|

कञ्चनपुर : थारू समुदायका चाडपर्वमा आयोजना हुने कार्यक्रमले कञ्चनपुरमा संस्कृति संरक्षणमा योगदान पुर्‍याएको छ। माघी, दशैं लगायतका चाडपर्वमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रमले युवा पिढीलाई पुराना संस्कृति सिक्ने अवसर प्राप्त हुने गरेको छ।

माघी मिलन लगायका कार्यक्रमले थारु समुदायका परम्परागत परिकार, पहिरन, गहना, नृत्य र गीतहरूको संरक्षणमा योगदान पुयाएको कृष्णपुर नगरपालिकका थारू अगुवा वीरबहादुर राजवंशी बताउँछन्।

‘विगतमा समुदाय र गाउँ स्तरमै माघीका परम्परागत कार्यक्रम हुन्थे’ उनले भने,‘गाउँ सम्म मात्रै सीमित हुन्थ्यो, ‘थोरैले मात्रै संस्कृति बारे जानकारी पाउथे, संस्कृतिबारे जानकारी नहुँदा युवा पिढीले पुराना संस्कृतिसँग सम्बन्धित कुराहरू बिर्संदै गएका थिए, हाल वडा वडामा पालिकाले बजेट व्यवस्थापन गरी परम्परगत संस्कृति जोगाउनका लागि सहयोग गरेका छन्।’

यसबाट संस्कृति संरक्षणमा सहयोग पुगेको उनको भनाइ रहेको छ। बुढापाकाहरूले माघी मिलन कार्यक्रममा पुराना गीतहरू गाएर सुनाउने, गाउँका महिलाहरूले परम्परागत गहना र भेषभूषामा सजिएर नृत्य गर्ने कार्यले थारू समुदायको संस्कृति जोगाउनमा मद्दत पुगेको राजवंशी बताउँछन्।

 ‘पुराना बाद्यवादनका साधनहरू हराई सकेका थिए’ शुक्लाफाँटा नगरपालिका ३ का विश्राम चौधरीले भने, ‘माघीकै अवसरमा देखाउनका लागि भएपनि बुढापाकाहरूलाई सोधेर पुराना बाद्यवाधनका साधनहरूको खोजी गरी युवा पिढीलाई देखाउनका लागि भएपनि ल्याएका छौं, यसबाट पूर्खाले कुन वाद्य सामग्री बजाउथे भन्ने कुराको अहिलेको पुस्तालाई ज्ञान दिन सकिएको छ।’

 स्थानिय स्तरमै बनाईने डफ, चिम्टा, मजिरा, झयाली लगायतका वाद्य वाद्यनका साधनहरूबारे जानकारी दिने कार्य संगै बजाएर देखाउने लगायतका कार्य गरिएको उनले बताए।

‘माघीका बेला देखाइने परम्परागत नृत्य मघौटा, झुम्रा र छोकरा लगायतको मौलिक पक्षबारे नयाँ पिढीलाई जानकारी थोरै छ’ सुरेश चौधरीले भने, ‘जानकारी अपूरो छ, त्यसैले यसको मौलिक पक्ष सिकाउने कार्य माघीका अवसरमा आयोजना हुने कार्यक्रमले सिकाएका छन्।’

‘माघीका बेला आयोजना हुने नृत्यमा पैशा लुटने कुराको थाहा थिएन’ युवा प्रविन चौधरीले भने, ‘पहिला माघीका बेला नृत्य देखाउन आउनेका लागि घरको ढोका अगाडी दरी वा कुनै कपडा विछाउने गरेका रहेछन, त्यसमा पैशा राखेर नृत्य गर्न आउनेले उल्टो फर्केर आँखाको परेलाले र मुखले पैशा उठाउने गर्दा रहेका छ, त्यो कुरा कार्यक्रमका क्रममा देख्न पायौं।’

 मघौटा नाचका क्रममा गाईने गीत दाजु भाई दिदि बहिनी विचको स्नेहलाई दर्शाउने र डफ बजाएर गाईने गीतमा विवाहीता  महिलाको प्रेम प्रसंगलाई प्रस्तुत गर्ने कुरा पनि कार्यक्रमै माध्यमबाट सिकेको उनी सगर्व सुनाउछन्।

बाह्य संस्कृतिको प्रभावका कारण युवा युवतीहरूले परम्परागत भेषभूषा बिर्षदै जान थालेका थिए। सांस्कृति कार्यक्रम आयोजना हुन थालेपछि पुराना पहिरन र गहना पुनः युवा युवतीले लगाउन थालेको थारु समुदायका अगुवाहरूको भनाइ रहेको छ।

जनचेतनाको बढदो प्रभावका कारण महिलाहरूले लगाउने गोन्य, चोल्या,लहङगा, पुरुषहरूले लगाउने भेगवा,अंगुच्छा, कुर्ता, धोतीको प्रयोग सांस्कृति पर्व र कार्यक्रमहरूले युवा पीढीहरूले लगाउन थालेका छन।

‘दशैंमा देखाईने सखिया नृत्यको मौलिकता हराएको थियो, बुढापाकाहरूबाट युवाहरूले सिकेर प्रत्येक वर्ष आजभोली परम्परागत रुपमै आयोजना गरिन लागेको छ’ धन बहादुर कुश्मीले भने, ‘निकै प्रयास पछि संस्कृति प्रतिको मोह युवा पिढीमा जगाउन सकेका छौं।’

 बुढापाकाहरूबाट बनाउन सिकेर बनाउने पनि गरेका छन। केहीले व्यवसायीक रुपमा परम्परागत रुपमा लगाउने कपडा तयार गरी बेच्ने कार्य गरेर यसबाटै जीविका चलाउन थालेका छन। परम्परागत रुपमा महिलाले लगाउने कुन्दल, कनैली, नथिया,नङफुली,ककना, पछुवा, चुड,सिक्री, बाजु, बाँक लगायत हराउन थाले थिए। ती गहना सुन, चाँदी र गिलटबाट बनेका हुन्छन्।

हाल थारु युवतीहरूले पुराना गहना खोजी खोजी चाडपर्वमा लगाउने गरेको रामप्रसाद चौधरीले बताए। ‘आर्थिक सम्पन्नता भएकाहरूले पुराना गहना तयार गर्न लगाएर पनि लगाउने गरेका छन’ उनले भने, ‘आर्थिक विपन्नता भएकाहरूले पुर्खै देखि चल्दै आएका घरमा उपलव्ध गहना लगाउने गरेका छन, पहिला चेतना नहुँदा गहनाको प्रयोग हुदैनथ्यो, हाल सबैले गहनाको खोजी गरी संरक्षण गर्न थालेका छन्।’

 स्थानीय तहका जनप्रतिनिधि आएपछि पुरानो रहनसहन, संस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पुगेको थारु समुदायको भनाई छ। परम्परागत संस्कृति जोगाउनका लागि वडा स्तरमै बजेट विनियोजन गरी कार्यक्रमहरू आयोजना हुन थालेपछि थारु संस्कृतिको प्रचारप्रसार र जगेर्नामा टेवा पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.