|

काठमाडौं : काठमाडौं महानगरपालिकाका राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभागमा राजस्व, सेवा शुल्क तथा दस्तुर तिर्दा बैङ्क भौचर भर्नु नपर्ने भएको छ। हातले भौचर भर्दा सेवाग्राहीले धेरै दु:ख पाएकाले सप्टवेयर प्रणाली लागू गरेको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए।

राजस्व विभागका अधिकारीका अनुसार यस प्रणालीको सबैभन्दा पहिला सेवाग्राही विभागको अकाउन्ट डेक्समा गएर विवरण दिनुपर्छ।  यो विवरण सफ्टवेयरमा भरेपछि एउटा कोड सिर्जना हुन्छ। यसलाई प्रिन्ट गर्दा कोड, सेवाग्राही नाम र तिर्नुपर्ने रकमको स्लिप आउँछ। यो स्लिप लिएर एनआइसी एसिया बैङ्कको काउन्टरमा लगेर दिनुपर्छ। 

बैङ्कका कर्मचारीले यो कोड सफ्टवेयरमा प्रविष्ट गराउँछन्। यसबाट उनीहरूलाई महानगरका कर्मचारीले भरेको विवरण प्राप्त हुन्छ। यही विवरणबाट भौचर तयार हुन्छ। यस भौचरमा सेवाग्राहीको फोन नम्बर र हस्ताक्षरबाहेक अरू कुनै पनि विवरण भर्नु पर्दैन। 

‘हातले भौचर भर्दा नाम गलत हुने, खाता नम्बर फरक पर्न सक्ने हुने गर्थ्यो,यो त्रुटी सच्याउन फेरि अर्को प्रक्रियामा समय खर्च गर्नुपर्थ्यो,अब यस्तो खालको समस्या हुँदैन,’ राजस्व विभागका प्रमुख अधिकारीले भने,‘आँखा कमजोर भएर फारम भर्न नसक्ने, लेखपढ गर्न नसक्ने सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो थियो, अब उहाँहरूले मौखिक विवरण दिए पुग्छ, सबै काम कर्मचारी र सफ्टवेयरबाट हुन्छ।’ उनका अनुसार यो सेवा कार्यालयमै सेवा लिन आउने सेवाग्राहीका लागि हो। अनलाइन प्रणालीबाट भुक्तानी गर्नेले आफ्नै मोवाइलबाट सेवा लिन सकिने छ।

महानगरको सफ्टवेयर र साझेदार वैङ्क एनआइसी एशियाको सफ्टवेयर एकीकृत गरेर वडा नम्बर छ बाट सेवा एकीकृत परीक्षण भइरहेको उनले जानकारी दिए। उनका अनुसार माघ १० गतेदेखि सुरू गरिएको भुक्तानी प्रणालीमा १३ गतेसम्ममा ५० जनाले सेवा लिइसकेका छन्। यसबाट प्राप्त नतिजाका आधारमा सेवा विस्तार गर्दै लगिने योजना रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.