|

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पदभार  ग्रहण  गरेका छन्।

बिहीवार जिम्मेवारीसहितको पत्र पाएपछि आज नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

यादवले पदभार ग्रहण गर्दै मधेशको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्नका लागि मधेशको गौरव आयोजनाको रूपमा मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताए।

यसका साथै पछिल्लो सरकारको समयमा भएका कामको समीक्षाका साथै बाँकी योजनाको विषयमा योजना बनाएर काम गर्ने समेत जानकारी गराए।

शुक्रबार नै जनमत पार्टीका मन्त्री वसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने  बताए।

किसान आन्दोलन जनमत पार्टीले गरेको स्मरण गर्दै उनीहरूको समस्या समाधान आफूहरूको प्राथमिकतामा रहेको मन्त्री कुशवाहाले बताए। यसका लागि मधेश प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुशवाहाले बताए।

यसअघि कुशवाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भए पनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो।

सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुशवाहालाई दिइएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.