|

म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका-१ को गुर्जा गाउँ जिल्ला कै अत्यन्त दुर्गम गाउँ हो। यो गाउँ समुद्र सतहबाट ३,२२० मिटर उचाइमा छ। 
गाउँको वार्षिक औसत तापक्रम ८ डिग्री सेल्सियस मात्र रहन्छ। वर्षभरिमा करिब पाँच महिना बाक्लो हिउँको सिरकले छोपिने यस गाउँमा जब हिमपातको समय हुन्छ, तब पूरा गाउँ संसारको मानवसम्बन्धबाट विच्छेद हुन्छ। जम्माजम्मी १४२ घरपरिवारले बसोवास गर्छन् यहाँ।

पर्यटन,जडिबुटी र खानीको अपार सम्भावना रहेको यो गाउँका वासिन्दाहरू भौगोलिक विकटता र सरोकारवाला निकायहरूको बेवास्ताका कारण ‘सुनको सिरानी हालेर नुनको खोजीमा’भौतारिइरहनु पर्ने बाध्यतामा छन्।

 उनीहरूको जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडिबुटी  बिक्रीबाट आउने केही लाख रूपैयाँ मात्र हो। म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करीव दुई दिनको यात्रामा पुगिने गुर्जामा वर्षेनी करोडौं रूपैयाँ आम्दानी हुन सक्ने जडिवुटी,खानी र लाखौं रूपैयाँ राजस्व संकलन गर्न सकिने पर्यटकीय सम्भावनाका अवसरहरू पनि रहेका छन्। तर ती सबै सम्भावनाहरू राजनीतिक नेतृत्वको अदूरदर्शीता र सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लका देशमा मणि’जस्तै बनेको स्थानीय वासिन्दाहरू बताउँछन्।

गुजमुज्ज परेका परम्परागत शैलीका घर।  मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको अत्यन्त दुर्गम वस्ती हो गुर्जा। 
धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने यो गाउँलाई दुर्गम भएकै कारण ‘जीवित मानव संग्रहालय’ समेत भनिन्छ।

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित गुर्जा छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती हो। छिमेकी बस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल पनि हो।

यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुन लगायतका जडिबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुङ्गो ) को खानी रहेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए।

यहाँका जडिबुटीहरूको पनि देश विदेशमा राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने प्रवल सम्भावनारहको उनले जानकारी दिए।

गुर्जा गाउँको प्राकृतिक सुन्दरता,जैविक विविधता,सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पनि पर्यटकका लागि आकर्षक माध्यम भएको  बताउँदै वडाअध्यक्ष छन्त्यालले भने ‘तर त्यसकालागि आवश्यक प्रचार प्रसार गरिदिने माध्यम हामीले पाउन सकेका छैनौं। राजनीतिक दलका नेताहरू चुनाव आयो भने भोटमा माग्न मात्र गाउँमा आउँछन्। अघिपछि समस्या लिएर जिल्लामा नै जाँदा पनि मुन्टो फर्काउँछन्। गुर्जाको विकासका लागि जिल्लास्थित राजनीतिक दलका नेताहरूले सिन्को पनि भाँचेका छैनन्।’

त्यसैगरी पशुपालन, रातो च्याउ र गोल्डेन स्याउ,टिमुरको व्यावसायिक खेतीका साथै पर्यटन र खानी उत्खनन\ पनि यहाँका वासिन्दाहरूको आय आर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ। 

जति नै धेरै सम्भावनाहरू रहेको भएतापनि यहाँका वासिन्दाहरू अझै पनि सजिलैसँग एक पोका नुन किन्न नसक्ने अवस्थामा छैनन्। भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकायहरू पन्छिने प्रवृत्ति रहेको स्थानीय जसविर विकले बताए।

त्यसैगरी गुर्जामा पाइने बहुमूल्य कार्ज पत्थरको खानी उत्खनन् गर्न नसक्दा करोडौंको सम्पत्ति पहरामा नै अलपत्र परेको छ। गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा वर्षौंअघि पहिचानमा आएको कार्ज पत्थरको खानी आवश्यक उपकरण अभाव, राज्यको अनुमति नहुनु र स्थानीयको उदासीन भइदिँदा उत्खनन हुन सकेको छैन।

सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने कार्ज पत्थरको बजारमा अत्यधिक माग छ। गुर्जा गाउँदेखि करिब एक दिनको पैदल यात्रापछि पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैं गरी टल्कने कार्ज पत्थर म्याग्दीका लागि भिल्लाका देशमा मणि जस्तै बनेको गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी डेकबहादुर विकले बताए।

कार्ज पत्थरको उत्खननका लागि स्थानीय स्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएका कारण अलपत्र परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकप्रसाद छन्त्यालले जानकारी दिए।

वडाअध्यक्ष छन्त्यालका अनुसार कार्ज स्टोन (पत्थर)को साथै सो स्थानमा हीराको खानीसमेत हुन सक्ने अनुमान गरिएको छ। एक दशकअघि सो स्थानको स्थलगत अध्ययन गरी नमुना समेत ल्याइएको थियो। सोही नमुना २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो।

खानी उत्खननका लागि सरकारले अनुमति दिई आवश्यक प्रविधिहरू उपलब्ध गराइदिने हो भने यहाँबाट करोडौं मूल्य बराबरको कार्ज पत्थर निकाल्न सकिने प्रवल सम्भावना रहेको स्थानीय बताउँछन्।

गुर्जावासी गाई, भैंसी, भेडापालन गरी मकै, आलु र जौ उत्पादनबाट ६ महिना जीविकोपार्जन गर्छन्। बाँकी समय बेसाहाको भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यतामा छन्। एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युतको उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको वडाअध्यक्ष छन्त्यालले बताए।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संगोलले भरिपूर्ण गुर्जागाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ। जहाँ जे बाली पाक्छ, त्यहीं नै बसोवास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ। 

गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ। केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा आएको हो। यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरू गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ। 

आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको यस गाउँका वडाध्यक्ष छन्त्यालले जानकारी दिए। उनका अनुसार गुर्जामा इटालियन जातको स्याउका बिरूवा काठमाडौंदेखि लगेर रोपिएको थियो।

 जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए। गुर्जामा सुरू गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो। राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन्। 

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रूकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले एडभेन्चर ट्रेल हब’ का रूपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.