|

काठमाडौं : नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकीकरणको प्रक्रिया अगाडि बढेको छ। तीनवटै दलहरूले वार्ता टोली गठन गरिसकेका छन्। 

टोलीमा माओवादीबाट कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला साथै जसपाबाट अशोक राई र राजेन्द्र श्रेष्ठलगायत नेता छन्। उनीहरूबीच निरन्तर छलफल र संवाद अगाडि बढिरहेको महासचिव बेदुराम भुसालले जानकारी दिए। 

सैद्धान्तिक, सांगठनिकसंरचनागत विषयमा छलफल चलिरहेका छन्। हामीले अहिले तीनवटै दलहरूको प्रतिवेदन अध्ययन गरिरहेका छौं। यी सबै विषयमा सहमति भएपछि एकता हुन्छ,’ भुसालले थाहाखबरसँग भने। 

उनले माओवादी केन्द्र कम्युनिष्ट पार्टी भएकाले एकता सम्भव भए पनि जसपासँग गहन छलफल गर्नुपर्ने बताए। 

‘माओवादी केन्द्र र हामी (एकीकृत समाजवादी पार्टी) नेकपा कालमा एक भएका दल हौं। अदालतले नेकपा भंग गरेपछि माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किए। हामी नेकपा बोकेर बस्यौं। माओवादी र हामी कम्युनिष्ट दल भए पनि जसपासँग फरक छ। ज्सपा समाजवादी पार्टी भएकाले लामो समय छलफल चलाउनुपर्ने देखिन्छ,’ महासचिव भुसालले भने। 

जसपा प्रवक्ता मनीषकुमार सुमनले सैद्धान्तिक विषयमा सहमति नभए मोर्चा मात्रै बनाएर अघि बढ्ने बताए। 

‘समितिले एक अर्काको दस्तावेज अध्ययन गरिरहेको छ। विचार, एजेण्डा मिले एकता हुन्छ नभए मोर्चा गरेर जान्छौँ। अहिले नै गठबन्धन बनिसकेको छैन,’ उनले भने। 

प्रवक्ता सुमनले आफूहरू सरकारमा जाने नजाने विषयमा अलमलमा रहेको, माओवादी सत्तामा रहेको र एकीकृत समाजवादी पार्टी प्रतिपक्षी दल रहेकाले तत्कालै सहमतिको सम्भावना नरहेको बताए। 

प्रतिनिधिसभामा माओवादीसँग ३२, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट छ। 

दल विभाजनको इतिहास

व्यक्तिगत स्वार्थ पूरा नभएपछि नयाँ दल खोल्ने चलन पछिल्लो समय बढ्दै गएको छ। राष्ट्रियता, विकास, समृद्धि, जनजिविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने दलहरू पछिल्लो समय टुटफुटमा रमाउन थालेका छन्।

७५ वर्षे इतिहास बोकेका पार्टी हुन वा १० वर्षे जनयुद्ध, मधेश आन्दोलनले जन्माएका दल सबै फुटको शृङ्खलाबाट जोगिन सकेनन्।

वि.सं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीदेखि २००७ सालमा खुलेको नेपाली कांग्रेस, १० वर्षे जनयुद्ध लडेको नेकपा माओवादी, ०६२/०६३ सालमा भएको मधेश आन्दोलनपछि उदाएका मधेशवादी दलहरू विभाजनबाट अछुतो रहन सकेनन्। 

अस्तित्व जोगाउन शरण

राजनीतिक दलहरू विभाजनको पाटो केलाउने हो भने व्यक्तिगत स्वार्थ हावी भएको देखिन्छ। यसको प्रत्यक्ष उदाहरण बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र मधेशवादी दलहरू छन्।

उनीहरूले दल र व्यक्तिगत संकट टार्न पुनः एकताको नारा घन्काउन थालेका छन्। 

नेताहरूबीच पार्टीमा देखिएको अन्तरसंघर्ष र व्यक्तिगत स्वार्थ नै प्रमुख कारण रहेको राजनीतिक जानकारहरूको दाबी छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले दल विभाजन जनताको एजेण्डामा केन्द्रित नभई व्यक्तिगत स्वार्थमा फुटाउने र अस्तित्व संकटमा पर्न थालेपछि एकीकरण गर्ने परम्परा बनेको बताउँछन्।

‘व्यक्तिगत र पार्टीगत स्वार्थ हाबी भएको देखिन्छ। जनताको एजेण्डामा दलहरू सिरियस भएको देखिँदैन। आफ्नो अस्तित्व संकटमा परेपछि संकट बचाउन नियमित एजेण्डा र आवश्यकताअनुकूल एकीकरण गर्ने परम्परा बसेको छ,’ उनले भने। 

शर्माले माओवादी, जसपा र एकीकृत समाजवादीबीच हुन लागेको एकीरणलाई पनि सोही रूपमा अर्थ्याएका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड आफू निर्णायक बन्न र उपेन्द्र यादव र माधव नेपालले आफ्नो अस्तित्व संकटमा पर्न थालेपछि अरूको सहारा खाजेका हुन्। 

कुन दल कतिपटक फुटे?

नेपाली कांग्रेस

प्रजातन्त्र स्थापनासँगै उदाएको नेपाली कांग्रेस ००९, ०४६ र ०५९ मा गरी तीनपटक फुट्दै र जुट्दै गरिसकेको छ।  ०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सभापति गिरिजाप्रसाद कोइरालाको टकरावले कांग्रेस विभाजन भयो। संकटकालको समयावधि थपेपछि कारबाहीमा परेका देउवाले नयाँ दल कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। ०६४ मा कांग्रेसबीच पुनः पार्टी एकता भयो।  त्यसयता पनि पार्टीमा विभिन्न समयमा आन्तरिक विवाद रहे पनि विभाजनको अवस्थामा भने पुगिसकेको छैन।

नेकपा एमाले

कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्षको इतिहासमा नेकपा एमालेको टुटफुटको शृङ्खला छुट्टै छ। विभिन्न समयमा साना कम्युनिष्ट दलहरू मिलेर अघि बढ्ने क्रममा ०४६ मा  माले र मार्क्सवादीबीच पार्टी एकता भएर नेकपा (एमाले) बन्यो। एमालेको महासचिव मदन भण्डारी भए। ०५४ मा महाकाली सन्धिलाई लिएर नेकपा (एमाले)मा विभाजित बन्यो।  

०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुट्यो। त्यतिले मात्रै एमालेको विभाजन यात्रा रोकिएन ०७८ भदौमा माधव नेपालको नेतृत्वमा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भयो। 

माओवादी केन्द्र

१० वर्षे जनयुद्धबाट अघि बढेको माओवादीको इतिहास पनि फुटरहित रहन सकेन।

०४५ मा नेकपा (मसाल)को सम्मेलनबाट प्रचण्ड महामन्त्री बने। उक्त सम्मेलनले माओवाद पास गर्दै दीर्घकालीन जनयुद्धको कार्यदिशासमेत पास भयो।

०५२ फागुन १ मा सशस्त्र आन्दोलनको घोषणा र २०५८ साउन ८ गते युद्धविराम भई वार्ताको प्रक्रियामा माओवादी प्रवेश गर्‍यो। ०५९ माघ १५ गते दोस्रोपटक युद्धविराम भयो। 

०६३ को युद्धविराम घोषणापछि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादी ०६४ को पहिलो संविधानसभा निर्वाचनमा लोकप्रिय मतसँगै पहिलो दल बन्‍यो। यसै सन्दर्भमा विगत हिंसात्मक आन्दोलन पूर्व टुक्रिएर गएको नेकपा (एकताकेन्द्र–मसाल) र नेकपा (माओवादी को बीचमा २०६५ पुस २९ गते पार्टी एकता भयो। 

०६९ असारमा एकीकृत (माओवादी)बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। उक्त समूहमा रामबहादुर थापा बादल पनि गए। 

त्यस्तै, वैद्यको साथमा रहेका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरे। वैद्यसँग आन्तरिक विवाद बढ्दै गएपछि विप्लवले पनि नेपाल कम्युनिष्ट पार्टी गठन गरे।

वैद्य र विप्लवले ०७० देखिका संसदीय निर्वाचन बहिष्कार गर्दै आएका छन्।

०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान घोषणासँगै माओवादीको फुटको शृङ्खला जारी रह्यो। ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरे। ०७३ मा वैद्य समूहबाट बादल पनि फर्किएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो। ०७९ को निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरी कुल ३२ सिट ल्याएको छ।

नयाँ शक्तिदेखि नेसपासम्म

०४२ सालदेखि राजनीतिमा प्रवेश गरेका डा. बाबुराम भट्टराईले तेस्रोपटक नयाँ दल दर्ता गरेका छन्। ०७३ मा नयाँ शक्ति पार्टी नामक दल गठन गरेर माओवादी छोडेका उनी मधेश केन्द्रित दल जनता समाजवादी पार्टीसँग एकता गर्दै अहिले आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गरिसकेका छन्।

०७६ वैशाखमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) मा तीन वर्षमै दरार उत्पन्न भयो।

पार्टीको नेतृत्वलगायत विषयमा विमति जनाएका बाबुरामले गत साउनमा नेपाल समाजवार्टी पार्टी गठन गरे। वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका भट्टराई अहिले नेकपा माओवादी केन्द्रमा फर्किने मनस्थितिमा पुगिसकेका छन्।   

मधेशवादी दल 

मधेशवादी दलको पनि सत्ता स्वार्थका लागि टुट्ने र फुट्ने क्रम उस्तै छ। ०४७ पछि जन्मिएका मधेशवादी दलहरू लगातार सत्ता केन्द्रित छन्। तर, जनताको मुद्धामा गम्भीर बनेको देखिँदैन। 

गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना परिषद्देखि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले टुटफुटको लामो शृङ्खला बोकेका छन्। सद्भावना पार्टी १२ वर्ष (२०५८–२०७०)को अवधिमा ९ पटक विभाजित भयो। यता, ०५६ मा खुलेको उपेन्द्र नेतृत्वको फोरम ०६४ मा मात्रै उदायो।

महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीसहित ६ वटा मधेश केन्द्रित दलहरूबीच ०७४ मा एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भयो। सत्ता स्वार्थका कारण पुनः ०७७ मा यादव नेतृत्वको समाजवादी पार्टी र राजपाबीच एकता भयो। उक्त एकतापछि जनता सामाजवादी पार्टी (जसपा) गठन भयो। पार्टीभित्र देखा परेको चरम विवादका कारण उक्त दल पनि लामो समय जान सकेन। ठाकुरले ०७८ भदौमा लोसपा नेपाल गठन गरे। प्रतिनिधिसभामा लोसपाको ४ सिट छ।

राप्रपाको विगत र वर्तमान

राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहास पनि टुटफुटले भरिपूर्ण छ। ०४७ जेठ १५ गते एकैदिन राप्रपा चन्द र राप्रपा थापा नामका दुईटा पार्टी खुले। २०४८ सालको संसदीय चुनावमा दुबै राप्रपा बढारिए। अन्तत २०४९ सालमा दुवै पार्टी एक भएर राप्रपा बन्यो।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। फेरि चन्दलाई विस्थापित गरेरसूर्यबहादुर थापा प्रधानमन्त्री बने। दुई बहादुरबीच सत्ता स्वार्थका कारण २०५४ मा फेरि राप्रपा फुट्यो। राप्रपा चन्द नाम दिइएको उक्त पार्टीले ०५६ सालको निर्वाचनमा एक सिट पनि जितेन। आफ्नो अस्तित्व जोगाउन ०५७ सालमा दुबै पार्टी एक भए। २०६२ पुष राप्रपाको अध्यक्ष कमल थापा भए।

निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन। त्यसपछि त्यो समूह राप्रपा नेपाल नामकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो।  राप्रपाबाट संस्थापक अध्यक्ष सूर्यबहादुर थापा अलग भई राष्ट्रिय जनशक्त्ति पार्टी गठन गरे। पहिलो संविधानसभा चुनावमा ३ सिट हात पारेको जनशक्त्ति पार्टी र पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपाबीच ०७० मा एकता भयो।

०७३ मा  फेरि राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भयो। ०७३ चैतमा पुन राप्रपा विभाजित भयो।

डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे भने पशुपतिशमशेरले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे। दुई पार्टी पनि एक भएर राप्रपा संयुक्त बन्यो। वृद्ध नेताले पार्टी चलाउन नसक्ने भन्दै फेरि कमल थापा नेतृत्वको राप्रपा र राप्रपा संयुक्त मिलेर राप्रपा बन्यो।

तर, गत वर्षको मंसिरमा राजेन्द्र लिङ्देन अध्यक्षमा चयन भएपछि असन्तुष्ट बनेका कमल थापा पार्टी नै छोडेर हिँडे। उनले राप्रपा नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उनको दलले एक सिट पनि जित्न सकेन। यता, लिङ्देन नेतृत्वको राप्रपाको भने हाल प्रतिनिधिसभामा १४ सिट छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.