|

धनगढी : नेपालका दुर्गम जिल्लामध्ये बाजुरा पनि एक हो। जहाँ अहिलेसम्म पनि संविधानले नै ग्यारेण्टी गरेकाे स्वास्थ्य सेवा नपाएर नागरिकहरूले अकालमा ज्यान नै गुमाउनुपर्ने बाध्यता छ।

पछिल्लो समय विकास अलिक बढे पनि बाजुराका कयौं दुर्गम बस्तीमा भने अझै नागरिकहरूको जीवन कष्टकर छ। बाजुराका दुर्गम बस्तीहरूमा बर्सेनि गर्भवती महिलाले कहिले उपचार अभाव त कहिले समयमा अस्पताल पुग्न नसकेरै पनि अकालमै ज्यान गुमाउने गर्दछन्। 

फेरि साेही घटना बाजुरामा दाेहाेरिएकाे छ। स्थानीय प्रशासनका अनुसार सोमबार राति बाजुराको बडिमालिका नगरपालिकाकी एक गर्भवती महिलाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ।

जिल्लाको बडिमालिका नगरपालिका–१ पिनालेखका रमेश बिककी श्रीमती २६ वर्षीया जानकी विकको बाटोमै ज्यान गएको हो। उनी गर्भवती थिइन्। गत शनिबार जानकीलाई बिसन्चो महसुस भएको थियो। उनले आफ्नो पेट दुखेको बताएपछि जाँचका लागि परिवारका सदस्यले सोही दिन बाजुरा अस्पताल ल्याएका थिए।

उनी मुटु सम्बन्धि रोगबाट पनि पीडित थिइन्। बिरामीले ग्रसित त्यसमाथि गर्भवती रहेकी जानकीलाई सामान्य औषधी दिएर बाजुरा अस्पतालका चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान परिवारलाई सुझाव दिएका थिए।

उनका श्रीमान् रमेश भारतमा काम गर्थे। त्यसैले उनले गर्भवती श्रीमतीलाई थप उपचारको लागि भारतको दिल्ली लैजाने तयारी गरेका थिए।

उनले बाजुरामा एम्बुलेन्सको खोजी गरे तर पाएनन्। बडिमालिकाका नगर प्रवक्ता धर्मराज पाध्यायका अनुसार रमेशको आर्थिक अवस्था पनि कमजोर थियो। त्यसकारण उनले सार्वजनिक यातायात (बस)मै महेन्द्रनगर हुँदै दिल्लीतर्फ जाने निधो गरेका थिए।

सोमबार उनीहरू बाजुराबाट बस चढेर आएका थिए। बसमा महेन्द्रनगरतर्फ आउँदै गर्दा जानकीलाई अछाम र डोटीको सीमाना चौखुट्टेमा ब्यथाले निकै बढी च्यापेको थियो।

‘आउँदा बाटोमा अफ्ठ्यारो भयो भनेर पछि जिपमा अछामस्थित बयलपाटा अस्पतालतिर लानुभएछ, तर अस्पताल पुग्नै नपाई बाटोमै ज्यान गएको भनेर खबर पायौ,’ प्रवक्ता पाध्यायले भने, ‘आमा र बच्चा दुबै गुमाउनु पर्यो।’

सोमबार राति नै अछामको बयलपाटा अस्पताल पुर्‍याइएकी गर्भवती महिला र पेटभित्रको बच्चाको चिकित्सकले मृत घोषित गरेको उनको भनाई छ।

सुविधा सम्पन्न अस्पताल र अस्पताल पुर्‍याउन एम्बुलेन्सको सुविधा भएको भए गर्भवती महिलालाई जोगाउन सकिने स्थानीयको भनाइ छ। यस्तै बाजुरामा राम्रो अस्पताल नभएकै कारण यस्ता घटना दोहाेरिरहेको उनीहरूको दाबी छ।

यता, नगरपालिकाले भने सम्पर्क गरेको भए एम्बुलेन्सको व्यवस्थापन हुनसक्ने अवस्था रहेको जनाएको छ। पीडित पक्षबाट गर्भवतीबारे जानकारी नै नआएको प्रवक्ता पाध्यायले बताए। ‘हामीले जानकारी नै पाएनौं, उहाँहरू आफै दिल्लीतर्फ लैजाने र उपचार गराउने तयारीमा हुनुहुदो रहेछ,’ उनले भने, ‘सायद हामीसंग समन्वय गरेको भएमा एम्बुलेन्सको व्यवस्था गर्न सकिन्थ्यो। तर समन्वय हुन सकेन, निकै दु:खद घटना घट्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.