|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीचको सीमा विवाद सहमतिमा टुंगो लगाउनुपर्ने बताएका छन्। राजधानीमा बुधबार भएको एक साक्षात्कारमा पूर्वमन्त्रीसमेत रहेका नेता पौडेलले भारतसँग भएको सीमा विवादलगायतका मुद्दा सहमतिमा टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्। 

उनले भने, ‘हाम्रो बीचमा सांस्कृतिक सम्बन्ध छ। यो सांस्कृतिक सम्बन्धलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ। धार्मिक सम्बन्ध पनि प्रगाढ छ। आर्थिक रूपमा त्यस्तै सम्बन्ध छ। व्यापार‚ पारवहन सम्बन्ध छ। सामाजिक रूपमा पनि हाम्रो सम्बन्ध राम्रो छ। नक्शाको विषय उठेको छ। हामी नजिक छौं, समस्या पनि छन्। भारतसँग नजिक भएकोले सीमा विवाद उठेको छ। यसलाई अब वार्ता, सहमति र सम्वादको माध्यमबाट हल गर्नुपर्छ। नयाँ प्रकारले सम्बन्ध अघि बढाउनुपर्छ।’

पौडेलले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले विशेष गरेर तीन वटा कुरामा फोकस गरेको भन्दै त्यसमध्ये छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने पनि रहेको सुनाए।

उनले भने, ‘सरकारले पहिलो कुरा सुशासनको प्रत्याभूति गर्ने भनेको छ, दोस्रो कुरा थलिएको प्रणालीलाई सुधार गर्ने र तेस्रो भनेको मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सुधार गर्ने। यो सरकारको प्राथमिकताभित्र पर्ने विषय पनि हो। आजको सम्बन्ध भनेको आर्थिक कूटनीति हो। डिजिटल र आइटीको सम्बन्ध हो। युग र प्रविधिको विकासले हामी अब नयाँ ढंगले अघि बढ्नुपर्छ। त्रुटी भएको ठाउँमा कूटनीतिक तवरले हल गर्नुपर्छ।’

उनले नेपालमा बिजुली उत्पादन बढी भएर अब बजारको समस्या आइरहेको कोट्याए। नेता पौडेलले भने, ‘यसको लागि बजार सहजीकरण गर्न भारतले भूमिका खेल्नुपर्छ। अहिलेको सरकारले सम्बन्धको हिसाबले गर्दा भारतीय पक्षसँग त्यो प्रकारको कुरा राख्छ। हामीबीच धेरै बिग्रिएको छैन‚ धेरै सप्रिएको पनि छैन। ठीकै सन्तुलनमा छौं। असंलग्नता र पञ्चशीलका आधारमा हामी हाम्रो विदेश नीति सञ्चालन गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.