|

ललितपुर : पल्सर स्पोर्टस् अवार्डको यो संस्करणमा खेलाडी तथा प्रशिक्षकले पाँचवटा मोटरसाइकल पुरस्कार पाउने भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को आयोजनामा आगामी फागुन २३ गते हुने पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा थप एक विधामा समेत मोटरसाइकल पुरस्कार दिइने भएको हो। 

यो पटक वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस गरी कुल पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई मोटरसाइकल प्रदान गर्दै आएको थियो। यो पटक वर्षका युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गर्ने मञ्चले जनाएको छ।

मुख्य प्रायोजकका रूपमा पुन: हंसराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि मञ्चले नवीकरण गरेको छ।  कम्पनीसँग मञ्चको ​१४औँ वर्षको सहकार्य हो। सोमबार सम्झौता पत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र हंसराज हुलासका तर्फबाट प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्। 

एनएसजेएफको अवार्ड कार्यक्रममा निरन्तर जोडिन पाएकोमा गोल्छाले खुसी व्यक्त गरे। ‘अवार्डको १४ वर्षसम्म एक महत्त्वपूर्ण भाग हुन सफल भएकोमा हामी निकै खुसी छौँ’,सम्झौता पत्रमा हस्ताक्षर गरेपछि गोल्छाले भने, ‘हामी पल्सर परिवारका लागि यो गौरवको विषय हो।’  

९ विधामा अवार्ड प्रदान गरिने यो वर्षको अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डका विजेताले जनही ५० हजार रुपैयाँसहित ‘गिफ्ट ह्याम्पर पाउनेछन्। 

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसगरी कुल पाँच विधाको मनोनयनका लागि मञ्चको ‘खेलाडी छनोट समिति’ले आवश्यक तयारी सुरु गरिसकेको महासचिव प्रज्वल ओलीले बताए। मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलेट र एसियन स्पोर्टस् जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिन गरिनेछ।

अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी  हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताए।

अवार्ड कार्यक्रमसफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै विभिन्न उपसमिति गठन गरेको मञ्चले जनाएको छ। सचिव अञ्जन खड्काको संयोजकत्वमा ‘खेलाडी छनोट समिति’ गठन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.