|

खोटाङ : कुनै समय खोटाङको उत्पादन भन्ने बित्तिकै घँगरुको लौरोको पहिचान थियो। भ्रमण या अन्य सरकारी कामकाजमा यहाँ आउने अतिथिलाई मायाको चिनोस्वरुप घँगरुको आकर्षक लौरो उपहार दिने गरिन्थ्यो।

छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यहाँको चिनारी भएजस्तै खोटाङमा घँगरुको लौरो थियो। समाउने ठाउँमा चरा, सर्प तथा माछाको कलात्मक स्वरुप भएको उक्त लौरो उपहार पाउँदा जिल्ला आउने अतिथि खुशी हुने गरेको स्थानीय बताउँछन्।

लौरोको डण्डीमा खोटाङ तथा नेपालको नक्सा, लालीगुराँस, सर्वोच्च शिखर सगरमाथा, गाई, राष्ट्रिय पक्षी डाँफे, राष्ट्रिय रङ सिम्रिकका तस्वीर हुन्थे र नेपालको राष्ट्रिय गान पनि लेखिएको हुन्थ्यो। तर पछिल्लो समय लौरो बनाउने कालीगढको अभाव हुन थालेपछि खोटाङलाई चिनाउने घँगरुको लौरो लोप हुँदै गएको छ। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका मिलन चाम्लिङले दिक्तेल बजारमा झण्डै तीन दशक पहिले ‘चाम्लिङ ह्याण्डीक्राफ्ट सेन्टर’ सञ्चालन गरेका थिए। उनले स्थापना गर्दा ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परी आए पुर्पुरो सेक्ने’ भने लौरोको नारा नै बनाएका थिए। शुरुमा व्यावसायिकजस्तो नभएको उनको सीप विस्तारै उद्योगका रूपमा फस्टाएको थियो। 

चाम्लिङले बनाएका लौरोले देशविदेशका नागरिकलाई सहारामात्र दिएन खोटाङका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्मालाई रोजगारी पनि दिएको थियो। उनले जिल्लामा केहीलाई काम पनि सिकाएका थिए।

तर चाम्लिङ काठमाडौँ छिरेपछि उनीसँगै लौरो उत्पादन व्यवसायमा कमी आयो। चाम्लिङ्बाट सिप सिकेका भगिन्द्र लौरो बनाउन सजिलो भए पनि आम्दानी कम भएर जीविकोपार्जन गर्न कठिनाइ भएपछि विदेशिए भने नारायणले पनि यो पेशामा निरन्तरता दिन सकेनन्।

चाम्लिङ्ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुई युवा भीमबहादुर विश्वकर्मा र रवीन्द्र विश्वकर्मालाई पनि लौरो बनाउने तालिम दिएका थिए। उनीहरुमध्ये भीमबहादुरले पेशालाई निरन्तरता दिँदै दिक्तेलमा व्यवसाय शुरु गरे।

बाँसबाट निर्माण गरिएका हस्तकलाको सामान र घँगरुलगायत काठको लौरोमा जनावरको सिङबाट बनाइएका समाउने भाग निकै आकर्षक देखिन्छ तर यो व्यवसायबाट उनको दैनिकी सहज नभएपछि भीमबहादुरले पनि पेशा छाडेर फर्निचर उद्योग शुरु गरे।

चाम्लिङ्ले अहिले काठमाडौँमा चाम्लिङ ड्राइभिङ सेन्टर सञ्चालन गरेका छन्।घँगरुको लौरोलाई व्यावसायिक प्रवर्द्धन गर्न उद्यमीलाई प्रोत्साहन गरी विदेशी स्टिलका लौरोको प्रयोगलाई न्यूनीकरण गर्न सकेको भए नेपाली लौरोले बजार लिने थियो। यसले स्थानीयलाई रोजगारी दिनुका साथै खोटाङको पहिचानलाई यथावत राख्न सकिने थियो। 

लामो समय सरकारी सेवामा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ बसेखाका चन्द्रप्रसाद आचार्यले लौरो अभियान नै शुरु गरेका छन्। अहिले उनी लौरो अभियन्ताका रूपमा चिनिन्छन्। उनी बुढेसकालको एकमात्र साहारा लौरो भएकाले वृद्धवृद्धाको जीवन केही सहज बनाउन लौरो अभियान शुरु गरेको बताउँछन्।

उनले घँगरुको लाथ्रा बटुलेर खिप्न थाले। खिपेर बनाइएका लौराहरु गाउँका ज्येष्ठ नागरिकलाई निःशुल्क बाँडे। १ सय ८ लौरो बाँड्ने योजना बनाएका आचार्यले अहिले १ हजार ८ को लक्ष्य राख्दै अभियानका रुपमा अगाडि बढाएका छन्।

विसं २०३७ देखि सरकारी सेवामा आबद्ध रहेका आचार्य हाल लौरो उत्पादनमा निरन्तर लागिरहेका छन्। आफूले जानेको लौरो खिप्ने सीपको सदुपयोग गर्दै वृद्धवृद्धा तथा अशक्तलाई उपलब्ध गराउँदा सेवा र धर्म दुवै हुने भएकाले यसलाई निरन्तरता दिएको उनले बताए।

‘लौरो आवश्यक भएको खबर आए र पुर्‍याइदिने माध्यम भए १ सय वर्ष नाघेका वृद्धवृद्धालाई मुलुकभित्रका जुनसुकै ठाउँमा पनि लौरो उपहार पठाइदिने गरेको छु,’ उनले भने।

मायाको चिनोका रूपमा लौरो दिने अभियानले खोटाङको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। यस अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले समन्वय गरी अभियन्तालाई प्रोत्साहन गर्न सके ‘घँगरुको लौरो’ लोप हुने थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.