|

काठमाडौं :  वस्तु गतिशील छ वा चेतना गतिशील छ भन्ने द्वन्द्वात्मक बहसबाट नै पूर्व र पश्चिमका दर्शनको निर्माण भएको देखिन्छ। वस्तु गतिशील छ र त्यस वस्तुका गतिशीलताको प्रतिफलका रूपमा चेतना पनि गतिशील छ भन्ने मूल चिन्तन नै भौतिकवादी दर्शनको विमर्शविषय हो भने वस्तु त क्षणिक छ र परमात्मारूपी चेतना सर्वव्यापी छ र यसैका केन्द्रबाट वस्तुसत्य स्थिर, सार्वभौम र अकाट्य छ भन्ने चिन्तन नै मूलतः अध्यात्मवादी दर्शनको विमर्शविषय हो।

 यी दुई दर्शनमध्ये भौतिकवादी दर्शनलाई कलात्मक प्रतिबिम्बनको मूल मर्म बनाएर स्रष्टा हरि कटुवालद्वारा लेखिएको पछिल्लो उपन्यास फेरि अर्को बिहानी (२०७८) पाठकका मन र मस्तिष्कलाई एउटा भिन्न तरंगसाथ झक्झकाउन सक्षम देखिन्छ।

क्रान्तिको बाटो सधैँ एकनासको हुँदैन। अनेक उतार–चढाव, सफलता–विफलता, घुम्ती–मोड, ध्वंश–सिर्जना आदि रूपमा पनि क्रान्तिको अभियान निरन्तर चलिरहन्छ। क्रान्तिका लागि क्रान्तिकारीमा विश्वदृष्टिकोण हुनु आवश्यक हुन्छ। असल क्रान्तिकारीहरू संस्कृतिमा पक्कै रमाउँछन् तर विकृतिमा निराश भइहाल्दैनन्।

बरु क्रान्तिको बाटो फेर्छन्, लक्ष्य फेर्दैनन्। नेपालको ऐतिहासिक सन्दर्भलाई यही विचारधाराका आधारमा औपन्यासिकीकरण गरिएको फेरि अर्को बिहानी उपन्यासका लेखक कटुवाल पेसाले नेपाल सरकारको निजामती सेवामा लेखा कर्मचारी हुन्।

आम्दानी तथा खर्चको हिसाबकिताब राख्ने कटुवाल आफ्ना उपन्यासका माध्यमबाट मानवीय जीवनका सुख–दुःख, क्रान्ति–शान्ति, सिर्जना–ध्वंश, सुन्दरता–कुरूपताजस्ता बहुआयामिक पक्षको कलात्मक प्रतिबिम्बन गर्ने हिसाबकिताबमा पनि अग्रसर देखिन्छन्। अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) जस्ता दुईओटा उपन्यास लेखन तथा प्रकाशनको अभ्यास र अनुभवबाट आफ्नो लेखनीलाई अझै निखार र तिखार दिँदै तेस्रो उपन्यासकृतिका रूपमा फेरि अर्को बिहानी (२०७८) मार्फत पाठकसमक्ष आएका कटुवाल फुटकर रूपमा कथा, कविता र गीतलेखनमा पनि सक्रिय छन्।

उनीद्वारा सिर्जना गरिएका प्रेमविषयक गीतहरू अडियो–भिडियो माध्यमबाट प्रकाशित–प्रसारित पनि छन्।

फेरि अर्को बिहानी उपन्यास मूलभूत रूपमा प्यारेलालको कथा हो। मिहिनेतपूर्वक पढेर आफू योग्य र दक्ष बन्ने सपना देखेको एउटा गरिब किसानको छोरो प्यारेलालको कथा नेपालको इतिहासको एउटा जीवन्त परिस्थितिमा आधारित देखिन्छ। बाबु, आमा र बहिनीको पारिवारिक प्रेममा हुर्केको प्यारेलाल अचानक जीवनमा आइपरेको राजनीतिक–सामाजिक घटनाक्रमका कारण कसरी अन्याय, अत्याचार र असमानताका विरुद्ध निर्भीक भएर जनयुद्धमा होमिनु पर्‍यो? उसको राजनीतिक गुरु तथा सहयोद्धा कमान्डर ज्वालाको संसर्गबाट उसले कसरी जनक्रान्तिको हेतु बुझ्यो?

जनक्रान्तिमा आफ्नो सौर्य र संयमताले युद्धका अनेक मोर्चामा देश र जनतालाई छातीमा राखेर इमानदारीपूर्वक कसरी लड्यो? युद्धप्रतिको प्रेम, योद्धाहरूबीचको प्रेम र त्याग अनि युद्धप्रतिको निष्ठालाई युद्धकालपछि शान्तिप्रक्रियामा विभिन्न भूमिकाका रूपमा एवं राजनीतिक विसंगति र विकृति उच्च भएको ठानेपछि आफ्नो क्रान्तिचेतनालाई देशको आर्थिक विकासको मूल खम्बा कृषिक्रान्तिमा रूपान्तरण गर्दै क. परिवर्तन बनेको प्यारेलालले राजनीतिबाट पलायनको बाटो रोजी उत्पादनको बाटो अवलम्बन गरी विसंगतिको चपेटामा परेका निरजजस्ता हजारौँ युवाको आदर्श व्यक्ति बनेको सन्दर्भलाई यस उपन्यासले मूल कथ्य बनाएको छ।

 जनयुद्धपछि शान्तिप्रक्रिया, संविधान सभाको पहिलो निर्वाचनबाट निर्मित सभाबाट संविधान निर्माणको असफलता, देशको राजनीतिक परिपाटिका कारण दोस्रो संविधान सभाको निर्वाचनमा देखिएको पुरानै संसदीय निर्वाचन प्रणालीको झल्को, स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीद्वारा पुरानै परिपाटीको अवलम्बनका कारण सक्षमलाई भन्दा नातावादलाई प्राथमिकता दिँदा नेपालका जागरुक युवाहरू पलायनको बाटो रोज्न विवश भई विदेशी भूमिमा पसिना र रगत बेच्न बाध्य हुने परिस्थिति आइपरेको या आत्महत्याको बाटो रोज्न विवश भएको परिस्थिति यो उपन्यासका घटना सन्दर्भमा आएका छन्।

क्रान्ति प्रकृतिको नित्य स्वभाव हो। प्रकृतिको चेतनशील प्राणीका रूपमा मान्छेमा क्रान्तिचेत अन्य प्राणीमा भन्दा अधिक छ। आफ्ना लागि मात्र नभएर अरूको हित र मुक्तिका लागि मान्छेले क्रान्तिको महायात्रा तय गर्न सक्छ। ती मान्छेहरू सच्चा क्रान्तिकारी हुन्छन् जसले समय, समाज र चेतनाका गतिशीलताको बोध गर्दछन् र त्यस बोधलाई वर्गमुक्तिको उच्चतामा पुर्‍याउँछन्। फेरि अर्को बिहानी उपन्यासले शोषण, दमन र अन्यायबाट मुक्ति प्राप्तिका लागि समर्पित प्यारेलाल (क. परिवर्तन), क. ज्वाला, क. छाया तथा विकृत राजनीतिका कारण दिशाहीन बनेको एउटा युवा निरज र शहरिया सभ्यताको प्रभावमा प्रेमलाई उपयोग गरेर हिँडिदिने अन्जना आदि पात्रसँग सम्बद्ध घटना सन्दर्भ प्रस्तुत छन्।

 यी हरेक पात्रका आआफ्नै कथाव्यथा छन् तर यी सबैमा राजनीतिक विसंगति तथा त्यसबाट आहत मनोदशाका विविध रूपहरू रहेको देखिन्छ।

जीवनमा एकपटक सशस्त्र क्रान्तिको बाटोमा कोही न कोही त हिँड्नै पर्दछ। नेपालको राजनीतिक आवश्यकताले २००७ मा तत्कालीन नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको बाटो समातेको थियो, २०२८ सालतिर तत्कालीन मालेले यही बाटो अख्तियार गरेको थियो र २०५२ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र क्रान्तिको बाटो रोजेको थियो।

यस उपन्यासले २०५२ सालपछिको राजनीतिक परिदृश्य, परम्परागत सामन्ती समाजका अनेक सीमाहरू, तिनै सीमाका कारण विद्रोहका अनेक शृङ्खला बढ्दै जाँदा जनयुद्धको आरम्भ, जनयुद्धको आवश्यकता र बाध्यता, जनयुद्धका सिपाहीहरूको इमानदारी, समर्पण, त्याग र बलिदान, युद्ध र प्रेमबिचको अभेद्य सम्बन्ध, वैयक्तिक प्रेमलाई वर्गीय प्रेमका रूपमा उदात्तीकरण, शान्तिकालमा पनि पहिलेजस्तै देखिएको विकृतिबाट आहत नवयुवाको हीनताबोध जस्ता वस्तुयथार्थलाई यथार्थपरक शैलीमा प्रस्तुत गरेको छ।

 क्रान्तिको निरन्तरता नै यस उपन्यासको वैचारिक धरातल हो र आवश्यकताअनुसार यसका अनेक रूप हुन सक्छन् भन्ने कुरालाई यस उपन्यासले आत्मसात् गरेको छ। तथापि जनयुद्धको एउटा कर्मठ सिपाही क. परिवर्तनका मुखबाटै उपन्यासका अन्तिममा आफूले राजनीतिक यात्रा छोडिसकेपछि हिजो आफूले रोजेको राजनीतिक विचार, त्यसले निर्देश गरेअनुरूपका नीति तथा कार्यकलाप अर्थात् समग्रमा हिजोको बाटोलाई गलत मान्नु यस उपन्यासको मुख्य सीमा हो। राजनीतिबाट विरक्तिएर कृषितिर लागेको प्यारेलालले पत्रकारले सोधेको प्रश्नमा एक ठाउँमा भनेको छ निम्नलिखि कथनअंशबाट यसको पुष्टि गर्न सकिन्छ :

हामीले गलत बाटो रोजेका रहेछौँ। गरिखाने उमेरमा कसैको लगौँटी बनेका रहेछौँ। भविष्य बनाउने उमेरमा कसैको हनुमान भइरहेका रहेछौँ। .... जुनसुकै वाद र दर्शनभन्दा देश ठुलो रहेछ। आफ्नो भविष्य ठुलो रहेछ। यसका लागि विकासवादी क्रान्ति आवश्यक रहेछ। भ्रष्टाचार, घुसखोरी र कमिसनतन्त्रको अन्त्य हुनुपर्ने रहेछ। तिनै युवाले सचेतनाको विगुल फुक्ने छन्। अनि तिनीहरू पनि मैलेजस्तै हतियार उठाउने छन् तर बन्दुक हैन। (कटुवाल, २०७८, पृ. २१९)

जनयुद्ध लडिसकेको एउटा सिपाहीले यसो भन्नुका पछाडि अनेक कारण हुन सक्छन् तर यसमा पलायनताको ह्वास्स गन्ध आउँछ। के यो देशमा युगौँदेखि अनेक प्रकारका उत्पादनका हतियार उठाउनेहरूको कमी छ र? हिजो पनि र आज पनि के अन्न, तरकारी र फलफूल उत्पादन गर्ने किसानको श्रम बिचौलियाले खाइदिएका छैनन्? उखु उत्पादन गर्ने किसानको श्रम मालिकहरूले नखाइदिएका भए उनीहरू माइतीघरको चिसो सडकमा महिनौँ अनशन बस्ने थिए? के ती किसानहरूले शान्तिपूर्ण ढङ्गले आवाज उठाएका थिएनन् होला? के तिनीहरूले न्याय र मुक्ति पाए त? कमैया, हलिया, हरूवा–चरुवा, कम्लरी, दलित, महिला, सीमान्तकृतहरूको मुक्ति शान्तिपूर्ण तरिकाले मात्रै भएको हो र? प्रकृतिको द्वन्द्ववादी नियम के छ भने पुरानाको ध्वंश नभएसम्म नयाँ अस्तित्व स्थापना हुन सक्दैन।

एउटा केराउको गेडाको अस्तित्व समाप्त नभएसम्म सयौँ नयाँ र अझै उन्नत केराउ फलाउन सकिँदैन। उपन्यासको यस अंशमा भविष्यका बारेमा कुरा गरिएको छ। भविष्य भनेको के हो? के आफू मात्र सफल हुनु, आफू मात्र धनी बन्नु, आफूले मात्र भनेजस्तो जागिर प्राप्त गर्नु, आफूले मात्र मोजमस्ती गर्नु, कसैले निर्धारण गरिदिएको ज्ञान रटेर विद्वान् भइटोपल्नु भविष्य हो त ! साँच्चि, कुनै एकजना व्यक्तिको भविष्य समग्र देशवासीको भविष्यसँग सापेक्षित छैन र?

संसारको ऋत लय र प्रलय होइन र? यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत,अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्... गीताकथन असत्यमाथि कृष्णद्वारा गरिएको युद्धघोष होइन र? त्यसो भए अर्जुनलाई आफ्नै बन्धुबान्धवमाथि शस्त्रअस्त्र प्रयोग गर्न लगाएर कृष्णले सबैभन्दा ठुलो गल्ती गरेका थिए त? रामायणमा रामले विभीषणलाई उपयोग गरेर रावणको हत्या गर्नु र सुग्रीवलाई प्रयोग गरेर बालीको हत्या गर्नु गलत बाटो थियो त?

हामी धर्मको अन्धतामा सत्य र असत्यको छिनोफानो गरिहिँड्छौँ तर सामाजिक रूपमा एउटा वर्ग सधैँ दलनमा परिरहेको छ, एउटा वर्ग सधैँ शोषणमा परिरहेको छ, एउटा वर्ग सधैँ अन्यायमा परिरहेको छ भने त्यसबाट मुक्तिका लागि गरिएको जनयुद्धलाई हिजोको जनसेनाद्वारा नै ‘गलत बाटो’ मान्न लगाइनु कदापि न्यायसंगत देखिँदैन।

अर्को एक ठाउँमा क. परिवर्तन उर्फ प्यारेलाललाई भन्न लगाइएको छ :

समग्रमा दर्शकहरूलाई र विशेष गरी युवावर्गलाई के भन्न चाहन्छु भने कुनै दर्शन, वादको पछि अन्धभक्त भएर नलाग्नोस्। यो विश्वमा चीन साम्यवादी व्यवस्था भए पनि चरम विकासको चरणमा पुगेको छ। जापान पुँजीवादी व्यवस्था भए पनि विकासको चरम सीमा नाघेको छ। दर्शन, वादले विकास जन्माउने होइन। (कटुवाल, २०७८, पृ.२२१)

पक्कै हो, अन्धभक्त हुनु हानिकारक छ तर संसारको कुनै पनि विकासका लागि दर्शन र विचारको टेको हुनु अनिवार्य छ किनभने दर्शनको आधार दृष्टि हो, दृष्टिबिना दृष्टिकोण बन्दैन, दृष्टिकोणबिना विचार बन्दैन, विचारबिना विचारधारा बन्दैन र विचारधाराबिना विकासको कल्पना नै हुँदैन।

स्वार्थ र बेइमानी सबैभन्दा खराब कुरा हुन्। यसलाई सामान्यीकरण गरेर राजनीतिलाई दुत्कार्ने हो भने राज्यको सिद्धान्त तिरोहण हुँदैन र? राजनीति सप्रिँदा राज्य सप्रिन्छ र राजनीति बिग्रँदा समग्र राज्यव्यवस्था बिग्रन्छ। त्यसैले राजनीतिबिना राज्यको कल्पना गर्नै सकिँदैन। उपन्यासको उपर्युक्त अंशमा जुनजुन देशलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ, ती देशको विकासमा के राजनीति मुख्य जिम्मेवार छैन र? गरिबीको दुष्चक्रका कारण के गरूँ, के गरूँ भएर काठमाडौँ सहरमा दिशाहीन बनेको उपन्यासको एउटा पात्र निरज हीनताबोधका कारण आत्महत्याको चरणमा पुग्नुको मूल कारण गलत राजनीतिक परिपाटि त हुँदै हो, ऊ स्वयं पनि यसको कारण होइन र?

 अनि क. परिवर्तन उर्फ प्यारेलालको अन्तर्वार्ता सुनेर घाँटीमा लगाएको पासो फाल्नु र प्यारेलाललाई आफ्नो नयाँ जीवनको एउटा आदर्श व्यक्ति मान्नुका पछाडि जनयोद्धा क. परिवर्तनको योगदान नै छैन भन्नु उपयुक्त हुन्छ र? स्वयं प्यारेलालको विगत र वर्तमान व्यक्तित्व जनयुद्धकै कारण बनेको होइन र? कृषिक्रान्तिमा लाग्ने उसको सोच जनयुद्धकै रूपान्तरित सोच होइन र? टेलिभिजनमा अन्तर्वार्ता दिँदै गर्दा प्यारेलाले अभिव्यक्त गरेका सम्पूर्ण विचारहरू उसको योद्धा मानसिकताको निरन्तरताका परिणति होइनन् र?

जुनसुकै क्रान्ति होस्, त्यसको निरन्तरताका लागि सत्कर्मको निरन्तरता हुनु आवश्यक हुन्छ। राजनीतिक क्रान्तिपछि नेता र नेतृत्व उत्पादनको क्रान्तिमा लाग्नै पर्छ। उत्पादनले एकातिर मान्छे र उससँग आश्रित सम्पूर्ण जीवजन्तुको जीवनरक्षा हुन्छ भने अर्कातिर सत्कर्मको दर्शन, सत्कर्म गर्ने विचारधारा, तदनुकुलका नीति, योजना, कार्यक्रम र कार्यान्वयनको तत्परतामा वृद्धि गर्दछ।

असल उत्पादक त्यो हो जसले राजनीतिक दर्शन र विचारधाराको समुचित प्रयोग गर्न तथा उत्पादनका साधन र स्रोतको समानुपातिक वितरण गर्न जान्दछ। राजनीतिक चेतना कमजोर भएको व्यक्ति वा नेता त ‘म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ’ बाट ग्रसित हुन्छ। पढीलेखी सुन्दर भविष्य बनाउने सपना देखेको प्यारेलालको जीवनमा जुन सामन्ती संरचनाले बज्रपात गरायो, त्यसलाई जुन क्रान्तिकारी विचारधाराले आडभरोसा, सहयोग र साथ दियो, जुन बाटो हिँडेर उसले आफू र आफ्नो समाजका क्षतविक्षत सपनालाई सम्हाल्न सक्यो त्यसैलाई ‘गलत बाटो’ मान्नु उपयुक्त होइन।

 जनयुद्धपछिको शान्तियात्रा, संविधान सभाबाट संविधान निर्माणका प्रक्रिया र त्यसका सकस, २०७२ सालको भूकम्पका कारण नेपाली समाजमा देखिएको महाविपत्ति र त्यसले देश र जनतालाई आक्रान्त बनाइरहेका बेला युगीन आवश्यकताका रूपमा प्यारेलाललाई हिजो हिँडेको बाटो (अर्थात् जनयुद्ध) लाई गलत नभनीकनै कृषिउत्पादनमा लगाइएका भए यस उपन्यासको गरिमा अझै उच्च बन्ने थियो भने प्यारेलालको चरित्रमा पनि व्यावहारिक आदर्श थपिने थियो। एउटा सक्षम नेताले समाजको परिवर्तनका लागि निरन्तर प्रयत्न गर्नु आवश्यक छ। प्यारेलाललाई आफूमातहतका राजनीतिक व्यक्तिहरूलाई एकत्रित गरी राजनीतिसापेक्ष नै उत्पादनमा लगाउन सकिन्थ्यो र त्यसो गरिएका भए प्यारेलालको पात्रता अझै व्यावहारिक, सकारात्मक र अनुकरणीय बन्न सक्थ्यो कि भन्ने पाठकीय अपेक्षा यस उपन्यासका पाठकले अनुभूति गरिरहन्छन्।

वैयक्तिक स्वार्थ, परिवारवाद, फरियावाद, कमिसनवाद, बिचौलियापन आदिबाट विकृत भएको नेपालको राजनीतिलाई प्यारेलालको युगीन आवश्यकताअनुकूलको सकारात्मक क्रान्तिकारी कदमबाट आम जनतालाई आशा प्रदान गर्न सकेका भए यस उपन्यासको कलात्मक उच्चता अझै सशक्त बन्ने थियो। आफूले हिँडेको हिजोको बाटोलाई गलत नठानीकन कृषि उत्पादनमा लगाइदिएको भए नेपालको राजनीतिमा हाम्रा नेतृत्वमा देखिएका जस्तै अनेक चारित्रिक दोषबाट प्यारेलाल मुक्त हुने थियो।

उपन्यासमा अभिव्यक्तिगत कसरमसरहरू धेरै छन् जसलाई अर्को संस्करणमा सुधार गर्न सकिन्छ। कथ्य, पात्र तथा पात्रता निर्माणमा केही त्रुटि देखिए पनि उपन्यासकारको कथाकथनको कला, पात्र र पात्रताको निर्माणमा विश्वसनीयता र जीवन्तता, घटना, पात्र र परिवेशको यथार्थपरक, विश्वसनीय र प्रारूपीकृत सुसंयोजन, व्यक्ति, समाज र विचारको कलात्मक सन्तुलनको प्रयत्नका फेरि अर्को बिहानी उपन्यास नेपाली राजनीतिको एउटा युगान्तकारी परिघटना जनयुद्ध र त्यसपछिको शान्तिप्रक्रियाका विभिन्न चरणलाई संयोजन गरी औपन्यासिकीकरण गरिएको एउटा महत्वपूर्ण उपन्यास हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

 मूलतः जनयुद्धदेखि यता यसमा संलग्न योद्धाहरूको पृष्ठभूमि, संलग्नताका कारण तथा तिनका चरित्रमा देखिने वैचारिक उच्चता र व्यावहारिक दक्षताको यथार्थपरक बोधका लागि यो उपन्यास संग्रहणीय, पठनीय र विमर्शनीय छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.