|
फाइल तस्वीर

बारा : नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकको निर्माण शुरु गरेको छ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण शुरु भएको हो। निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेलमात्र आयात भइरहेको थियो। अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांक निर्माणका सबै तयारी पूरा गरी बनाउन शुरुवात गरिएको बताए।

उनले दोस्रो चरणको योजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले संयुक्त लगानी गर्ने गरी सम्झौता भएर काम अगाडि बढेको बताए। उनले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आइओसीले १/१ वटा ट्यांकको लागत बेहोर्ने जानकारी दिए।

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए।

उनले निगमले करिब ७५ करोड भारतीय रूपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए। उनका अनुसार निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पिएमसिसी कक्षको निर्माण गरिनेछ। उनले निगमको १ अर्ब ५४ करोड भारतीय रूपैयाँ बराबर खर्च हुने अनुमान गरिएको पनि बताए।

उनले भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्निकल खर्चमा निगमलाई मासिक १५ करोड रूपैयाँ बचत हुने बताए। उनले अहिले डिजेलमात्र पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक करिब २ अर्ब रूपैयाँ बचत भएको बताए।

उनले दोस्रो चरणको भर्टिकल ट्यांक निर्माण आगामी डिसेम्बरसम्म सकेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने बताए।

प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए। उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्ष निर्माण हुने बताए।

उनले भने, ‘मोतिहारी-अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन हो। यसबाट पेट्रोल, डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ। पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याब बनाउन सकिएको थिएन। त्यसैले पाइपलाइनबाट डिजेलमात्रै आयात गरियो। पाइपलाइनबाट डिजेल ३ वर्ष आयात गरियो। पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध भएन। २४ घण्टासमेत सञ्चालनमा आयो। पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्निकल लागतलाई शुन्यमा झार्‍यो। अहिले दोस्रो चरणमा पेट्रोलको एउटा ट्यांकी, ट्रान्समिक्स ट्यांक र अटोमेसन लोडिङ वेब निर्माण शुरु भएको छ। अहिले मेकानिकल र ठेकेदार कम्पनीले निर्माण शुरु गरिसकेको छ । सन् २०२३ को डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न हुन्छ । सन् २०२४ को जनवरी देखि पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउनेछौं। डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको ढुवानी भाडा र टेक्निकल लस गरेर निगमको मासिक १५ करोड रूपैयाँ बचत हुन्छ। अहिले १९ हजार ८ सय किलो लिटर डिजल रहेको छ । ३४ सय किलोलिटर पेट्रोलको रहेको छ भने सबै निर्माण सम्पन्न भएपछि ४१ हजार ८ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ।’

उनले आयोजना निर्माण भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने दावी गरे। उनले अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने बताए।

उनले यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण घटाउनसमेत सहयोग पुग्ने दावी गरे। उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रूपैयाँ बचत हुने अनुमान रहेको बताए।

उनले तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा ७ सय ट्यांकर आवातजावत हुने बताए। उनले दोस्रो चरणको निर्माण सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम स्वचालित तवरबाट हुने बताउ। उँले पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्यसम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने बताउनु भयो । 
उनले भने, ‘मेनुअल रुपमा ट्यांकरमा पेट्रोल, डिजेल भर्दा तेल पोखिने र तेल पोखिँदा आगलागीजस्ता समस्या हुनसक्ने भएकाले अटोमेटिक मेसिनमार्फत ट्यांकरहरुमा तेल भर्दा बढी वा घटी नहुने हुन्छ। तेल भर्दा समयको पनि व्यवस्थापन हुने हुन्छ। सुरक्षाको हिसाबले अटोमेटिक ल्याबको आवश्यकता हुन्छ। अमलेखगञ्ज डिपोमा पेट्रोलसमेत पाइपलाइनबाट आएपश्चात ७ सय ट्यांकर आवतजावत हुन्छन्। निगमले ३ वर्षसम्म पाइपलाइन बनाएर पनि पूर्ण रुपमा प्रयोग गर्न सकेनौं। अहिले पनि ४२ प्रतिशत मात्रै प्रयोग भएको छ। डिजेट,पेट्रोल दुवै पाइपलाइनबाट ल्याउँदा पाइपलाइनको पूर्ण प्रयोग र ट्यांकरको आवतजावत बढ्नेछ। निगमले अब अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारको योजना छ। अर्को सिल्गुढीदेखि झापासम्म ३५ किलोमिटरको पाइपलाइन बिस्तारको योजना छ। अर्को भारतको मोतीहारीबाट सर्लाहीसम्म ग्यास पाइपलाइन बिस्तार गर्ने योजना छ।’

निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेलसमेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो। उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सक्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ।

यो आयोजना निर्माण भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ। ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार थप ५/५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी शुरु गरिएको छ। यो सकिएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.