|

पर्वत : जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक कृषिका लागि बनाउन विभिन्न कार्यक्रमका लागि साढे ३७ लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रहेर कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारी संस्थाका लागि लगानी गर्न लागिएको हो। 

कृषकहरूको मागमा आधारित रहेर साना सिँचाइ मर्मत कार्यक्रम, कृषि यान्त्रिकीकरण वितरण, साझेदारीमा टनेल वितरण, पशुपालन व्यवसाय प्रवर्धन र छाडा चौपाया व्यवस्थापन कार्यक्रमका लागि उक्त लगानी गर्न लागिएको हो।

साना सिँचाइ मर्मत कार्यक्रममा १४ लाख रुपैयाँ अनुदान दिन लागिएको छ। एउटा मर्मत कार्यक्रमका लागि दुई लाख रुपैयाँका दरले सात वटा कार्यक्रमको लागि यो अनुदान दिन लागिएको हो। यो कार्यक्रम लिने कृषक वा कृषक समूहले १० प्रतिशत लगानी बेहोर्नुपर्ने छ। यस्तै ५० प्रतिशत साझेदारीमा कृषि यान्त्रिकीकरण कार्यक्रमका लागि १० रुपैयाँ अनुदान दिइने छ। गाउँपालिकाभित्रका ३५ जनाका लागि यो अनुदान उपलब्ध गराउने र त्यसले व्यावसायिक कृषिका लागि आधुनिक उपकरण खरिद गर्नुपर्ने छ। गाउँपालिकाले उपलब्ध गराउने रकम ५० प्रतिशत हुने र बाँकी ५० प्रतिशत कृषकले बेहोर्नुपर्ने छ। 

अध्यक्ष मल्लका अनुसार गाउँपालिकाले ७५ प्रतिशत लगानी गर्ने गरी तीन लाख रुपैयाँ बराबरका टनेल वितरण गर्न लागिएको छ। टनेलभित्र गरिने खेतीलाई प्रवर्धन गर्ने र उनीहरूलाई व्यावसायिक कृषक गराउने गरी ७५ वटा टनेल वितरण गरिने छ। यसमा हुने लगानीमध्येको २५ प्रतिशत भने कृषक स्वयंले लगानी गर्नुपर्ने गाउँपालिकाले सर्त राखेको छ। यस्तै पशुपालन व्यवसाय प्रवर्धन कार्यक्रम अन्तर्गत २८ कृषकका लागि अनुदान उपलब्ध गराउन लागिएको छ। 

व्यावसायिक रूपमा पशुपालन गर्दै गाउँपालिकालाई पशुपालनमा आत्मनिर्भर बनाउन प्रयास गरिरहेका कृषकहरूमध्येबाट यो अनुदान रकम उपलब्ध गराइने छ। यो कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले कुल लगानीको १० प्रतिशत र कृषक वा फर्मले ९० प्रतिशत बेहोर्नुपर्ने भनिएको छ। तर पूर्वाधार बाहेकका अन्य लगानीमा भने गाउँपालिकाले ५० प्रतिशत र कृषक वा फर्मले ५० प्रतिशत लगानी बेहोर्नुपर्ने शर्त राखिएको छ। यसका लागि कुल १० लाख रुपैयाँ लगानी गरिने छ। 

गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि समेत कार्यक्रम अगाडि बढाउन लागेको छ। पशुपक्षी फर्म, कृषक समूह वा कृषि सहकारी संस्था सहभागी हुन पाउने यो कार्यक्रम अहिलेका लागि एउटा मात्रै सञ्चालन गर्न लागिएको छ भने यसका लागि ५० हजार रुपैयाँ अनुदान गाउँपालिकाले दिने छ। पूर्वाधार निर्माण गर्ने भएमा १० प्रतिशत कृषकले बेहोर्नुपर्ने र व्यवस्थापनका अन्य काम भएमा ५० प्रतिशत लगानी कृषकका तर्फबाट लगानी हुनुपर्ने भनिएको छ।

अध्यक्ष मल्लले गाउँपालिकाले कृषकलाई व्यावसायिक रूपमा कृषि कर्ममा लाग्ने प्रेरणा दिन तथा लगानीको समस्यामा रहेका कृषकहरूलाई सघाउनको लागि यी कार्यक्रमहरूको लागि अनुदान दिन लागिएको हो। ‘कति कृषकहरू कृषिमा केही न केही गर्ने विचारमा रहे पनि लगानी अभावमा समस्यामा परिरहेको अवस्था पनि देखिएको छ। केही प्रतिशत उहाँले र केही हामीले लगानी गरे कृषि कर्म सञ्चालनमा आउँछन्’, उनले भने, ‘हामीले कृषिलाई प्राथमिकतामा राख्दै आएका छौँ। हामी आत्मनिर्भर रहने मुख्य क्षेत्र भनेकै कृषि भएकाले तत्कालका लागि यो अनुदान उपलब्ध गराउन लागिएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.