|

म्याग्दी : पुस २८ गतेदेखि शुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला शनिवार सम्पन्न भएको छ।

उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु. १० करोडको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोवार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौं।’

महोत्सवका अवसरमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजातिको झाँकी, वेषभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पुर्‍याएको महोत्सवका सांस्कृतिक विभाग संयोजक सुविन श्रेष्ठले बताए।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा र्‍याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुर्ख्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनी लगायत आयोजना गरिएको थियो।

महोत्सव स्थलमा व्यापारिक र अन्य गरी कुल २५८ स्टल राखिएको थियो। ती व्यापारिक स्टलहरूमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ। महोत्सवमा १ करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी र १ करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च भई ९ लाख ९ हजार ७८९ बचत भएको अध्यक्ष कटुवालले जानकारी दिए।

परम्परागत रूपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा म्याग्दी महोत्सव आयोजना हुनेगरेको छ।

महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.