|

हेटौंडा : बागमती प्रदेश सरकारका नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका ८ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री जम्मकट्टेलले गठन गरेको अध्ययन कार्यदल समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न दिएको सुझावअनुसार ११ मन्त्तालय राख्ने निर्णय भएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ।

विस्तारमा सत्तारुढ गठबन्धनको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४, नेकपा एमालेले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ मन्त्री पाएको छ। माओवादीले यसअघि नै मुख्यमन्त्री पाइसकेको थियो भने एमालेबाट पनि दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै अर्थमन्त्रीको शपथग्रहण गरिसकेका थिए।

त्यसैगरि राप्रपा संसदीय दलका नेता उद्धव थापा विना विभागीय मन्त्री बनेका थिए। थापाले बुधबार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाबाट अरु दुईजना मन्त्री बनेका छन्।

बुधबार नेकपा माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकासमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । 

नेकपा एमालेबाट केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र एकालाल श्रेष्ठ रोजगार तथा यातायातमन्त्री बनेका छन्।

राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरणमन्त्री बनेका हुन्। योसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.