिन्छ,’ तिलिजाले भने।

तिलिजाले अस्वाभाविक रुपमा तापक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाए। स्थानीयका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ।

पहिले पुसमा हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ। हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको पर्यटन व्यवसायी एक्कल रावलले बताए।

धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधारशिविरदेखि नै सुरु हुने वर्षौंदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ।

६/७ वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्ने क्रमले करिब ५ मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको पर्यटन व्यवसायी रावलले जानकारी दिए।

रावलका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भूभागमा पनि प्रशस्त मात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन्।

धौलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन्।

जाडोमा समेत कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए। हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ।

हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेती‚ बाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताए। तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेती बालीमा पनि देखिएको छ।

पहिले खेतीमा खासै समस्या नदेखिने गरे पनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको छ। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन्।

जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको वातावरण संरक्षणकर्मी एवम् वन र वातावरणका जानकार वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणि सापकोटाले बताए।

उनले भने‚ ‘विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तन हो। जलवायु परिवर्तनको मुख्य कारण मानवीय गतिविधि हुन्। जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको पाईन्छ।’

जलवायु परिवर्तनको असर एउटै लालीगुराँसमा मात्रै नभई हरेक क्षेत्रमा परेको छ। तराईमा पाईने विभिन्न प्रजातिका फलफूल, बोटविरुवा आदि पहाड क्षेत्रमा पाईन थालेका छन्। बोटविरुवा तथा जीवजन्तुले पनि ठाउँ परिवर्तन गर्न थालेका छन्। जुन मौसममा पाईन्थे‚ जुन समयमा फल्ने तथा फुल्ने गर्थे त्यो समय पनि परिवर्तन भएको पाईन्छ।

यसले सामाजिकदेखि आर्थिक रुपमा पनि असर पारेको पाईन्छ। सामान्य उदाहरणमा भन्ने हो भने लालीगुराँस टिपेर बिक्री गर्ने परिवार हुन्छन्। त्यस्तै, कृषि क्षेत्रमा पनि यसले असर पारेका कारण जलवायु परिवर्तनले आर्थिक, सामाजिक, धर्म प्रणालीमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.