|

कावासोती : चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा  १० एकसिंगे गैँडा मरेका छन् ।

चालू आवको पहिलो छ महिनामा सात गैँडा प्राकृतिक कारणबाट मरेका हुन्। यस्तै एक  करेन्ट लागेर र दुई तस्करका कारण मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर दुइ गैँडा मारेका छन्। सूचना अधिकारी तिवारीका अनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन्। 

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको हो। अर्को अन्दाजी चार वर्षको बच्चा गैँडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए। 

तस्करले माउ गैँडालाई थापेको धरापमा परेर बच्चा गैँडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए। खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेपछि अनुसन्धान अगाडि बढाएको निकुञ्ज प्रशासनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.