|

बागलुङ : जैमिनी नगरपालिकास्थित ऐतिहासिक थन्थापमाई मन्दिर ओझेलमा परेको छ। बागलुङ जिल्लाको जैमिनी नगरपालिका-१० राङ्खानी, वडा नम्बर ७ को जैदी र वडा नम्बर ४ सर्कुवाको सिमा क्षेत्रमा अवस्थीत रहेको थन्थापमाई मन्दिर संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो। 

जंगलको बीचमा रहेको मन्दिरमा रहेका महत्वपूर्ण घण्ट तथा कलात्मक वस्तुसमेत हराएकोे स्थानीयको भनाई छ। जैमिनी-१० राङ्खानी पाहीका टिकाराम शर्मा आचार्यका अनुसार २०÷२५ वर्ष अघि घण्ट तथा विभिन्न आकृतिका धातु चोरी भएपछि स्थानीयकै पहलमा काँडेतार लगाएर सुरक्षित गरिएको छ। 

‘मन्दिरको गुठीको नाममा रहेको थुप्रै खेत छ। त्यसको कुनै खबर छैन। द्वन्द्वकालदेखि कस्ले कमाएको छ अत्तोपत्तो छैन। कति जग्गा मासिएको होला। मैले सुने अनुसार यहाँको घण्ट समेत चोरी भएको थियो’, आचार्यले भने, ‘पहिला संरक्षण भएको थिएन, अहिले केही मर्मत सम्भार समेत भएको छ। जैमिनी नगरपालिकाले समेत २० लाख लागनी गरिसकेको छ।’

हरियाली डाँडो धार्मिक पर्यटकीय गन्तव्य बन्ने भए पनि पछिल्लो समय मन्दिरको चर्चा सेलाएको स्थानीयको भनाइ छ। भगवतीको मन्दिर भएकाले शक्तिसँग जोडिएको छ। त्यहाँ पूजा अर्चना गर्नाले चाहेको पूरा हुने विश्वासका साथ श्रद्धालु त्यहाँ पुग्छन्। धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि उचित व्यवस्थापन र प्रचार प्रसारको अभावमा यो मन्दिर अहिले ओझेलमा छ। 

बागलुङ दक्षिण भेगको महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको १८ औं शताब्दीमा स्थापना गरिएको मन्दिरको सम्भावना उजागर गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने स्थानीय लिलबहादुर रानाले बताए।

‘केही नगरेको भने हैन, पदमार्ग, तारबार र खानेपानी लगाएको संरचना छन् तर पहिला टाढा–टाढाबाट भक्तजन आउने गरेका थिए तर सवारी साधनको पहुँच हुँदा समेत कम भक्तजन आउन थाले। प्रचार प्रसारकै अभाव देखियो, नयाँ–नयाँ मठ मन्दिरमा अहिले दर्शनार्थी पुग्छन् तर ऐतिहासिक शक्तिसँग जोडिएको मन्दिर अहिले कुना परेको छ’ रानाले भने, ‘मन्दिरको मर्मतसम्भार भए पनि जिर्णोद्धार गर्ने र प्रचार प्रसारको काम बाँकी छ, जैमिनी नगरपालिकाले अझै यसमा धेरै काम गर्न आवश्यक छ।’

थन्थाप भवगती माईको मन्दिरमा हरेक मंगलबार विशेष पूजाआजा हुन्छ। बडादशैँ, चैतेदशैँ लगायतका विशेष समयमा त त्यहाँ पुग्ने दर्शनार्थीको घुइँचो लाग्छ। 
पटक–पटक मन्दिर जिर्णोद्धार गरेर अहिलेको अवस्थामा ल्याईएको र यसको स्थापनाको ठ्याक्कै एकिन नभएपनि १८ औँ शताब्दी लेखिएको  ताम्रपत्र भेटिएको छ। विक्रम संवत १८६५ लेखिएको ताम्रपत्र भेटिएको उनले जानकारी दिए। 

भुरे–टाकुरे राजाको पालामा धेरै नै युद्ध  हुने भएकाले शक्तिस्वरूपा भगवतीको मन्दिर स्थापना भएको हुनसक्ने राना बताउँछन्।  भगवतीको पूजा गर्नाले आँटेको पुग्ने र शक्तिस्वरूपा भएकाले उनको भाकलबाट युद्ध जितिने पनि विश्वास रहेकाले भुरेटाकुरे राजाले नै यहाँ यो मन्दिर स्थापना गरेको स्थानीयको अनुमान छ।  

यहाँको हाँडिकोट, पुरानो गाउँ लगायतका ठाउँमा पहिले राजा रहेको भन्ने यथेष्ट प्रमाण र पुरातत्त्व सामाग्रीबाट प्रमाणित भइसकेको छ। उक्त मन्दिरमा परेवा र बोकाको मात्र बलि दिइन्छ। पछिल्ला दिनमा जैमिनी नगरपालिका क्षेत्रबाट बसाइँ सरेर जानेको संख्या बढेकाले मन्दिरआउनेको संख्या कम हुँदै गएको हो। 

मन्दिरको नाममा अर्जेवा, जैदी, बिनामारेमा गुठीका जग्गा भएको भन्ने सुने पनि अहिले जग्गाको अत्तोपत्तो छैन।  ऐतिहासिक पक्षसँग जोडिएकाले थन्थाप भगवतीको मन्दिरको विकास र प्रचार प्रसारका लागि जैमिनी नगरपालिकाले विशेष चासो दिएको उपप्रमुख हरिहर शर्माले बताए। 

‘अहिलेसम्म नगरपालिका सहित विभिन्न निकायहरुबाट मन्दिरको संरक्षण र प्रवर्धनमा ७० लाख रुपैयाँ खर्च भइसकेको छ। यहाँको पुरानो योजनालाई विकसित गरेर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न हामी लागेका छौँ’, शर्माले भने, ‘गुठीको विषयमा जुन जग्गाको कुरा छ, त्यो मालपोतले हेर्ने हो। पालिकाले हेर्न मिल्दैन। हामीले धार्मिक पर्यटकीय गन्तव्य बनाउन कुनै कसर बाँकी राख्देनौँ।’ 

शर्माले थन्थापमाई, कोत घर जहाँ तोप समेत छ दुवैलाई एकैपटक विकास गर्नेगरी योजना बनाएको बताए। यी संरचनाको संरक्षण, संवर्धन र प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उपप्रमुख शर्मा बताउँछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.