|

पर्सा : प्याब्सनको सातौँ क्रिकेट नक आउट टी–२० प्रतियोगिताको उपाधि साउथ जोन माविले उचालेको छ। साउथ जोन १८ रनले मनकामना माविलाई पराजित गरेको हो। 

छैटौँ संस्करणको विजेता मनकामना माविसँग बदला लिँदै २०७९ को सातौं प्याब्सन टी–२० प्रतियोगिताको उपाधि साउथ जोनले उचालेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको साउथ जोनले ९ विकेटको क्षतिमा १४२ रन बनाउन सफल भयो। सुरुमा कमजोर प्रदर्शन गरेको साउथ जोन मध्यान्तर तिर सचिन उपाध्यायको ४ छक्का र ७ चौकासहित ६७ रनको मद्दतमा सम्हालिन पुग्यो। जसको कारण पूरै ओभर खेल्दै १४२ रनको योगफल साउथ जोनको पोल्टामा पर्‍यो।

खेलको ‘म्यान अफ दि म्याच’ पनि उपाध्याय नै घोषित भए। साउथ जोनका कप्तान चन्दन रामले पनि ३० रनको सहकार्य गरे। उनी खेलको ‘म्यान अफ द सिरिज’ बने। प्रतियोगिता अवधिभर खेलमा उच्च प्रदर्शन गरेका मिनील्याण्ड माविका सोनु पटेल बेस्ट ब्याट्स म्यान र बेष्ट बलर मिनील्याण्डकै नितेश पासवान घोषणा भए। उनीहरुलाई पदक र ट्रफी प्रदान गरियो। मनकामना १८.३ ओभरमा अल आउट हुँदा यो पटक साउथ जोन चम्कियो।

खेलमा मनकामनाका प्रेम सागरले ३४ र राहुल ठाकुरले २६ रनको योगदान गरे। तथापि टिमको जीतका लागि उनीहरूको यो योगफल निर्णायक बन्न सकेन। 
२५ विद्यालय सहभागी प्रतियोगिताका विजेता र उप–विजेता टिमलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की र प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। 

प्रतियोगितामा ३ दशकभन्दा बढी समयदेखि क्रिकेट क्षेत्रमा योगदान गरी जिल्ला, प्रदेश र केन्द्रमा समेत कोचको भूमिका निभाएका पूर्व खेलाडी उमेश उपाध्याय र पत्रकारलाई समेत सम्मान गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.