|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन्। 

सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो। मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरूले मन्त्रालय भागबन्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन्।

सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन्। यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिए पनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने एमाले संसदीय दलका नेता एवम् विना विभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए।

उनले आज (मंगलबार) अबेर रातिसम्म विना विभागीय मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड हुने जानकारीसमेत दिए।

विना विभागीय मन्त्री यादवले सत्ता साझेदार दलहरूको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइएको बताए। अहिलेसम्मको सहमतिअनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले एउटा मन्त्रालय पाउने सहमति भएको छ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उनी आएलगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताए। यसका साथै प्रदेशमा मन्त्रालयको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको पनि उनले जानकारी दिए।

मुख्यमन्त्री यादवले गत पुस २९ गते ३ जना विना विभागीय मन्त्रीसहित शपथ लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.