|

काठमाडौं : सन् २०२३ को पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधिका लागि आज सर्वियाका नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस चिचिपासबीच प्रतिस्पर्धा हुँदैछ। मेलवर्न पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ। 

३५ वर्षीय जोकोभिचले पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनल पुगेका २४ वर्षीय चिचिपासको सामना गर्न लागेका हुन्। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका जोकोभिचले फाइनल पुग्दासम्म एक सेट मात्र गुमाएका छन्। 

पूर्व नम्बर एक जोकोभिचलाई मेलवर्नमा सन् २०१८ यता कसैले पराजित गर्न सकेको छैन। जोकोभिच करियरको ३३ औँ ग्रान्डस्लाम फाइनल खेल्दैछन् भने चिचिपासको यो केवल दोस्रो पटक हो।

मेलवर्नमा यसअघि नौ पटक फाइनल खेल्दा उनले नौ पटक नै उपाधि जितेका थिए। यदि आज चिचिपासलाई पराजित गरे जोकोभिचले सर्वाधिक दश पटक अस्ट्रेलियन ओपन जित्ने कीर्तिमान बनाउने छन्।

यस्तै ओपन एरामा पुरुष एकलतर्फ सर्वाधिक २२ औँ ग्रान्डस्लाम विजेता स्पेनिस रफायल नाडालको कीर्तिमान पनि बराबरी हुनेछ।  यता तेस्रो वरियताका चिचिपास भने चौथो वरियताका जोकोभिचलाई स्तब्ध पार्दै पहिलो ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन्।

यसअघि सन् २०२१ को फ्रेन्च ओपन फाइनलमा चिचिपासले जोकोभिचसँग पाँच सेटको हार व्यहोरेका थिए। अहिलेसम्म यी दुई बीच १२ पटक भेट भएको छ । जसमा दश खेलमा जोकोभिच र दुईमा चिचिपास विजयी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.