|

सल्यान : दुई दिन परेको वर्षाले हिउँदे बालीनाली सप्रिने भएपछि सल्यानका किसान हर्षित भएका छन्। बारीमा लगाएको अन्नबाली र तरकारी बालीलाई सिँचाइ भएपछि किसान खुशी भएका छन्।

चार महिनासम्म वर्षा नहुँदा सिँचाइ नहुने पाखोबारीमा लगाएका अन्नबाली तथा तरकारी सुक्दै जान थालेपछि किसान चिन्तित बनेका थिए।

आकाशे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे वर्षाले थोरै भए पनि फाइदा पुगेको छत्रेश्वरी गाउँपालिका–१ पलाटेका हीरालाल खत्रीले जानकारी दिए। असोजपछि पानी परेको थिएन। पानी नपर्दा पाखोबारीमा लगाएका अन्नबाली सबै सुक्न थालेका थिए।

‘जति पर्नुपर्ने हो, त्यति नपरे पनि थोरै राहत भएको छ’, उनले भने। समयमा पानी नपर्दा गहुँ, तोरी, तथा बेमौसमी तरकारी लगायतका बाली सुकेर चिन्तित भएका वेला पानीले धेरै राहत गरेको अर्का किसान नरबहादुर कुँवर योगीले बताए। उनले भने, ‘पाखोबारी भएकाले सबै अन्नपात सुक्दै जान थालेका थिए। फलफूलका बिरुवादेखि तरकारी समेत पानी नपर्दा सुक्दै गएका थिए।’

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा करिब १४ हजार २ सय हेक्टर क्षेत्रफलमा गहुँँखेती हुँदै आएको छ। जिल्लामा ४५ हजार ५६७ हेक्टर खेतीयोग्य जमिन मध्य ३८ हजार ९२६ हेक्टरमा मात्र खेती हुँदै आएको छ।

७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८६७ हेक्टर पाखोबारी रहेको सल्यानमा करिब १० हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.