|

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका टेकराज चौधरीको घरमा चोरी गर्ने चोरको तस्वीर सिसिटिभी क्यामेरामा कैद भएपछि चोरी भएको नगद रकम र गहना फिर्ता पाउन सफल भएका छन्।

गत मंगलवार धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा माघी मिलन कार्यक्रमको आयोजना भइरहेका बेला चौधरीको घरभित्र पसेर चोरले नगद रकम एक लाख सात सय, चाँदीका पाईजम,जन्तर, औंठी, मंगलसुत्र लगायतका सामान चोरी गरेर लगे।

 घरभित्र राखेको नगद रकम र गहना चोरी भएपछि चौधरीले चोर पत्ता लगाउन सकेनन्। ‘चोरको खोजीका लागि प्रहरीदेखि वडा कार्यालयसम्म गुहार लगाए’, चौधरीले भने,‘चोरको अतोपत्तो लाग्न सकेन, निकै मिहिनेत गरी कमाएको रकम चोरी भएपछि निकै निराश थियौँ।’ चौधरीले सुनको माइली तिलहरी बुहारीलाई लगाउन दिएकाले त्यो मात्रै गहना जोगिएको थियो।

गाउँ नजिकैको बैजनाथ सामुदायिक वनभित्र जंगली हात्ती निगरानी र जीवजन्तुको चोरी सिकारी रोक्नका लागि ठाउँ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएका थिए। चोरको पत्तो लाग्न नसकेपछि बिहीबार सिसिटिभी क्यामेरामा कैद भएका तस्वीर हेर्ने निधो भयो।

वडा अध्यक्षबहादुर सिंह महराले सामुदायिक वनको सिसिटिभी क्यामेरा नियाल्दा  छिमेकी गाउँको १४ वर्षीय बालक दुईवटा रुपैँयाको गड्डी खल्तीबाट झिकेर एक हजारको नोट झिक्दै गरेको अवस्थामा फेला परे।

बालकले जाँदा र आउँदा एकै बाटो प्रयोग गरेको देखियो। ‘सिसिटिभी क्यामेरा जडान भएकै रुखमुनि बसेर रुपैंया झिक्दै गरेको बालकको पहिचान गर्‍यौँ’, वडा अध्यक्ष महराले भने, ‘चोरी भएको गाउँ नजिकैको पारिफाँटा गाउँको बालक चोरीमा संलग्न रहेछन्, बालकलाई केरकार गर्दा एक लाखबाट तीन हजार जती रकम चाउमिन खान, ओहरदोहर गर्नका लागि खर्च गरिएको भेटियो, अरू रकम सकुशल भेटियो, गहना केही फेला पर्‍यो, चोरी गरेपछि भाग्दै गरेका बेला हराएको रहेछ।’

चोरी गर्ने कार्यमा संलग्न बालकका आमा बुवा रोजगारीका लागि गत वर्ष भारतको बेंगलोरमा रहेका छन्। बालक मामा माइजुसँगै बस्दै आएका छन्। चोरी गरेर ल्याएको नगद रकम र गहना मामाकै घर भित्र लुकाएको अबस्थामा बरामद गरी मामालाई रोहवरमा राखेर चौधरी परिवारलाई बुझाइएको वडा अध्यक्ष महराले बताए।

‘चोरी गरेको रकममध्येको खर्च गरेको रकम र हराएको गहना चोरी गर्ने बालकका मामाले ब्यहोरेका छन्’, उनले भने, ‘चोरी गर्ने कार्यमा संलग्न नाबालक भएकाले कानुनी कारवाही गर्न सकिएन, सुधार गृह यहाँ छैन, त्यसैले बालकलाई आइन्दा यस्तो कार्य नगर्नका लागि सम्झाई बुझाई गरेका छौं।’

‘भान्जाले चोरी गरेको बारे जानकारीनै थिएन’, मामा जीवन ठगुन्नाले भने, ‘वडा अध्यक्षले चोरी गरेको रकमसहितको तस्वीर देखाएपछि मात्रै थाहा पायौं, सोधीखोजी गर्दा चोरी गरेर ल्याएको रकम र गहना घर भित्रै लुकाएका रहेछन्, भान्जालाई दिदी भिनाजुले आफ्नै जिम्मामा छोडेकाले खर्चेको रकम र हराएको गहना व्यहोरेका छौं।’ भान्जाको बानी सुधार नहुँदा निकै तनावमा रहेको उनले बताए।

गाउँका बासिन्दा माघी कार्यक्रममा सहभागी भएका बेला र चौधरी परिवार काम विशेषले नजिकैको झलारी बजार गएका बेला नाबालक चोरले घरको ताला तोडेर भित्र पसि दराज बाकस र पलंगको घर्रामा पुरानो मोटरसाइकलको चावीले ताला खोलेर चोरी गरेका थिए।

‘सानै उमेरको बालकले पेसेवर चोरझै घर भित्र पसेर चोरी गरेको देख्दा निकै अचम्म परेका छौँ’, स्थानीय टेक बहादुर साउदले भने, ‘बालकले यस अघि आफ्नै घरमा चोरी गरेका रहेछन्, अभिभावकले असल मार्गमा बालकलाई डोर्‍याउन नसक्दा चोरी लगायतका कार्यमा संलग्न हुने भएकाले, अभिभावकले बालबालिकाको आनीबानी सुधार गर्नका लागि ध्यान दिनु जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.