|

पर्वत : गण्डकी चेम्बर अफ कमर्सले गण्डकी प्रदेशमा ‘आइडिया बैंक’ स्थापना गर्ने भएको छ। आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ अवधारणासहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बरगण्डकीका अध्यक्ष किसान सुनारले बताए। 

‘गण्डकी प्रदेशभित्र स्थापना भएका उद्योगी, व्यवसायीलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवर्द्धन गर्ने प्रमुख लक्ष्य हो’, उनले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पुँजी लिएर आएका उद्यमीलाई विशेष सहयोग पुग्छ।’ 

देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए। पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको अवस्थामा तीनै तहका सरकारसँग समन्वय गर्दै दातृ निकायसँग पनि साझेदारी गरेर बिउ पुँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सृजना गर्ने गरी काम गर्ने उनको भनाइ छ।

बैठकले गण्डकी प्रदेशमा ‘फ्री हटलाइन नम्बर’ ‘हेल्लो चेम्बर हेल्प डेस्क’ स्थापना गर्ने पनि निर्णय गरेको छ। गण्डकी प्रदेशभित्र रहेका उद्योगी, व्यवसायीको हक हित, समस्या पहिचान र निराकरण गर्न, व्यवसाय प्रवर्धन गर्न, सरकार र निजी क्षेत्रबिच पुलको काम गरी सरकारलाई  व्यवसायीमैत्री नीति निर्माण गर्न, लगानीमैत्री वातावरण तयार गर्न, नीतिगत सुझाव दिन लगायतका कामका लागि ‘हेल्प डेस्क’ स्थापना गर्ने निर्णय गरेको हो। 

यस्तै चेम्बर गण्डकीले ‘एक पालिका एक उत्पादन’ र उत्पादित वस्तुको बजारीकरण गर्ने निर्णय समेत गरेको छ। सिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेसामा सिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्किएका युवालाई कृषि तालिम दिएर कृषिमा आबद्धता गर्ने निर्णय समेत गरेको छ।

‘चेम्बर अफ कमर्स’ गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णय समेत भएको अध्यक्ष सुनारले जानकारी दिए। बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत संघ दर्ता सम्बन्धमा लगायतका विषयमा छलफल भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.