|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकासका कर्मचारीलाई लुम्बिनीलाई मागी खाने भाँडो नबनाउन र यस्तो पवित्र स्थलमा बसेर अपवित्र काम नगर्न चेतावनी दिएका छन्।

लुम्बिनी विकास कोषले आइतबार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीको स्वागत कार्यक्रममा मन्त्री किराँतीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषलाई यस्तो चेतावनी दिएका हुन्।

उनले गौतम बुद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्बीको नाभी तथा ढुकढुकी भएको बताए। उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए।

‘लुम्बिनीलाई विकास गर्ने नाममा मागी खाने भाँडो बनाउनु भएन। विश्वमा सबैभन्दा बढी बौद्धधर्मसँग सम्बन्धित धर्मावलम्बी रहेका छन्। गौतम बुद्ध बौद्ध धर्मावलम्बीको नाभी हो‚ ढुकढुकी हो। हाम्रोचाहीँ मागी खाने भाँडो हो त? कर्मचारीले पवित्र थलोमा बसेर अपवित्र कर्म गर्नु हुँदैन। हामीले गौरवका साथ विकासमा गौतम बुद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने लुम्बिनीमा नै अपवित्र काम गर्ने? त्यसकारण कर्मचारीहरू गम्भीर हुनुहोला।’

उनले लुम्बिनीजस्तो पवित्र स्थलको काम इमान्दारीपूर्वक गर्न आग्रह गरे। उनले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसार काम चाहिने बताए। उनले नेपालको संविधान कानूनअनुसार संरचनाहरु निर्माण भएको भन्दै संरचनाहरुमा कर्मचारी भएर पनि काम किन नभएको भन्दै प्रश्न गरे।

उनले भने, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तुष्ट छैन। मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दै छु। विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ। लुम्बिनीमा गाई ल्याएर चराइन्छ रे‚ त्यहाँ गाईको गोबरमात्रै छ भन्छन्। गौतम बुद्ध भगवान होइनन् भगवान फोहोरमा बस्नुहुन्छ?’

उनले क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न पनि कोषका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डर अनुसार ७ दिन, १ महिना, ३ महिना, ६ महिना र १ वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन निर्देशन दिए।

‘लुम्बिनी विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन छैन? नेपालको संविधानअनुसार कानून छ, कानूनअनुसार संरचना निर्माण भएका छन्, संरचनामा कर्मचारीहरू छन् तर काम किन छैन? अब काम चाहियो। लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डरअनुसार कार्ययोजना चाहिन्छ। दायाँबायाँ केही छैन। ७ दिन, १ महिना, ३ महिना, ६ महिना र १ वर्षमा के गर्ने भन्ने क्यालेण्डरअनुसार कार्ययोजना चाहियो।’

उनले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने बताए। उनले कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीबाट क्यालेण्डरअनुसार कामको परिणाम ल्याउने बताए। मन्त्री किराँतीले कर्मचारीले जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोशिस नगर्न आग्रह गरे। उनले आफू देशको हितविपरीत कुनै पनि काममा सम्झौता नगर्ने दाबी गरे।

उनले भने, ‘हामी कोही कर्मचारी सरुवा गरेर रमिता देखाउने छैनौं तर काम चाहियो। कर्मचारी थर्काएर केही बुझ्न नपाई सरुवा गर्ने पुरानो प्रवृत्ति हो। तर क्यालेण्डरको आधारमा रिजल्ट ल्याउन सकिएन भने अन्य धेरैतिर बल नगर्नु होला। जस्केला वा झ्यालबाट छिर्ने कोशिस नगर्नुस्। मन्त्री भए पद गए जान्छ तर सम्झौता देशको हितविपरीत हुने क्रियाकलापसँग हुँदैन। सरकारले नीतिमा कहाँ सहयोग गर्नु पर्ने हो‚ भन्नुस्। हामी नीतिमा सहयोग गर्न तयार छौं।’ 

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गरे। उनले गुरुयोजनाभन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भए पनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताए।

उनले लुम्बिनी विकासको गुरुयोजना निर्माणमा ढिलाई भइरहेको पनि बताए। सचिव अधिकारीले बजेटको कमी,बजेट समयमा नै निकासा नहुने मात्रै नभइ कोषको काम प्राथमिकतामा भरपर्ने बताए। 

उनले लुम्बिनी क्षेत्रभित्रका विभिन्न जग्गाहरू अन्तरराष्ट्रिय धार्मिक संस्थाहरूलाई बाँडफाँट भएकाले समस्या भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.