|

जनकपुरधाम : जनकपुरधाममा पहिलो पटक अन्तरराष्ट्रिय स्तरको बृहत् व्यापारिक मेला ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ।

रष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले बताए।

औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तरराष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमा जानकारी गराए।

महासेठले पत्रकार सम्मेलनमा  यस बृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।

आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा १५० भन्दा बढी स्टल रहनेछन्।

उक्त मेलामा १ लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार साहले बताए।

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघ तथा सह–आयोजक सिया इभेन्ट्स रहेको छ। जनकपुरधाम व्यापार मेलामा पाइने विशेष सामानमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय तथा नवीनतम उत्पादन रहने जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीष साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.