|

काठमाडौं : विज्ञहरूले अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्ड पूर्ण पालना नगर्दा नेपालमा हवाई दुर्घटना बढेको औंल्याएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्ति अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन्।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल एयरलाईन्सका पूर्व इन्जिनियर डाईरेक्टर पहाडीले आइकाओले निर्दिष्ट गरेका मापदण्ड पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना न्यूनीकरण हुँदै जाने बताए।

उनले दक्ष जनशक्ति व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए। पहाडीले भने, ‘जुन आइकाओले‚ युरोपियन युनियनले निर्दिष्ट गरेका गाइडलाइन्सहरु छन्‚ त्यसको हामीले अक्षरशः पालना गरियो कि गरिएन? सम्बन्धित निकायले दिएको निर्देशनअनुसार भयो कि भएन? त्यो इम्पोर्टेन्ट हो। त्यसको अनुगमन कडाईका साथ हुनुपर्छ। दक्ष म्यानपावर हायर गरेर काम गर्नु पर्‍यो। यसो गर्न सकियो भने भविष्यमा नेपालमा हवाई दुर्घटना कम हुँदै जान्छ। बाहिरबाट भए पनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमले हवाई सेवा सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारमा पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

पूर्व महानिर्देशक गौतमले भने, ‘सकेसम्म हामीले नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्न कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुरामा तुरुन्तै ध्यान दिनु पर्छ। जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापेबल होस्। जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो।’

हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याए। उनले हवाई दुर्घटनाका रिपोर्टहरुले दिएको सुझावको आधारमा अघि बढ्दा पनि नेपालमा हवाई दुर्घटना न्यूनीकरण गर्दै लैजान सकिने स्पष्ट पारे।

देउजाले भने, ‘हवाई दुर्घटनाका रिपोर्टहरुले दिएका सुझाव ध्यान दिएर लागू गर्नुपर्छ। यी संस्थाहरुलाई व्यावसायिक ढंगले संचालन गर्नुपर्छ। यहाँ राजनीतिक तथा प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढंगले अघि बढाउन सक्नुपर्छ। यसो भयो भने नेपालको हवाई उडान सुरक्षित हुन्छ।’

पूर्व महानिर्देशक देउजाले नेपालको हवाई सेवा सुरक्षित रहेको र यसलाई अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकाय बढी जिम्मेवार हुनुपर्ने सुझाव पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.