|

काठमाडौं : शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा आइतबार पुष्पगुच्छा अर्पण गरिएको छ।

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन शहीद सप्ताह मूल समारोह समितिले काठमाडौंको विष्णुमती नदीको किनार शोभा भगवतीमा स्मृति सभा आयोजना गरेको थियो। सभामा स्मृति मन्तव्यसहित शहीदहरूको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। 

स्मृति सभामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गंगालाल श्रेष्ठ र दशरथ चन्दको राजनीतिक, सामाजिक तथा व्यक्तित्व सबै आयामका विषयमा चर्चा गरिन्।

‘चन्द मनको दयालु तर आँटिलो हुनुहुन्थ्यो, नेपाल प्रजा परिषदको नाम उहाँले नै प्रस्ताव गर्नुभएको थियो। चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित हुनुहुन्थ्यो,’ डंगोलले भनिन्, ‘उहाँले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, हजुरका अरू पनि छोरा छन्, एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस्, १८ वर्षको उमेरमा राष्ट्रप्रतिको यो भाव हाम्रा लागि पाठ हो।’

महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले शहीदहरूको त्यागलाई अहिलेको पुस्ताले व्यवहारमा उतार्न आवश्यक रहेको बताए। श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन्।

तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको  थियो। त्यही ठाउँमा चिकंमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका शालिक स्थापना गरेका थिए।

महानगरले २०७६ सालमा दुवै शहीदको पूर्ण कदका शालिक निर्माण गरेको हो। नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उनीहरूले स्वीकारेको मृत्युदण्डलाई चिर स्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले शदाहत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको जनाएको छ।  

यस वर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको शालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो। 

हुकुमी शासनविरूद्ध काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा विसं १९९७  साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो।

त्यसबखत एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो। ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो। 

बैतडीमा जन्मिएका दशरथ चन्दले भारतमा महात्मा गान्धीले शुरू गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए। रामेछापको भंगेरीमा जन्मिएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासनविरोधी आन्दोलनमा लागेका थिए। इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गरेका थिए।

महानगरपालिकाका अनुसार शहीद दिवसको अन्तिम दिन सोमबार बिहान ८ बजे शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ। ९ बजे शहीद स्मारक लैनचौरमा स्मृति सभा हुनेछ। सभामा प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.