|

हेटौंडा : बागमती प्रदेशमा तीनवटा मन्त्रालय कटौती गरिने भएको छ। प्रदेशमा हाल कायम १४ मन्त्रालयबाट तीनवटा मन्त्रालय कटौती गरिने भएको हो।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गठन गरेको मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलले ९ वा ११ मन्त्रालय राख्न सरकारलाई सुझाव दिएको छ। मङ्गलबार मुख्यमन्त्री जम्मकट्टेललाई प्रतिवेदन बुझाएको समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न सुझाएको छ।

कार्यदलका संयोजक मुकुन्दप्रसाद निरौलाका अनुसार प्रदेशमा हाल रहेका १४ मन्त्रालयको प्रतिमन्त्रालय प्रत्येक वर्ष सेवा सुविधामा मात्रै ७३ लाख खर्च भइरहेको छ भने काम पनि त्यति प्रभावकारी छैन। त्यसैले शुरुवातमा कायम रहेका ७ मन्त्रालय कायम गर्दै दुईवटा मन्त्रालय गठन गर्न समितिले सुझाव दिएको छ।

त्यसैगरी प्रदेशसभाको १० प्रतिशतको दरले सरकारले ११ वटा मन्त्रालय पनि राख्न सक्ने समितिको सुझाव छ।

कार्यदलको सुझावसहितको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले ११ वटा मन्त्रालय राखिने बताए। तत्काल ३ वटा मन्त्रालय कटौती गर्दै ११ मन्त्रालय राखिने र राज्यमन्त्री नराख्ने उनको भनाइ छ। मुख्यमन्त्री जम्मकट्टेलले मङ्गलबार नै बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रतिवेदन पास गरेर छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिने  बताए।

अब बागमतीमा उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयलाई कटौती गरी अन्यमा गाभिनेछ। शुरुवातमा ७ वटा मन्त्रालय रहेको बागमती प्रदेशकी दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई विभाजन गर्दै ८ वटा पुर्‍याएकी थिइन्।

त्यसपछि प्रदेशका तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलहरूमा भागबण्डा पुर्‍याउन ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए। भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेपछि मुख्यमन्त्री पाण्डे र बागमती प्रदेशको देशैभर आलोचना भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.