कालीगण्डकीको शिलाबाट अयोध्यामा भगवान रामको मूर्ति बनाइने

|

म्याग्दी : कालीगण्डकीबाट निकालिएका दुईवटा शिला बिहीबार (आज) रुद्राभिषेकसहित विशेष पूजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि पठाइएको छ। सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ।

शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीबाट हिजो (बुधबार) निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज (बिहीबार) मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी जनकपुर हुँदै अयोध्याका लागि पठाइएको हो।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला बुधबार (हिजो)  क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुरस्थित जानकी मन्दिरका पीठाधीश रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र र्‍यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो।

रामको मूर्ति बनाइने शिलाको दर्शन गर्न भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको भीड लागेको थियो।

गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन गरेर शिला जनकपुर मन्दिरका पीठाधीश रामतपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।

अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिका सचिव पंकजले बताए।

‘यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्‚’ उनले भने।

बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई जनकपुर पुर्‍याएर हस्तान्तरण गर्नेछ। जनकपुरबाट सरकारले भारतलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ।

यसरी बन्यो शिला अयोध्या लैजाने वातावरण

गत साउनमा भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अयोध्या राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरे।

भेटमा नेता निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए।

जानकी मन्दिरका तर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो। यसपछि नेपाल फर्किएका निधिले सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिएका थिए।

त्यसपछि पुस ३ गते बसेको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो।

यसको खोजी म्याग्दी र कालीगण्डककी नदीको दोभानबाट शुरु गरिएको थियो। प्राविधिक हिसाबले ठूलो पहिरोनजिकै उपयुक्त शिला फेला परेको हो। तत्कालीन समयमा शिलाको खोजीका लागि पहल गरेका निधिसहितको टोली नै शिला उत्खनन स्थलमा आएको थियो।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरअन्तर्गत उत्तर–दक्षिण जोड्ने बेनी–गलेश्वर सडकखण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नं ६ ठूलो पहिरोनजिकै कालीगण्डकी नदीको तीरमा १८ टनको क्वार्जराइट र १० टनको क्यालसाइट नामका शिला पहिचान गरिएपछि विधिपूर्वक उत्खननको तयारी गरियो।

कालीगण्डकी नदीमा कालो र सेतो शिला प्रशस्त पाइए पनि शिला निकाल्न सम्भव नभएपछि सहज स्थानमा प्राविधिक तथा धार्मिक टोली केन्द्रित भएको थियो। उत्खनन गर्दा हुनसक्ने क्षतिबारे समेत टोलीलाई सचेत बनाइएको र निकालिन लागेको शिलाले नदी आसपासमा कुनै क्षतिको सम्भावना नभएकाले एक्स्काभेटरले खन्ने र क्रेनले उत्खनन गर्ने सहमति भएको थियो।

कालीगण्डकी र शालिग्राम शिला

शालिग्रामलाई हिन्दुहरूले विष्णुको अवतारका रुपमा पुज्ने गर्छन्। कालीगण्डकीमा मात्र पाइने शालिग्राम नदी दोहनका कारण शिला पाउन मुस्किल भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

शालिग्राम पाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदी आसपासमा अवैध उत्खनन तीव्र छ। मुस्ताङको दामोदर कुण्ड आसपासका क्षेत्रबाट बग्ने कालीगण्डकी नदी पवित्र तीर्थस्थलको रुपमा पनि चिनिन्छ। कालीगण्डकीमा शालिग्राम शिला पाइने भएकाले पनि भक्तजनहरू खोजी गर्ने र दर्शनका लागि जाने गर्छन्।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वार मानिने म्याग्दीको गलेश्वर शिवालयमा पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ।

सत्ययुगमा सतीदेवीले अग्निकुण्डमा हाम्फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शंखचक्र, नागमणि आदि चक्राकार स्वरूपका चिह्न मानवनिर्मित नभई आफैँ उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.