'काम देखाउन सकिनँ भने राजनीति छोडिदिन्छु'

|

काठमाडौं : मध्य उत्तरी गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष निर्वाचित सन्तोष गुरुङ (सन्तबहादुर) ले पहिलो बैठकबाट निर्णय गराए– 'विशेषज्ञसहितको प्राविधिक टोलीले सबैलाई पायक पर्ने भनी पहिचान गरेको ठाउँमा गाउँपालिकाको केन्द्र राख्ने।' यो निर्णय लिएर उनी जेठ ११ गते जिल्ला सदरमुकाम आउने तयारी गर्दै थिए। उनलाई एउटा अप्ठेरो आइलाग्यो।

गुम्दा गाउँमा दुई जना महिलालाई प्रश्रव व्यथाले च्यापेको थियो। गाउँलेले नवनिर्वाचित अध्यक्षसँग नै गुहार मागे- अस्पताल लगिदिनुपर्‍यो। 

'मलाई हत्ते आइलाग्यो, ल लैजा (गर्भवतीको उपचारका लागि) भने। नलैजाउँ भर्खर भोट दिएर जिताएका छन्, लैजाउँ भने कहाँ लैजाउँ?' उनी अप्ठ्यारोमा परे।

सदरमुकामदेखि झण्डै ७० किलोमिटर टाढाको यो गाउँपालिकामा न राम्रो स्वास्थ्य संस्था छ, न उपचार गर्ने स्वास्थ्यकर्मी नै। दुई वर्षअघि ट्र्याक खुलेको सडकमा मिनी ट्रक जान थालेको थियो। धन्य ! ट्रक आइपुगेको बेला परेछ। त्यही ट्रकमा गर्भवतीलाई राखेर सदरमुकामतर्फ ल्याउने व्यवस्था मिलाए। सदरमुकामबाट भरतपुर पठाए। तीमध्ये तीर्थमाया सुनारले छोरी जन्माइन् भने अनार्द गुरुङले छोरा पाइन्।

सन्तोषले सोचे- आफू भएको बेला यस्तो समस्या देखियो र जसोतसो समाधान गरियो। यस्ता घटना अरु बेलामा पनि पर्छ। त्यसैले उनको अर्को काम पनि थपियो एम्बुलेन्स लैजाने। 'अब चाँडैभन्दा चाँडै एम्बुलेन्स चाहियो, सरकारले दिन्छ कि डोनरले दिन्छ, नभइ भएन', उनले भने, 'उपाध्यक्षलाई सीडीओको सिफारिस लिन पठाएको छु।' 

000

सन्तोष भूगर्भविदसहितको प्राविधिक टोली लिन पहिला जिल्ला समन्वय समितिको कार्यालय पुगे। समन्वय समिति कार्यायलले स्थानीय विकास मन्त्रालयलाई लेखिदियो। स्थानीय विकास मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई। 'हेरौं, उसले के गर्छ !' काठमाडौंको गोंगबुमा बुधबार थाहाखबरसँगको भेटमा उनले भने। 

भूकम्पका कारण धेरै ठाउँमा जमिन चिरिएका छन्, अहिलेको केन्द्र आउन कुनै गाउँबाट एक दिनमा पनि आइपुगिदैन। त्यसैले उनी भौगर्भिक रुपमा बलियो र सबै गाउँलेलाई पायक पर्ने ठाउँमा गाउँपालिकाको केन्द्र राख्न चाहन्छन्।  

सन्तोषको अर्को जोड छ - गाउँपालिकाको दुई ठाउँमा मोबाइल टावर राख्ने। यो काम वर्षायाम अगाडि नै गरिसक्नुपर्नेछ। वर्षा लागेपछि गाउँको मोटरबाटोमा गाडी गुड्दैन। पैदलयात्राबाट सामान लैजान सकिँदैन। धार्चे गाउँपालिकाको धेरै ठाउँमा मोबाइलले काम गर्दैन। केही ठाउँमा सीडीएमए मोबाइलले काम गरे पनि त्यसको गुणस्तर राम्रो छैन।

'केरौंजा र उहियामा तत्काल टेलिफोन टावर राख्न सकियो भने सञ्चारबाट विमुख भइँदैन। छिटै यो काम गरेन भने वर्षा लागिहाल्छ, वर्षामा कहाँ के हुन्छ भन्ने पनि थाहा हुन्न', उनले भने। वर्षायाममा पहिरोको धेरै जोखिम हुने भएकाले कुनै दुर्घटना भयो भने पनि थाहा हुँदैन।

000

जेठ १३ गते काठमाडौं आइपुगेका सन्तोषसँग बुधबार दिउँसो भेट भयो। उनले खल्तीबाट एउटा पर्चा निकाले र भने- 'मेरो प्रतिवद्धता यस्तो थियो क्या।'

लेखिएको थियो- धार्चे गाउँपालिकाको विकास र प्रगतिको लागि नेपाली कांग्रेसको योजना एवं सोँच। जसमा १४ वटा बुँदा उल्लेख गरिएको छ। ती मध्ये केही बुँदा कार्यान्वयनका लागि उनले पहल थालिसके।

'केही बुँदा करेक्सन गर्नुपर्नेछ', सन्तोषले भने।

पहिलो बैठकको निर्णयमा उनले धार्चे गाउँपालिकालाई विशेष स्वायत्त क्षेत्र बनाउन पहल गर्ने पनि लेखेका छन्। त्यसका लागि संसदमा आवाज उठाइदिन माननीयहरुलाई भन्न पनि आएका हुन् काठमाडौंमा।

हुन त विशेष स्वायत्त क्षेत्र घोषणा गरेपछि के हुन्छ उनले बुझ्न भ्याएका छैनन्। 'विशेष स्वायत्त क्षेत्र घोषणा स्थानीय विकास मन्त्रालयले गर्ने हो कि क्याबिनेट डिसिजन नै चाहिन्छ?' उनले प्रश्न गरे, 'विशेष क्षेत्रको नर्म्स (मापदण्ड) राजपत्रमा आएको छ रे हेर्न पाएको छैन।'

स्वायत्त क्षेत्र घोषणा गर्नु भनेको त्यस क्षेत्रलाई दुर्गम क्षेत्रको पहिचान दिनु हो जस्तो लागेको छ सन्तोषलाई। दुर्गम क्षेत्र भएकाले सुगमकै सेवा सुविधामा कर्मचारी पनि बस्न मान्दैनन्, दुर्गम भन्यो भने कर्मचारीको भत्ता पनि पाउँछन्, त्यसपछि उनीहरु बस्न मान्छन्। विकास निर्माणको रकम पनि बढी आउँछ भन्ने सन्तोषको बुझाई छ। 

000

२०५४ सालको स्थानीय निर्वाचनमा सन्तोष गुरुङ तत्कालीन लाप्राक गाविसको अध्यक्ष निर्वाचित भएका थिए। ५ वर्ष गाविस सचिवको काम गरेका उनी स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित भए। उनले त्यही बेला लाप्राकमा माध्यमिक विद्यालय सञ्चालन गरे, लघु जलविद्युत आयोजना निर्माण गरे, गाउँमा टेलिफोन समेत पुर्‍याए, स्वास्थ्य चौकी पनि निर्माण गरे। तर उनले पूरा कार्यकाल काम गर्न पाएनन्।

तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कारण उनी गाउँबाट विस्थापित भए। उनलाई ६/७ बुँदाको आरोप लगाएर माओवादीले गाउँमा नबस्न धम्की दियो। उनी विस्थापित भएर काठमाडौं आए।

'मलाई मार्न त मार्थेनन् होला तर अपाङ्गचाहिँ बनाउँथे', उनले विगत सम्झिए 'म सँगै अध्यक्ष भएका चार जना साथीहरुलाई मैले गाउँ नजानुस् हामीले गल्ती नगरे पनि सुराकीको आरोप लगाएर पनि मार्छन् भनेको थिएँ मान्नुभएन।'

उनी २०५७ सालमा काठमाडौं आएर दिदी र भान्जाको घरमा बस्न थाले। काठमाडौं बस्न थालेको पनि १६ वर्ष भइसकेछ। अहिले धेरैले सोच्दा रहेछन्- सन्तोष काठमाडौं बसेर धेरै पैसा कमायो, घर बनायो, अब गाउँ के फर्किएला र?

तर उनी अहिले पनि डेरामा नै बस्छन्। 'धेरैले यसको काठमाडौंमा केही होला भन्छन्', उनले भने, 'तर म सँग केही छैन, कहिले शान्ति आउला र गाउँ जाउँला भन्ने एउटै ध्यान थियो।' यही सोचाईले उनलाई विदेश जान रोक्यो। 'नभए म जापान, युएस जहाँ पनि जान सक्थेँ, अफरहरु पनि आएका थिए तर म नेपालमै केही गर्न सकिन्छ भनेर आशावादी भएर बसिरहेँ।'

शान्ति प्रक्रिया सुरु भएदेखि नै गाउँ आवतजावत बढाएका सन्तोष अब भने स्थायी रुपमा नै गाउँ फर्किने तयारीमा छन्। त्यही योजनासाथ उनी धार्चे गाउँपालिकाको चुनाव लडे। उनले नयाँ शक्ति पार्टीका उम्मेदवार लक्ष्मण गुरुङलाई जम्मा ६९ मतले पराजित गरेर अध्यक्ष निर्वाचित भए। सन्तोषले १७०७ मत ल्याए भने लक्ष्मणले १६३८, तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवारले ११२८ मत ल्याए।

सन्तोषले बुझेका छन् उनी चुनाव जित्ने भन्दा पराजित हुनेहरुको मत धेरै छ। 'अंङ्कगणित रुपमा हेर्दा उनीहरु अगाडि छन्। त्यसैले चुनाव जितेको उन्माद देखाउन मिल्दैन', उनले भने, 'केही गरेर देखाउन सकेन भने हामी सफल लिडर हुँदैन' सन्तोष भन्छन्। त्यसका लागि उनले केही योजनाहरु पनि बनाएका छन्।

आफ्नो सफलता पाँच वर्षपछिको गाउँको अवस्थाले देखाउने उनी बताउँछन्। अहिले धार्चे गाउँपालिकाको जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) कति छ पत्ता लगाउनु छ। अनि पाँच वर्षपछि कति हुन्छ?' उनी भन्छन् 'गरिबी निवारण गर्न सकेँ भने म सफल लिडर नभए असफल। सफल भए फेरि लड्छु असफल भए राजनीति छोडिदिन्छु' उनले भने।

गोरखाको लाप्राक, गुम्दा, उहिया, काशीगाउँ, केरौंजा र लापु गाविस समावेश गरेर धार्चे गाउँपालिका निर्माण गरिएको हो। गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँपालिकाका केही गाउँमा भर्खरै मोटरबाटो पुगेको छ। अधिकांश गाउँ जान अझै पैदल हिँड्नुको विकल्प छैन। गरिबीको ठूलो समस्या रहेको यस ठाउँको विकासका लागि सन्तोषले एक पछि अर्को योजना ल्याउने सोचाइ बनाएका छन्।

सबैभन्दा पहिले उनी गाउँमा लगानीकर्ताको भ्रमण गराउन चाहन्छन्। 'स्वदेश र विदेशमा रहेका साथीहरुलाई उनले नेपाली र गैर आवासीय नेपाली लगानीकर्तालाई धार्चे भ्रमण गराइदिन भनेका छन्। 'एक पटक डोनरहरुलाई धार्चे भिजिट गराइददिनुस् भनेको छु, त्यहाँ के कस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ पहिचान गर्नुपर्‍यो, लगानी गर्न चाहनेको हामी लगानी सुरक्षाको ग्यारेन्टी गरिदिन्छौं' उनले भने।

गाउँपालिकामा पर्यटन, जडिबुटी, पशुपालन र फलफूल खेतीको सम्भावना उनले देखेका छन्। 'अन्न खेती गर्न यहाँको ठाउँ ठीक छैन, माथिल्लो बेल्टमा फापर खेती र तल्लो बेल्टमा कागती खेती गर्न सकिन्छ' उनले भने।

गाउँपालिकाका विभिन्न खोलाबाट ५ मेगावाट भन्दा बढी बिजुली निकाल्न सकिने सम्भावना छ। त्यसका लागि थ्री पी (सार्वजनिक निजी साझेदारी) मोडलमा बिजुली निकाल्ने योजना छ उनको। त्यसका लागि पनि लगानीकर्तालाई धार्चे भ्रमण गराउन चाहन्छन्।

गाउँलेलाई उद्यमी बनाउने

सन्तोषले गाउँका मान्छेलाई उद्यमी बनाउने योजना बनाएका छन्। त्यसअघि गाउँपालिकाको  जनसंख्याको तथ्याङ्क लिँदैछन्। कति मान्छेसँग के सीप छ, कति बेरोजगार छन्, उनीहरु के गर्न चाहन्छन् सबै तथ्याङ्क लिएपछि व्यवसाय गर्न इच्छुकलाई तालिम दिने र सिड मनी (बीउ पूँजी) गाउँपालिकाले दिने सन्तोषको योजना छ।

हिजोआज त्यस क्षेत्रका धेरै मानिसहरु जीविकोपार्जनकै लागि गाउँबाहिर छन्। कोही पर्यटन क्षेत्रमा मजदुरी गर्छन्, कोही काठमाडौंमा  जागिर र व्यापार गर्छन्, कोही विदेशमा छन्। राम्रो वातावरण भएमा उनीहरु गाउँ फर्किने सन्तोषको बुझाइ छ।

'इन्टरनेट, प्राथमिक उपचारको लागि अस्पताल र रोडको एक्सेस हुने हो भने धेरै मान्छे गाउँमै रमाउँछ', उनले भने, 'मैले मोबाइल टावरमा जोड दिनुको कारण यो पनि हो। अब म पनि गाउँमै बस्नुपर्‍यो। मलाई त देश विदेशमा के भइरहेको छ जान्न मन लाग्छ। टेलिफोन र इन्टरनेट भएन भने त म पनि गाउँमा बस्न सक्दिन नि।'

गाउँपालिकाको प्रत्येक वडामा एउटा व्यवस्थित होमस्टे बनाउने सन्तोषको योजना छ। 'यो विदेशीका लागि होइन, हामी नेपालीकै लागि हो', उनले भने, 'हामी गाउँ घुम्न गएको बेला बस्नुपर्‍यो, एनजिओ आइएनजिओका मानिसहरु आइरहन्छन्, त्यसैबाट होमस्टे चल्न सक्छ।'

गोरखा भूकम्पको दुई महिनामा गुम्दाको एउटा होटलले डेढ लाखको व्यापार गरेको उनैले देखे। 'त्यो ठाउँमा एउटा होटलले डेढ लाखको ब्यापार गर्नु नट अ जोक, त्यसले पनि हरेक गाउँमा व्यवस्थित होम स्टे चल्ने देखेको छु', उनले भने। तालिम र पूर्वाधार निर्माणमा आर्थिक सहयोग गरेर दुई वर्षभित्रमा होम स्टे निर्माण गरिसक्ने उनको योजना छ।

सन्तोषलाई सन्देह छ- अर्थमन्त्रीले बजेटमा घोषणा गरेको रकम साँच्चै गाउँपालिकामा जाला? 'त्यो पैसा दिनलाई नै भनेको कि त्यसै भनेको?', उनले प्रश्न गरे। उनको गाउँपालिकाले २१ करोड रुपैयाँ पाउने भएको छ। यो रकम पाएमा गाउँमा केही विकासका काम गर्न सकिने उनको योजना छ।

गाउँपालिकाको अध्यक्षले कति तलब भत्ता पाउँछ पनि उनलाई थाहा छैन। तर चुनाव प्रचारका क्रममा पहिलो महिनाको भत्ता एक युवकलाई दिने घोषणा गरिसकेका छन्। 'यस्तो दर्दनाक अवस्था देखेँ, म रोएँ पनि। उसको दुई वटा बुढी रहेछ, दुई तीन जना छोराछोरी। भूकम्पमा मेरुदण्ड भाँचिएर उठ्न नसक्ने। २४ घण्टा सुतिरहने। मेरो पहिलो दुई महिनाको भत्ताको आधा रकम उसको जीविकोपार्जनका लागि के गर्न सकिन्छ म गर्छु, सबै दिन त मलाई पनि खर्च चाहियो।'

बस्ने ठाउँको ठेगान छैन

गाउँपालिकाको अध्यक्ष भए पनि सन्तोषको घर छैन। लाप्राकमा उनी र उनको दाजुको सगोलको घर थियो, त्यो भत्कियो। अहिले लाप्राक गाउँका सबै भूकम्पपीडितको घर गैर आवासीय नेपाली संघले बनाइदिँदैछ। तर त्यसमा सन्तोषको घर पर्दैन।

'अहिले गाउँपालिकाको केन्द्र नै कहाँ बनाउने टुंगो छैन। भोलि अफिससँगै क्वार्टर पनि बन्ला नि', उनले भने।

क्वार्टर नबनुन्जेल उनी एक दुई दिन गरेर मतदाताकै घरमा बस्ने योजनामा छन्। 'सुरुको दुई महिनाजति मतदाताकै घरमा बस्छु, बरु चामल, तरकारी लगिदिन्छु' सन्तोषले भने।

१५ वर्ष काठमाडौंमा बसे पनि उनलाई गाउँमा बस्न अप्ठेरो लाग्दैन। 'म एडजस्ट गर्न सक्छु। म नेता भन्दा पनि सामाजिक कार्यकर्ता भन्न रुचाउँछु। सामाजिक कार्यकर्ताले मिठो नमिठो, राम्रो नराम्रो भन्न मिल्दैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.