सुर्खेत : सत्तारुढ दलहरूको आज (मंगलबार) बसेको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको छ। भागबण्डा तय भएकाले बुधबार कर्णाली प्रदेशको मन्त्रीमण्डल विस्तार हुने भएको छ।
कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।
भागबण्डामा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो। यी मन्त्रालयमा जाने मन्त्रीको शपथ बुधबार हुने जानकारी मल्लले दिए। मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा बुधबार मन्त्रीमण्डलले पूर्णता पाउने भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।