|

काठमाडौं : ललितपुर महानगरपालिकाको स्वीकृतिबिनै महानगरपालिका भित्रका निजी तथा सरकारी विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि ‘सेन्ट अप टेष्ट’ सञ्चालन गर्न लागेको पाइएको छ। शुल्क नै उठाएर टेष्ट सञ्चालन गर्न लागेपछि यसको विरोध हुन थालेको छ।

सरकारले २०६८ सालमै शिक्षा नियमावलीलाई संशोधन गरेर विद्यार्थीलाई कक्षा १० मा परीक्षा लिने वा परीक्षामा अनुत्तीर्ण गराएर एसएलसीमा सहभागी हुनबाट वञ्चित गर्न नपाइने व्यवस्था गरेको थियो।

शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः २०७१ सालमै योग्यता परीक्षणको नाममा शुल्क उठाएर सेन्टअप परीक्षा लिने गरेको उजुरी नै परेपछि यो टेष्ट परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको थियो।

मन्त्रालयले यो परीक्षा सञ्चालन गर्नु गैरकानुनी भनेको छ। निर्देशनअनुसार सामुदायिक र निजी विद्यालयमा कक्षा १० मा ७५ प्रतिशत हाजिर भएका विद्यार्थीलाई एसएलसीमा सहभागी हुनबाट रोक्न पाइने छैन। तर महानगरपालिकाभित्रका विद्यालयहरूले टेष्ट लिने तालिका सार्वजनिक गरिसकेका छन्।

जावलाखेलस्थित महेन्द्र भृकुटी सेकेन्डरी स्कुलका एक कर्मचारीले यही माघ १९ गतेदेखि सेन्टअप परीक्षा सञ्चालन गर्ने जानकारी दिए। शुल्कलगायत थप बुझ्न खोज्दा उनी ‘थाहा नभएको’ भन्दै पन्छिए।

कुपन्डोलस्थित मदन स्मारक स्कुलका एक कर्मचारीले अभ्यासका लागि टेष्ट परीक्षा लिन लागिएको जानकारी दिइन्। यो वर्षको एसइई परीक्षा आगामी चैत १७ गते शुरु हुने भएको छ।

विद्यालयहरूले जेहेन्दार थोरै विद्यार्थी सहभागी गराएर एसइईमा राम्रो प्रतिशत ल्याएको देखाउन कमजोर विद्यार्थीलाई परीक्षामा सहभागी हुनबाट रोक्ने उद्देश्यले यो टेष्ट परीक्षा लिने गर्छन्। यो परीक्षा नै लिएर वर्षेनी विद्यार्थीहरूलाई एसइई परीक्षामा सहभागी हुन नदिइएको घटना हुँदै आएको छ। 

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले शुल्क उठाएर टेष्ट परीक्षा सञ्चालन गर्न नपाइने तर स्थानीय तहको समन्वयमा अभ्यास परीक्षा लिन सक्ने बताए। तर ललितपुर महानगरपालिकाले यो टेष्ट परीक्षाका लागि महानगरपालिकामा केही जानकारी नआएको जनाएको छ।  

अवैधानिक काम सम्बन्धित निकायले रोक्नुपर्छ : अभिभावक महासंघ

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले यो अवैधानिक काम रोक्न माग गरे। ‘यस्तो अवैधानिक कार्य सम्बन्धित निकायले रोकोस्,’ उनले भने।
शिक्षा अभियन्ता एवं वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीले पनि यसको चर्को विरोध गरेका छन्।

उनका अनुसार महानगरपालिकाभित्रका २५ वटा सरकारी विद्यालयले यही १९ गतेदेखि एसइईको सेन्टअप परीक्षा सञ्चालन गर्ने भएका छन्। परीक्षाका लागि प्रति विद्यार्थी ६ सय रूपैयाँ उठाइएको छ।

‘विद्यार्थीबाट ७ लाख रूपैयाँ उठ्ने रहेछ, सेन्टअप परीक्षा सञ्चालन गर्नु नियमतः गैरकानुनी ठहर्छ। परीक्षा अभ्यासका नाममा आर्थिक कारोबार गर्न सेन्टअप परीक्षा सञ्चालन गर्ने छुट कसैलाई पनि छैन,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले ‘सरकारी स्रोतबाट सञ्चालित ललितपुरका यी सरकारी विद्यालयले सरकारको नीतिको ठाडो अवज्ञा गर्दै परीक्षा सञ्चालन गर्ने दुस्साहस गरेकोमा महानगरपालिकाका पदाधिकारी के हेरेर बसेका छन्?’ भन्दै प्रश्न गरेका छन्।

‘सरकारी निकायले कारबाही गर्ने हैसियत राख्न नसक्नु दुःखद् हो,’ उनले भने। निजी विद्यालयले भने अधिकतम प्रति विद्यार्थी २ हजार रूपैयाँसम्म लिएको पाइएको छ।

महानगरपालिका भन्छ : हामी बुझ्छौं

ललितपुर ​महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले यसरी शुल्क उठाएर टेष्ट परीक्षा लिन नपाइने भन्दै यस विषयमा तुरून्तै बुझ्ने बताए। ‘यो टेष्ट परीक्षाबारे यहाँ केही जानकारी आएको छैन। त्यस्तो सञ्चालन गर्ने भए त यहाँ जानकारी गराउनुपर्ने हो, यसबारे म तुरून्तै बुझ्छु,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.