पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनकल्याण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुवास रेग्मी उत्साहित थिए।
विद्यालयमा अध्ययन गर्न थालेको यतिका वर्ष हुँदा पनि उनले स्वास्थ्यकर्मीबाट विषय अध्यापन गरेको अनुभव लिन पाएका थिएनन्।
तर, गत सोमबार नाग्लीवाङ स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद चापागाईँले कक्षा सञ्चालन गर्दै उपयुक्त उपयुक्त समयमा विवाह, जन्मान्तर, गर्भपतनको कानुनी व्यवस्था, यसका फाइदा र बेफाइदा, मातृ मृत्युदर घटाउने उपाय लगायतको बारेमा सिकाए।
स्वास्थ्यकर्मीले नै कक्षामा बसेर अध्यापन गराउँदा सुवास जस्तै अरू विद्यार्थीहरू पनि हौसिएका देखिन्थे।
जलजला गाउँपालिकाले ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरेपछि चापागाईँ जस्तै गाउँपालिकाभरका स्वास्थ्यकर्मीहरू पनि अब पालोअनुसार विद्यालयमा गएर कक्षा लिने छन्।
‘स्वास्थ्य नै धन’ भएकाले गाउँपालिकाले हरेक नागरिकलाई स्वस्थ राख्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई नै विद्यालयमा समेत परिचालन गरेर कक्षा शिक्षण गराउन सुरु गरेको हो। विषय शिक्षकसँग स्वास्थ्यका विषयमा ज्ञान भए पनि स्वास्थ्यकर्मी नै कक्षामा छिर्दा विद्यार्थीहरूले स्वास्थ्यमा आइपरेका समस्याहरू बताउने, प्राविधिक जिज्ञासा मेटाउन पाउने र विद्यालयमा स्वास्थ्य परीक्षण पनि हुने भएकाले यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्य बताउँछन्।
‘गाउँपालिकाको स्वास्थ्य समितिको निर्णय अनुसार यो कार्यक्रम सुरु भएको हो। गाउँपालिकाभित्रका ४४ वटै सामुदायिक विद्यालयमा महिनाको एक पटक पालिकाभित्रका स्वास्थ्यकर्मीहरूबाट कक्षा लिइन्छ’, उनले भने, ‘विद्यार्थीलाई अध्यापन गर्नेदेखि उनीहरूका स्वास्थ्य सम्बन्धी जिज्ञासा मेटाउने, शिक्षकसँग भन्न नसकेका कुराहरू उनीहरूसँग खुलाउने, विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने काम स्वास्थ्यकर्मीबाट हुनेछ।’
विद्यार्थीको उमेर अनुसार पाठ्यक्रम नै तयार गरेर गाउँपालिकाभरि एकै प्रकारको स्वास्थ्य शिक्षा दिने योजनामा आफूहरू रहेकोले यसका विज्ञहरूबाट सुझावसमेत माग गरिएको आचार्यले बताएका छन्।
जनकल्याण माध्यमिक विद्यालयमा कक्षा लिँदा विद्यार्थीहरू उत्साहित भएको र आफू नचिनेको व्यक्ति भएकाले विद्यार्थीहरूले लाज नमानीकन स्वास्थ्यसम्बन्धी जिज्ञासाहरू राखेको स्वास्थ्य चौकीका प्रमुख चापागाईँको भनाइ छ।
विद्यार्थीको उमेरअनुसार शिक्षण गर्ने गरी तयारी गरिएकाले गाउँपालिकाको यो कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष रूपमा र अभिभावकलाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने उनी बताउँछन्।
‘विद्यार्थीहरू उत्साहित देखिनुभयो। किताबभित्रका कुराहरू पनि सोध्नुभयो। आफ्नो व्यक्तिगत स्वास्थ्यका बारेमा पनि उहाँहरूले जिज्ञासा राख्नुभयो। बिरामी हुँदा मात्रै स्वास्थ्य परीक्षण गर्ने बानी हटाएर नियमित स्वास्थ्य परीक्षणका लागि पनि यसले प्रेरणा दिन्छ’, चापागाईँ भन्छन्, ‘हरेक महिनामा शिक्षणको शीर्षक फोरिएको हुन्छ। फेरि प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा उमेर अनुसारको ज्ञान दिने गरी तयार पारेका छौँ।’
उनका अनुसार कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ अन्तर्गत नङ काट्ने, हात धुने तरिका, शौचालयको प्रयोग, दैनिक स्वास्थ्य क्रियाकलापको बारेमा सिकाइनेछ।
कक्षा ६ देखि आठसम्मका विद्यार्थीहरूलाई किशोरावस्थामा आउने शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तन, महिनावारीसम्बन्धी धारणा र त्यो बेलामा गर्नुपर्ने सरसफाइका क्रियाकलाप, छात्राहरूलाई ‘सेफ्टी प्याड’ को प्रयोग र त्यसको विसर्जन लगायतका विषयमा अध्यापन गरिने छ। कक्षा नौ देखि १२ सम्मका विद्यार्थीहरूलाई विवाह गर्ने उपयुक्त उमेर, गर्भाधान, जन्मान्तर, मानवीय स्वास्थ्य, यौन शिक्षा, बहु विवाह र यौन हिंसाका सम्बन्धमा प्रचलित कानुन लगायतका बारेमा जानकारी दिइनेछ।
यो कार्यक्रम सफल पार्नको लागि स्वास्थ्य समितिले विभिन्न चारवटा क्षेत्रहरू निर्धारण गरेको छ। जसमा व्यक्तिगत सरसफाइ, विद्यालय स्वस्थ वातावरण, विद्यार्थी पोषण तथा नियमित स्वास्थ्य परीक्षण र विद्यालय स्वास्थ्य शिक्षा तथा समुदाय सहभागितात्मक गतिविधि सञ्चालन रहेका छन्।
व्यक्तिगत सरसफाइको बारेमा कक्षा शिक्षणको क्रममा जानकारी गराइने छ। विद्यालय स्वस्थ वातावरणमा विद्यालयको वातावरणलाई स्वस्थ राख्न विद्यालय प्रशासन र विद्यार्थीले गर्न सक्ने कामहरूलाई कार्यान्वयन गर्ने गाउँपालिकाको योजना छ।
विद्यार्थी पोषण तथा नियमित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई पोषणको मात्रा पूरा गराउन विद्यार्थी स्वयंलाई पोषणसम्बन्धी ज्ञान दिने तथा अभिभावकहरूलाई पनि सचेत बनाइने कार्य योजना छ।
विद्यालय स्वास्थ्य शिक्षा तथा समुदाय सहभागितात्मक गतिविधि सञ्चालनअन्तर्गत रहेर अहिले जस्तै कक्षा शिक्षणका कामहरू हुने छन्। यही शीर्षकमा रहेर विद्यार्थीहरूले परिवारका सदस्यहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर विद्यालयमा आएपछि त्यसको अध्ययन स्वास्थ्यकर्मीले गर्नेछन्।
‘रिपोर्ट’ हेरेर स्वास्थ्यकर्मीहरूले ती सदस्यहरूको स्वास्थ्यमा सुधार ल्याउनको लागि विद्यार्थीहरूले निभाउनुपर्ने भूमिकाको बारेमा जानकारी गराउने छन्। परिवारका सदस्यलाई स्वस्थ बनाउन उनीहरूको औषधि सेवन र स्वास्थ्यसम्बन्धी दैनिक क्रियाकलापमा ध्यान दिन सिकाउने विषय यो शीर्षकमा समावेश गरिएको छ।
गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमको प्रभाव सुरुमा नै निकै राम्रो देखिएको जनकल्याण माविका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले बताए। शिक्षकले कक्षाकोठामा हरेक दिन त्यही कुरा भन्दै आएको भए पनि विद्यार्थीहरूले त्यति चासो दिँदैनन्। तर, शिक्षकले हरेक दिन भनिरहेको कुरालाई स्वास्थ्यकर्मीले बताउँदा विद्यार्थीहरूले कार्यान्वयन गर्ने उनको भनाइ छ।
‘हामीले हरेक दिन त्यही भनेका हुन्छौँ, तर विद्यार्थीको चासो कम पाइन्छ। सुरुमा नै हाम्रो विद्यालयमा आएर शिक्षण गर्नुभयो। विद्यार्थी, हामी र अभिभावकले नयाँ स्वाद पाएका छौँ’, रेग्मी भन्छन्, ‘हामीले बोल्दा होइन होला भन्ठान्ने विद्यार्थीहरूले स्वास्थ्यकर्मीले भनेको कुरामा चाहिँ विश्वास गर्छन्। स्वास्थ्यकर्मीले नै बोलेपछि त हो है मानसिकता हामी सबैमा छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।