‘खुला शासन नभइ लोकतन्त्र बलियो हुँदैन’

|

विराटनगर : प्रदेश १ का सांसदहरूले लोकतन्त्र बलियो हुन ‘खुला सरकार’ हुनुपर्ने बताएका छन्। राष्ट्रिय सूचना आयोगले विराटनगरमा गरेको ‘खुला शासन’ अन्तरक्रियामा सहभागी सांसदले यस्तो धारणा राखेका हुन्।

खुला शासनका विषयमा अन्तरक्रिया गर्न आयोग टोली प्रदेश १ को विराटनगर पुगेको थियो। प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विषयविज्ञका रुपमा सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमाथि धारणा राख्ने सबैले खुला सरकार हुनुपर्ने बताएको आयोगकी सूचना आयुक्त कमला वलीले बताइन्। कार्यक्रममा सूचना आयुक्त वलीले लोकतन्त्र भनेको शासन गर्ने व्यवस्था नभएको बताइन्। सूचनाको हक हरेक नागरिकलाई भएको भन्दै उनले सूचनाको हक प्रयोग गर्नसमेत आह्वान गरिन्।

सहभागी कतिपयले मन्त्रालयको संख्याको विषय पनि उठाएका थिए। मुख्यमन्त्र‍ी कार्कीले प्रदेश सरकारको बजेट न्यून भएको र श्रोतहरू पनि न्यून हुँदा काम गर्न गाह्रो पर्ने बताए। उनले रोयल्टी बाँडफाँटसम्बन्धी कानून संशोधनको आवश्यकता रहेकोसमेत बताए।

उनले प्रदेश सरकार नैतिक रुपमा इमान्दार रहेको भन्दै खुला शासन लागू गर्न आफू प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्र‍ी कार्कीले सूचनाको हकसम्बन्धी प्रदेश कानून बनाउने घोषणासमेत गरे।

आयोगले खुला शासनका विषयमा देशव्यापी रुपमा विभिन्न प्रदेशमा अन्तरक्रिया आयोजना गर्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.