|

इलाम : खेलकुदको क्षेत्रमा प्रदेश १ लाई चिनाउनुपर्दा फुटबल शीर्ष स्थानमा आउँछ। नेपालमा व्यावसायिक फुटबल सुरु भएदेखि हालसम्म पनि राष्ट्रिय टोलीमा प्रदेश १ कै खेलाडीहरुको दबदबा पाइन्छ।

अन्य खेलमा समेत प्रदेश १ तुलनात्मक रुपमा कमजोर भने हैन। पछिल्लो समय नवप्रवेशी खेल रग्बीबाट प्रदेशले पहिचान बनाउने प्रयत्न सुरु गरेको छ।

रग्बी खेलमा प्रदेश–१ समितिले पूर्णता पाएको ६ महिना मात्र पूरा हुँदैछ। तर छोटो अवधिमा रग्बीको राष्ट्रिय टोलीमा प्रदेश–१ का खेलाडीले आफ्नो प्रभाव कायम राख्न सुरु गरेका छन्।

गत मंसिरमा काठमाडौंमा सम्पन्न  यु–१८ एसियन रग्बी सेभेन्समा नेपालको राष्ट्रिय टोलीमा प्रदेश १ बाट पुरुष र महिलामा समान ४÷४ खेलाडीले प्रतिनिधित्व गरेका थिए। जसमा इलाम अग्रपंक्तिको जिल्लासमेत बनेको थियो। महिला तर्फका ४ मध्ये ३ जना इलाम जिल्लाबाट थिए। पुरुषका ४ जना मध्येमा २ जना इलामका थिए। इलामका खेलाडीहरुले सहभागिता मात्र जनाएनन् राष्ट्रिय टोलीको उपकप्तानको भूमिकासमेत निर्वाह गरे।

पुरुषतर्फ मनिष हिङमाङ र महिलाकी सुजा राईले उपकप्तानको भूमिका पाएका थिए।

 १४ मध्ये प्रदेश १ को ५ जिल्ला इलाम, पाँचथर, झापा मोरङ र उदयपुरमा रग्बीको संघ गठन भएको छ। इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा पालिका स्तरिय समितिसमेत छ। रग्बी इलामले अहिले राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर केही विद्यालयहरूमा प्रशिक्षण समेत सुरु गरेको अध्यक्ष विजु राई बताउँछन्।

‘राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरेर अहिले झापाका विद्यालयहरूसँग मैत्रीपूर्ण खेलमा सहभागिता जनाइरहेका छौँ। खेलाडीहरुमा रग्बी प्रतिको ऊर्जा देखेर इलामको १० वटै पालिकामा समिति बनाउने तयारिसमेत छ।’ राईले भने ‘ छोटो समयमा इलामको रग्बीले गरेको प्रगति देख्दा चाँडै नै राष्ट्रिय टोलीमा उल्लेख्य उपस्थिति हुनेमा विश्वस्त छौँ।’

नेपालको पुरुष रग्बी टोलीमा झापाका विक्रम पुरीले स्थान बनाएका छन्। महिलातर्फ धनकुटाकी सृजना राई र इलामकी विशाका राईले स्थान बनाएका छन्।

राष्ट्रिय टोलीमा बलियो उपस्थिति रहने लक्ष्य

प्रदेश १ रग्बी संघका अध्यक्ष विनोद कटुवाल (दिवस) ले रग्बीमा प्रदेशमा खेलाडीहरुको  आकर्षण राम्रो रहेको बताउँछन्। ‘रग्बीको खेलको लागि अहिले विद्यालय स्तरमा समेत उत्साहजनक सहभागिता रहेको छ। राष्ट्रिय टिममा उमेर समूहमा हामीले उत्पादन गरेको प्रदेश १ का ८ जना खेलाडी छन्। सिनियर टोलीमा समेत ३ जना छन् तर उनीहरु काठमाण्डौमा रहेर नै रग्बी खेलमा लागेका हुन्।’ उनले भने, ‘ प्रदेश १ बाटै उत्पादनको कुरा गर्दा संघ गठन भएको १ वर्ष नहुँदै युवा पुस्ता र बालबालिकाहरुमा रग्बी क्रेज बढाएका छौँ।' 

अहिले ५० भन्दा बढी विद्यालयमा रग्बी खेलको प्रशिक्षण अघि बढाएको र अरू जिल्लामा समेत रग्बी संघ गठनको प्रक्रिया अघि बढिरहेको  पनि उनले बताए।

रग्बी खेललाई फैलाउनका लागि गत साउनमा उदयपुरको कटारीमा चार दिवसीय प्रशिक्षक प्रशिक्षण तालिमसमेत राखिएको थियो। जसबाट १४ जना प्रशिक्षकहरु उत्पादन भएका छन्। उनीहरुले आफ्नो क्षेत्रमा रग्बी खेल विस्तार गरिरहेको अध्यक्ष कट्वाल बताउँछन्।

राष्ट्रिय खेलकुद परिषद मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठानले विभिन्न खेलकुदका लागि दिने छात्रवृतिमा प्रदेश १ का १२ जना बालबालिकाहरुले रग्बीसम्बन्धी छात्रवृति पाएका छन्। हाल उदयपुरको कटारी नगरपालिका–२ गुराँसोमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययनरत ८ देखि १२ वर्ष उमेर समूहका १२ जना बालबालिकाहरुले १ बर्षसम्मका लागि छात्रवृति पाएका छन्। जसमा २ जना महिला र १० जना पुरुष रहेका छन्।

गत कार्तिकमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा समेत प्रदेश १ को रग्बी टोलीले सहभागिता जनाएको थियो। पुरुष तर्फ विभागीय टोली नेपाल पुलिससँग बराबरी खेलेको प्रदेश १ ले सुदूरपश्चिमलाई हराएको थियो। घरेलु टोली गण्डकी र अर्को विभागीय टोली नेपाल आर्मी विरुद्धको पराजयका कारण पदक भने पाउन सकेन।

महिलातर्फ उपाधि दाबेदार बागमती हराएको प्रदेश १ ले मधेश प्रदेश र आर्मीसँग पराजयका कारण सेमीफाइनलसम्म पुग्न सकेन्।

रग्बीमै नेपाली सिनियर टोलीमा इलामका विशाका राई छिन्। विभागीय टोली त्रिभुवन आर्मीका आवद्ध पुर्व गोलरक्षक विशाका अहिले नेपाल रग्बीकै महत्वपूर्ण सदस्य हुन्। गत साउनमा इन्डोनेसियामा सम्पन्न एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाएको नेपाली टोलीमा विशाका विङगरको रुपमा रहिन्।

मंगोलिया विरुद्धको खेलमा नेपालले स्कोर गरेको ५ अंक विशाकाको नाममा रहेको छ।

एसिया रग्बी सेभेन्सको प्रर्दशनको आधारमा उनी वर्ष उत्कृष्ट महिला खेलाडीसमेत घोषित भइन्। राष्ट्रिय टोलीकी उपकप्तान सृजना राईले गत मंसिरमा भएको यु–१८ एसियन रग्बी सेभेन्सको प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेकी छन्।

विक्रमसँग नेपाल रग्बीको महत्वपूर्ण सदस्यको रुपमा केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। उनले इलामका खेलाडीलाई रग्बीसम्बन्धी प्रशिक्षणसमेत दिएका थिए। विक्रमकै उत्पादनले यु–१८ एसियन रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेका हुन्।

नेपालमा रग्बी खेलको सुरुवात

नेपालबाहेक विश्वका १२० देशमा रग्बी खेलिन्छ। सन् १८८५ मा इङल्यान्डबाट खेलको सुरुवात भएको थियो। समय क्रमसँगै नेपाल आइपुग्न सन् १९९५ सम्म कुर्नुपर्‍यो।  विस २०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो। भारतमा अध्ययन गर्न गएका सिद्धिशम्शेर राणाले नै नेपालमा रग्बीलाई भित्र्याएका हुन्।

एक त नेपालको परिपेक्षमा नितान्त नयाँ खेल त्यो माथि एशियाली मुलुकमा निक्कै कम चर्चित रग्बीप्रति रुचि कम देखिन्छ। हालसम्म  नेपालसहित २८ एसियाली देश विश्व रग्बीका सदस्य रहेका छन्।

रग्बीमा प्रत्यक्ष संलग्न भएर सहभागिता जनाउने युवा पुस्ता भर्खरै उत्पादन हुनका साथै प्रसार नभएकाले रग्बी खेललाई ‘विश्वमा चर्चित तर नेपालमा गुमनाम’ को उपनाम दिने गरिएको छ। सुरुआती समयमा केही गतिविधि भए पनि पछि संघ निस्क्रिय जस्तै बनेको थियो। २०६९ सालमा राष्ट्रिय खेलकुद परिषदका वर्तमान सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा रग्बी संघ पुनर्गठनको कार्य भए पनि आफ्नै खेलाडी नहुँदा संघले फुटबल, बास्केटबल र भलिबल लगायतको अन्य खेलका खेलाडीलाई बटुलेर रग्बीलाई जीवित राखेको थियो।

संघको स्थापनापछि विस २०७२ (सन् २०१५) मा पहिलो पटक राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो। २०१५ मा पहिलोपटक भारतमा भएको एशियाली क्षेत्रको ओलम्पिक छनौटमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएपछि नतिजा सन्तोषजनक रहेन्।

त्यसपछि हालसम्म नेपालले महिला र पुरुष रग्बीमा केही महत्वपुर्ण अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ।  नेपाल रग्बी संघले सन् २०१८ मा एसियन रग्बी महासंघको मान्यता प्राप्त गरेको थियो। सोही वर्ष घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यसमेत निर्वाचित भए।

यस्तै, नेपाल रग्बी संघ रग्बीको विश्व नियामक निकाय विश्व रग्बीको एसोसिएट मान्यता भने सन् २०२० नोभेम्बरबाट पाएको हो। नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ।

विश्व रग्बी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी–१५ (फिफटिन्)  हो। त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।

सोहीअनुसार गत असारमा नेपालले बंगलादेशसंग रग्बी–१५ मा सहभागिता जनाउने अवसर पाएको थियो। पुर्ण सदस्यता नपाएका कारण अहिले नेपाल रग्बी वरीयतामा समावेश भएको छैन।

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज– २०२२ नाम दिइएको मैत्रीपूर्ण खेल नेपालले ३१–७ अन्तरले गुमायो। गत मंसिरमा एसिया रग्बी च्याम्पियनसिप २०२२ को डिभिजन थ्रीमा नेपालले भारत र बंगलादेशसँगको खेलमा पराजय भोगेको थियो।

रग्बी संघका अनुसार अहिले देशभरिमा पुरुष र महिला गरी ५ हजारभन्दा बढी रग्बी खेल्ने खेलाडीहरु तयारी गरिसकेको छ। त्यसो त रग्बीको विश्व कीर्तिमानी खेलको आयोजनासमेत नेपालमै भएको छ।

२०७६ जेठमा सगरमाथाको ६ हजार ३ सय ३१ मिटर (२० हजार ७७१ फिट) उचाइमा रग्बी खेलाएर विश्व कीर्तिमान बनाएको छ। बेलायती समाजसेवी संस्था उडन स्पुनले सगरमाथाको एडभान्स्ड बेस क्याम्पनजिक इस्ट रोंकबुक ग्लेसियरमा खेल संचालन गरेको थियो।

विकलांग बालबालिकाको रेखदेखमा खर्च गर्ने उद्धेश्यका साथ आयोजित खेलबाट अढाइ लाख बेलायती पाउन्ड (३ करोड ६५ लाख रुपैयाँ) भन्दा बढी जुटेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.