|

इलाम : ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ फागुन २३ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले २०६० सालदेखि निरन्तर आयोजना गर्दै आएको अवार्डको १९ औ संस्करण हो।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्डमा २०७८ भर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिनेछ। अवार्ड कार्यक्रमलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गरेको छ। हंशराज हुलासचन्दसँग मञ्चसँग विगत १४ वर्षदेखि सहकार्य गर्दै आएको छ।

सोमबार नै एनएसजेएफ र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिबीच मुख्य प्रायोजनका लागि थप पाँच वर्षका लागि नयाँ सम्झौता भएको छ। सम्झौतापत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र हंशराज हुलासका तर्फबाट प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन्।

यस वर्षको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उत्कृष्ट खेलाडी युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेका छन्।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्दै आएको थियो। तर, यसपटकबाट वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गर्ने मञ्चले जनाएको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्। 

अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा ‘खेलाडी छनोट समिति’ गठन गरिएको छ।

कोभिड संक्रमणका कारण खेलकुद गतिविधि ठप्प भएपछि मञ्चले गत वर्षको अवार्ड दशक वर्षका रुपमा मनाएको थियो। जसमा पुरुषतर्फ क्रिकेटका पारस खड्का, महिलातर्फ फुटबलकी सावित्रा भण्डारी र प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटाले अवार्ड जितेका थिए।​ पिपल्स च्वाइसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले जितेकी थिइन्।

त्यसैगरी स्पेशल अवार्डतर्फ डाक्टर अजय राणा र लामो दूरीकी धाविका पुष्पा भण्डारी, पारा एथलेट सम्मानमा सरिता थुलुङ, एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड कुवेतका सत्ताम अल सेल्ही र लाइफटाइम एचिभमेन्ट अवार्ड स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.