|

इलाम : डा. जगन्नाथ राईले १८  वर्षअघि नेपाल भित्र्याएको ड्रागन फ्रुट अहिले धेरै नेपालीले खेती गर्न थालेका छन्। सेतो र रातो जातको यो फलबारे शुरु-शुरुमा विदेश यात्रामा जाने नेपालीलाई मात्रै थाहा हुने गरे पनि अहिले इलामका किसानले पनि आफ्नो व्यवसाय बनाएका छन्।

सामाजिक सञ्जाल र सञ्चारमाध्यमका कारण सहजै किसानले जानकारी पाएपछि इलाममा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको छ। ड्रागन फल खेतीका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाइसम्म खेती हुने ड्रागन फल दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा व्यावसायिक रूपमा खेती शुरु भएको हो। धान र मकै मात्रै हुने ४ कट्ठा जग्गामा ड्रागन फ्रुट रोपेको चुलाचुली-२ का माइतराज लिम्बूले अहिले राम्रो आम्दानी स्रोत बनाएका छन्।

उनी चुलाचुली गाउँपालिका-२ का वडासदस्य  हुन्। उनले ड्रागन फ्रुट विक्रीबाट करिब २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए।

‘नयाँ फल भएकाले साथीभाइलाई चखाएर पनि करिब १ लाख ३० हजार रुपैयाँभन्दा बढीको विक्री गर्न सफल भए’, उनले भने, ‘फल मात्र हैन, बिरुवा समेत करिब ८० हजारभन्दा बढीको विक्री भएको छ।’ दुईवटा बोटबाट खेती शुरु गरेका लिम्बुको बारीमा ४ सय बोट ड्रागन फलका बिरुवाले उत्पादन दिइरहेका छन्। सेतो र रातो गरी २ प्रजाति हुने यो फल लिम्बूका बारीमा दुईवटै प्रजातिबाटै उत्पादन हुँदै आएको छ। झापाको दमक बजारबाट नजिकै रहेको चुलाचुलीमा गाउँपालिकामा उत्पादित ड्रागन फल बेच्न समस्या नभएको स्थानीय ओमनारायण खनालले बताए।

‘एकदमै हितकारी फल भएकाले माग निकै उच्च रहेको पाइएको छ। अहिले दमकसँग नजिक भएकाले विक्री वितरणमा केही सहज भएको जस्तो देखिन्छ’, उनले भने, ‘उच्च माग भएकै कारण मैले कतिपटक खरिद गर्न खोज्दा पनि पाइनँ। बल्ल बल्ल २ पटक चाहिँ चाख्ने मौका पाएँ स्वादिलो र पोषिलो लाग्यो।’ ड्रागनको फल, फूल लागेको ३० देखि ५० दिनमा तयार हुने भएकाले प्रतिवर्ष ५-६ बाली चक्रको फसल लिइने भएपछि किसान आकर्षित भएका हुन्।

५ डिग्री सेल्सियस, तापक्रम र ९० डिग्री सापेक्षिक आर्द्रताको अवस्थामा ४० दिनसम्म राख्न सकिने भएकाले ड्रागन फलमा किसानको आकर्षण बढ्दै गएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए। ‘नयाँ उत्पादन भएकाले किसानहरूमा आकर्षण पाइएको छ। गाउँपालिकाले विषयगत विज्ञ ल्याएर माटो परीक्षणसँगै बजारीकरणको सम्भाव्यता अध्ययन गरेर यसको प्रवर्धनमा लगानी गर्न तयार छ’, उनले भने।

पहिलो वर्षमा प्रतिपोल ८–१० वटा फल लाग्ने ड्रागन फ्रुटको मुख्य सिजनको रूपमा असोज–फागुन मानिन्छ। ड्रागन फलको उत्पादन प्रतिरोपनी २५०–३०० केजी सम्म हुने गर्दछ। चुलाचुली गाउँपालिकाले ड्रागन फललाई फलफूल उत्पादनको दोस्रो प्राथमिकतामा राखेर लगानीको योजना समेत बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.