|

दाङ :  तुलसीपुर, घोराही  हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्दै आएका छन्। तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्ड अन्तर्गत  कुइरेपानीसम्म स्तरोन्नति गर्ने भन्दै ठेकेदारले सडक अलपत्र पारेपछि यात्रु निकै कष्टकर यात्रा गर्न बाध्य छन्।

कुइरेपानीदेखि तुलसीपुरसम्म  २८.१९ किलोमिटर सडक कतै चार लेन र कतै दुई लेनमा स्तरोन्नति  गर्न भन्दै  सन् २०१९ जनवरी २८ मा शुरुमा सम्झौता भएको थियो।  तीनपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति ९ प्रतिशत मात्रै छ।  

यहाँको चार लेन सडक निर्माणको जिम्मा भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको हो। सुरुमा ३३ महिनामा काम सक्नेगरी परियोजनासँग निर्माण सम्झौता भएको हो। तत्कालीन दुई लेनको सडक भत्काएर भताभुंग पार्दा  धेरै सवारी दुर्घटना हुँदा २० भन्दा बढीले ज्यान गुमाएका छन्। आधा घण्टा लाग्ने यात्रामा घण्टौँ र जोखिम  छ।  

लामो समयदेखि सडकको अवस्था नाजुक भएपछि  तुलसीपुरमा क्रियाशील युवा व्यवसायीले  तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मत शुरु गरेका छन्। उपमहानगरसँग समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवं बिचमा रहेका खाडल बिहीबारदेखि  पुर्न थालेका हुन्। तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर क्रियाशील युवा व्यवसायीले उपमहानगरका इञ्जिनियर पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन्।

काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडल पुर्न पायक पर्ने खोलाबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए। खाडल पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्यांकन भइसकेका स्थानबाट ग्राभेल निकाल्न अनुमति दिएपछि काम सुरु भएको अभियन्ता पवनकुमार योगीले बताए।

‘एक जना व्यक्तिले भन्दा यहाँ सबै युवा सक्रिय रूपमा अगाडि बढेर यो अभियानको थालनी गरिएको हो। हाम्रो सानो सहयोग र प्रयासले जोखिममा रहेको सडक मर्मत गरेर यात्रा गर्ने यात्रुलाई सहज होस् भन्ने नै  हो’, उनले भने, ‘यो सडकको कारणले यात्रामा जोखिम मात्र नभई दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका छन्। गाडी दुर्घटना हुँदा आर्थिक रूपमा समेत क्षति पुगेको छ। धुलोको कारण वातावरण समेत असर परिरहेको छ। त्यसले हाम्रो प्रयासले सडक मर्मत गर्दा केही समय राहत हुनसक्छ। त्यो भएर हामीले तुलसीपुरको मजगैंसम्म सडक मर्मत गर्ने छौँ।’

उनका अनुसार यस क्षेत्रका युवा व्यवसायीले आफूसँग भएका यान्त्रिक उपकरण सहयोग गरेका छन् भने केहीले इन्धन, पानी पनि सहयोग गरेर यो अभियानलाई साथ दिएका छन्। यस्तो कार्यले राज्यलाई पनि दबाब हुने उनको भनाइ छ।

सडक मर्मतमा ग्राभेलसँगै आवश्यकताअनुसार माटो र पानी हालेर रोलरले दबाउँदै सडकमा खाडल पुर्न थालिएको छ।  यस्तै, तुलसीपुर ६ का गणेश खत्री तुलसीपुरदेखि घोराही दैनिक मोटरसाइकलमा जाने, आउने गर्छन्। तर, सडकको अवस्थाका कारण धेरै समस्या भोग्नु परेको उनले बताए। उनले सडक चौडा बनाउने भनेर लामो समयदेखि सडक भत्काएर जस्ताको त्यस्तै बनाएपछि दुर्घटनाको जोखिम बढेको बताए।
 
सडक साँघुरो र दुवै किनारातिर बनाउँदै गरेर अलपत्र रूपमा सडक हुँदा जोखिम हुने इञ्जिनियर योगीले बताए। ‘सडकको अवस्था यस्तो रहेको छ कि यो देखेर यात्रा गर्न मन लाग्दैन। तर, के गर्नु कामले गर्दा दैनिक आउजाउ गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘गाडीहरू चाप त्यतिकै हुन्छ। सडकको अवस्था नाजुक छ। यात्रा गर्दा धेरै जोखिम छ। हिजो आज त बिहान हुस्सु लाग्ने  कारण एकदमै सावधानीपूर्वक चलाउनु पर्छ। ’

उनले तुलसीपुरका युवा व्यवसायीले मजगैंसम्म सडकका खाडल पुर्न लागेको भन्दै खुशी व्यक्त गरे। उनले भने,‘ अहिले सडकका दुवै किनारामा गहिरा खाडल रहेका छन्। ठूला गाडीहरू आएर साइड दिनसमेत ठाउँ पुग्दैन। अब ती  खाडल पुर्न लागेको हुँदा केही राहत मिल्ने भयो। ’
 
निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा कम्तीमा सात मिटर कालोपत्रे सडक अहिले छैन। सडकका  दुवै किनारा स्तरीय बनाउने भन्दै भत्काउँदा केही ठाउँमा सडक ३ मिटरमा खुम्चिएको छ।

 दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसालले सडकका कारण आफूले धेरै सास्ती भोगेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, घोराहीदेखि तुलसीपुरसम्म स्कुटीमा यात्रा गर्दा धेरै सास्ती र जोखिमको यात्रा भयो। लथालिंग र साँघुरो सडक, गाडीहरूको चाप र धुलो पनि उस्तै छ। ...यस्तै शैलीले हाम्रो देश समृद्ध बन्ला त भन्ने मेरो मनमा प्रश्न खडा भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.